काठमाडौं । अफगानिस्तानमा मंगलबार राति गएको ६.५ म्याग्निच्युडको भुइँचालोमा अहिलेसम्म कम्तिमा ११ जनाको मृत्यु भएको छ भने सय जनाभन्दा बढी घाइते भएका छन्। राति १० बजेर १७ मिनेट जाँदा आएको भुइँचालोको कम्पन पाकिस्तानदेखि भारतको राजधानी दिल्ली र उत्तर भारतका विभिन्न ठाउँमा महसुस गरिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।
अफगानिस्तानको राजधानी काबुलबाट ३०० किलोमिटर दुरीमा रहेको जुर्म भन्ने ठाउँलाई केन्द्रविन्दु बनाएर गएको भुइँचालोमा परेर अफगानिस्तानको उत्तरपूर्वी प्रान्त लाघमानमा कम्तिमा दुई जनाको मृत्युु र करिब ८ जना घाइते भएको व्यवस्थापन मन्त्रालयका प्रवक्ता शफिउल्लाह रहिमीले अमेरिकी समाचार संस्था सिएनएनलाई बताएका छन्।
त्यसैगरी पाकिस्तानको उत्तरी क्षेत्रमा दुई जना बालबालिकासहित कम्तिमा नौ जनाको मृत्यु भएको खैबर पख्तुनख्वा प्रान्तको आपतकालीन उद्धार सेवाका प्रवक्ता बिलाल फैजीले बेलायती समाचार संस्था गार्डियनलाई बताएका छन्। खैबुर पख्तुनख्वा प्रान्तमै भुइँचालोका कारण सय जनाभन्दा बढी घाइते भएको पनि उनले जानकारी दिए।
भुइँचालोको कम्पनका कारण आएका पहिरोले उत्तरी पाकिस्तानी सहर एबोटाबादमा सडकहरू अवरूद्ध भएका छन्।