काठमाडौं । नेपाल बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री गंगानारायण श्रेष्ठले लिङ्गको आधारमा हुने आर्थिक विभेदको अन्त्य गर्नुपर्ने बताएका छन् । ११३ औं अन्तर्राष्ट्रिय श्रमिक नारी दिवसको अवसरमा शुभकामना दिँदै मन्त्री श्रेष्ठले यस्ता किसिमका विभेदको अन्त्य गर्नुपर्ने अभिव्यक्ति दिएका हुन् ।
नेपाल समाजवादी पार्टीका सहअध्यक्षसमेत रहेका मन्त्री श्रेष्ठले समान कामको समान ज्याला हुनेपर्ने पनि बताएका छन् । उनले ट्वीट गर्दै भनेका छन्, ‘आर्थिक रूपमा पैत्रिक सम्पत्तिमाथि पुरुष बराबर नारीको समान हक हुनुपर्छ । समान कामको समान ज्याला पाउनुपर्छ । घरायसी कामको मूल्य जोड्नुपर्छ । लिङ्गको आधारमा हुने आर्थिक विभेदको अन्त्य गरिनुपर्छ ।’
जैविक भिन्नताको कारणले गर्दा पनि लैंगिक विभेद भएको भन्दै पुरुषले नारीमाथि जैविक भिन्नताको आधारमा लैंगिक समानताको व्यवहार गर्नुपर्ने मन्त्री श्रेष्ठको धारणा रहेको छ ।
यस्तै, अलग्गै मानवीकृत कार्यविभाजन नारीमाथिको शोषण रहेको श्रेष्ठले बताएका छन् । ‘नारी–पुरुष एकअर्काका परिपुरक र प्रतिस्पर्धी हुन् । तसर्थ प्राकृतिक कार्यविभाजन बाहेक नारीको लागि गरिने अलग्गै मानवीकृत कार्यविभाजन नारीमाथिको शोषण हो । त्यसको अन्त्य गर्नुपर्छ ।’, उनले भने ।
श्रेष्ठले लैंगिक आधारमा गरिने राजनीतिक विभेदको अन्त्य गरिनुपर्ने, राज्यको हरेक निकायमा नारीको समान (कतिपय ठाउँमा विशेष) अधिकार, पहुँच, अवसर र प्रतिनिधित्व विधि र व्यवहार दुबैमा हुनुपर्ने धारणा व्यक्त गरेका छन् ।
यस्तै, पितृसत्तात्मक सत्ताले गर्दै आएको विभेद, अपमान, शोषण र पशुव्यवहारविरुद्ध आवश्यक परे नारीले बिद्रोहसमेत गर्नुपर्ने उनको भनाइ छ ।