काठमाडौं । इक्वेडरको दक्षिणी तटमा ६.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प जाँदा कम्तिमा १५ जनाको मृत्यु भएको छ । एक्वेडरका राष्ट्रपति कार्यलयका अनुसार पीडित मध्ये १२ जनाको तटीय राज्य एल ओरोमा र दुई जनाको हाईल्याण्ड राज्य अजुएमा मृत्यु भएको छ । यस्तै, इक्वेडरको सिमानामा रहेको टुम्बेस क्षेत्रमा आफ्नो घर भत्किँदा टाउकोमा चोट लागेर चार वर्षीया बालिकाको मृत्यु भएको पेरुका प्रधानमन्त्री अल्बर्टो ओटारोलाले जानकारी दिएका छन् । अधिकारीहरूले कम्तिमा १२६ जना घाइते भएको जानकारी दिएका छन् ।
बिबिसीका अनुसार शक्तिशाली भुकम्पको धक्का इक्वेडरका आधाभन्दा बढी प्रान्तमा महसुस गरिएको र देशका धेरै सहरका भवनमा पनि क्षति पुगेको थियो ।
भुकम्पमा फसेकाहरुलाई उद्धारकर्मीहरू उद्धार गरिरहेको उनीहरुलाई जतिसक्दो चाँडो बाहिर निकालिने इक्वेडरका राष्ट्रपति गुइलेर्मो लासोले बताएका छन् । घाइतेमध्ये केहीको अस्पतालमा उपचार भइरहेको राष्ट्रपति कार्यालयले जनाएको छ ।
इक्वेडरको आपतकालीन सेवाले यहाँका घरहरु भत्किँदा धेरै मानिसहरु भग्नावशेषमुनि पुरिएका र उनीहरुलाई उद्दार गर्ने काम तीव्र गतिमा भइरहेको बताएको छ ।
भूकम्पको केन्द्रबिन्दु इक्वेडरको दोस्रो ठूलो सहर ग्वायाकिलबाट करिब ८० किलोमिटर टाढा रहेको बालाओमा रहेको बताइएको छ । घना जनसंख्या भएको ग्वायाकिलको जनसंख्या करिब ३० लाख छ ।