केहिदिन अघि झारफुकको बहानामा एक माताले १४ वर्षीया बालिकालाई निर्मम यातना दिएको भिडियो भाइरल बन्यो । सामाजिक संजालमा भिडियो यत्रतत्र छरिएपछि कथित माता रुपन्देही जिल्ला सैनामैना– १० बेमतेनीकी २२ वर्षीया सोनिया रेश्मी पक्राउ परिन् । माताको कुटपिटबाट घाइँते भएकी बालिका सीता ज्ञवालीको भने उपचारको क्रममा मृत्यु भइसकेको थियो ।
बालिकाको बुबाआमाले गाउँलेको सल्लाह अनुसार घाँटी र कान दुखेपछि ज्वरो आएर स्थानीय सालझण्डीको एक स्थानीय क्लिनिकमा उपचार गराई घरमै बसेकी बालिकालाई झारफुक गर्न कथित माताकोमा लगेका थिए । गाउँकै केहीले सोनिया रेश्मीलाई माता आउने गरेको र उनले झारफुक गरी निको पारिदिने गरेको बताएको सुनेपछि बालिकाका परिवारका सदस्यले सीतालाई त्यहीँ लिएर गएका थिए । कथित माताले उपचार गर्ने बहानामा निर्मम यातना दिईन् । कथित माताले बालिकाको शरीरमाथि बसेर हातमा घण्टी बजाउँदै बालिकाको गालामा थप्पड हान्ने, रुद्राक्षको मालाले शरीरका विभिन्न भागमा हान्ने, टाउको र घाँटीमा खुट्टाले टेक्ने, जगले नाक र मुखमा पानी खन्याउने, कपाल समाई टाउको बटारी दिने, भुईंमा लडाउने, खरानी खुवाइदिने र लछारपछार गरी निर्मम यातना दिएको भिडियोमा देखिन्छ । उक्त भिडियो हेर्दा जो कसैको आङ सिरिङ्ग भएर आउँछ ।
यो त एउटा उदाहरण मात्रै हो । बिरामीको उपचार गर्ने बहानामा माताहरुले कुटपिट गरेका यस्ता किसिमका घटनाहरू कति छन् कति । रूपन्देही जिल्लाका प्रत्येक वडा, गाउँ तथा टोलहरूमा माताहरू छ्याप्छ्याप्ति पाईन्छन् । भोलेबाबा, दुर्गा माता, महाकाली जस्ता देवीदेवताको चेला हुँ भन्दै झारफुक गर्न थालेपछि उपचार गराउने मान्छेहरूको ओइरो लाग्न थालिहान्छ ।
माताको विस्वास गर्दा झन्डै छोरी गुमाउनु परेको अनुभव मसँग पनि छ । केही बर्ष अघि मेरी ४ महिनाकी छोरीलाई निमोनिया भएर अस्पताल भर्ना गर्नुपर्याे । ५ दिन अस्पताल राखेर घर ल्याउने बित्तिकै झाडापखालाले बेस्सरी च्याप्यो । घरपरिवारले माताकहाँ लिएर गए । ‘बोक्सीले दुःख दिएको हो डाक्टरले दिएको औसधि खान नदिनु, फुकेर दिएको खरानी मात्रै खुवाउनु’ भनेपछि परिवारले त्यसै गर्नुभयो । मैले मानिरहेको थिईनँ । तर परिवारको अगाडि म एक्लैको कहाँ जोड लाग्थ्यो र ! रातभर पखाला रोकिएन । ४ महिनाकी नानीले कसरी धान्न सक्थिन् र ! रून, चिच्याउन नै छोडिन् । छोरीको त्यस्तो अवस्था देखेपछि म अर्धपागल झैं भईसकेको थिए । श्रीमानले हामी आमा बच्चालाई अस्पताल पुर्याउनुभयो । ५ दिनपछि स्वास्थ्यमा केही सुधार हुन थालेपछि घर ल्यायौं ।
माताकोमा उपचार गराउँदा केही सर्तहरू मान्नुपर्ने हुन्छ । सर्बप्रथम त रू. ५ सय भेटी अनिवार्य चढाउनुपर्ने हुन्छ । माताको अनुमति बिना भिडियो खिच्न पाईन्न । महिनावारी र जुठो परेकाहरू आँगन पनि टेक्न मिल्दैन । माताले जतिपटक आउनु भन्छन्, त्यति नै पटक जानुपर्ने हुन्छ । मातामाथि विस्वास गर्नेहरू यतिसम्म गर्छन् कि केही कामको सुरूवात गर्नुअघि माताको मै हेराउन जान्छन्, छोराछोरीले पढ्न र भनेको नमान्दा पनि माताकोमा नै जान्छन् । घरको गाईभैँसीले दूध नदिदा पनि माताकोमा नै जान्छन् ।
भनिन्छ, धामीझाँक्री, भुतप्रेम बोक्सीप्रथा जस्ता अमानवीय अभ्यासहरू शिक्षा तथा जनचेतनाको कमिको कारण हुन्छन् । यद्यपी कहिलेकाहीँ शिक्षित तथा बुद्धिजीवी वर्गहरु पनि यस्ता अभ्यासको अनुसरण गरिरहेका हुन्छन् भन्ने ब्याचलर पढ्दै गरेकी २१औं शताब्दीकी २२ वर्षीया युवती (कथित माता) ले भुतआत्मालाई तह लगाउन भन्दै कुटपिट गर्दा बालिकाको ज्यानै गएपछि प्रमाणित भएको छ ।
अहिले पनि बारम्बार यस्ता किसिमका घटनाहरु घटिरहनुले हाम्रो शिक्षा व्यावस्था पूर्णतः असफल हुनु हो भन्ने बुझाउँछ । यहाँ प्रश्न आउन सक्छ ‘के समाज परिवर्तनमा शिक्षाको कुनै योगदान छैन?’ गाउँघरमा मात्रै होईन, अहिले शहरतिर पनि माता र धामिझाक्रीका व्यापारिक अड्डाहरु गल्लि–गल्लिमा भेट्न सकिन्छ । सामाजिक सञ्जाल टिकटकमा लाईभ बसेर धामीझाँक्री तथा माताहरूले सभ्य भनिनेहरूकै दिमाग भुटिरहेको देख्न सकिन्छ । त्यस्ता धामीझाक्री र माताको विस्वास गर्ने पढेलेखेकाहरु नै अग्रपंतिमा हुन्छन् । वास्तवमा हाम्रो समाजले यहाँको धर्म र संस्कृतिको नाममा हुने गलत र अमानवीय हर्कतका कारण मानवीय क्षती भोगिरहेको छ । हामी आफ्ना कुविचार, कुआस्था, अन्धश्रद्धा र गलत अभ्यास नत्यागी धर्म संस्कृतिमाथि विदेशी हस्तक्षेप भयो भन्दै रोइलो गर्छौं । हामीमा कहिले चेतना आउने ? कहिले सचेत बन्ने ? कहिले रोकिन्छन् यस्ता किसिमका अपराधहरू ?