कविता
यदि वंशको अहंकार छ भने
सुन !
तिम्रो विर्यले
ढुंगाबाट सन्तान जन्माउँन सक्दैनँ
तिम्रो पुरुष अहंकारले
धुलोमा गर्भधारण गराउन सक्दैनँ
सक्दैनँ
पानीमा वंश तैराउन
असमर्थ छ सारा दम्भ
तिम्रो अंशको सृष्टि गर्न
फेरि केको अहम्
केको दम्भ
किन इन्कार ?
यो सृष्टिमा
सह–अस्तित्वको अस्तित्व छ भने !
तिम्रो एकात्मकताको दम्भ
फगत भ्रमबाहेक
के हुन सक्छ ?
लुटेर सह–अस्तित्वको रेखा
कुन चाहिँ अस्तित्वमा टेकेर
तिम्रो पुरुषार्थ मुस्कुराउन सक्छ ?
हेर !
कति कुरुप देखिएको
त्यो अपराधी स्वरुप
कति दाग छन्
तिम्रो अनुहारमा
किन देखिन्छ, तिम्रो छातीमा
नामर्दपनको ऐना ?
कारण
तिमी, आफ्नै अर्ध अस्तित्वलाई कुल्चेर
अपराधी बनेका छौ
आफ्नै सम्पूर्णतालाई अस्वीकार गरेर
पोतेका छौ
अनुहारमा धब्बै धब्बा
हो !
मेरो पाठेघरको अपमानले
मेरो उपस्थितिको अस्विकार्यताले
तिमी अपूर्णताको
प्रतीक बनेर उभिएको छौ !
आज–
त्यो ढोंगी धरातलमा उभिएर
‘नारी दिवसको शुभकामना’ ओकलिरहँदा
पटक्कै सुहाएको छैन तिमीलाई !
मात्रै तिम्रो वान्ता झल्किरहेको छ ।
त्यसैले, अब तिमी
कि त
सहअस्तित्व स्वीकार गरेर आउ
कि बन्द गर वान्ता गर्न
छोडिदेउ नाटक मञ्चन गर्न
किनकी
तिम्रो उछृङ्खल मञ्चनले
बेस्सरी पोल्छ मेरो छाती
चहर्याउँछ पाठेघर ।