लण्डन । प्रवासी नेपाली मंच (ओएनएफ)यूकेले नारी दिवस मनाएको छ । बेलायतस्थित दक्षिणपुर्व प्लमस्टिडमा भव्य कार्यक्रमको आयोजना गरी ११३ औं अन्तरराष्ट्रिय नारी दिवस मनाएको हो ।
ओएनएफ यूके महिला विभागको संयोजकत्वमा आयोजित उक्त कार्यक्रमका वक्ताहरूले विश्वभर छरिएर रहेका नेपाली नारीहरुले अधिकार प्राप्तिका लागि आफै अग्रसर हुनु लपर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा बोल्दै बेलायतस्थित नेपाली दुतावासका उपनियोग प्रमुख रोशन खनालले दैनिक जीवनका चुनौतीहरुलाई पन्छाउदै नारी शसक्तिकरणका लागि लाग्नु पर्ने अवस्था रहेको बताइन्। प्रमुख अतिथिको तर्फबाट बोल्दै उनले दैनिक जीवनमा आउने ठुला वा साना चुनौतीलाई सामना नगरी नारीले अधिकार प्राप्त गर्न मुस्किल पर्ने जनाइन् । यस्तै, आगामी बर्ष बेलायतस्थित दुतावासले पनि नारी सशक्तीकरणका लागि यस्ता कार्यक्रम गर्ने बिषयमा दुतावासमा छलफल चलाउने प्रतिवद्धता जनाइन् ।
यस्तै, ओएनएफ यूके अध्यक्ष तुंगभद्र भुसालले नारी सशक्तीकरणका लागि आफ्नो र संस्थाको तर्फबाट सधै सहयोग रहने प्रतिवद्धता जनाए । उनले अन्तरराष्ट्रिय नारी दिवसमा सहभागी भएका महिलाहरुको उपस्थितिले कार्यक्रम भव्य भएको भन्दै खुसी व्यक्त गरेका थिए । आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई जस्तोसुकै सहयोग गर्न तयार रहेको उनले बताए ।
कार्यक्रममा प्रवासी नेपाली अन्तराष्ट्रिय कमिटीका सदस्य कल्पना त्रिपाठीले नारी हिंसा नेपालमा मात्र नभएर बेलायतमा पनि भएको तथ्यांक प्रस्तुत गरिन् । उनले नारी हिंसा विरुद्ध एउटै आवाजको खाचो रहेको बताइन् । उनले अन्तराष्ट्रिय कमिटि अर्का सदस्य सरस्वती केसीले नारी ससक्त्तिकरण र राजनीतिमा नारीको सहभागीतामा जोड दिइन् ।
सामाजिक अभियन्ता सरिता शर्माले संचालन गरेको उक्त कार्यक्रमको अध्यक्षता सुदेशा बजगाईले गरेकी थिइन् । कार्यक्रममा कविता र गायनसमेत प्रस्तुत गरिएको थियो ।
यसैबिच, पहिलो चरणको औपचारिक कार्यक्रम समापनपछि नाचगानसहित रमाइलो प्रस्तुतीसमेत प्रस्तुत गरेर कार्यक्रमलाई थप आकर्षक बनाइएको थियो । प्रविधिमा ओएनएफ यूकेका सदस्य केदार थपलियाले सहयोग गरेका थिए ।
उक्त कार्यक्रममा ओएनएफ अन्तरराष्ट्रिय कमिटी तथा राष्ट्रिय कमिटीका नेताहरु दिनेश घिमिरे, कर्ण शाही, विनोद ज्ञवाली, पुन्य रेग्मी, बालकृष्ण भुसाल, अर्कराज तिमल्सिना, श्याम लुईटेल, तिलक भट्टराई, पंकजलगायतको विशेष उपस्थिति थियो । त्यस्तै, दक्षिण पूर्वी लण्डनका विभिन्न संघसंस्थाहरुमा नेतृत्वदावी भूमिका निर्वाह गरेका महिलाहरुको विशेष उपस्थिति थियो ।