November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

कांग्रेसका नेताहरु मन्त्री बन्ने दौडमाः को-को छन् चर्चामा ?

२०७९ फाल्गुन १९

1.8K

काठमाडौं । संभवत राष्ट्रपतिको निर्वाचनपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रीमण्डललाई पूर्णता दिने तयारी गरिरहेका छन् । राष्ट्रपतीको निर्वाचनका लागि आठ दलीय गठबन्धनको समीकरण बनेपछि राजनीतिले नयाँ मोड लिएको थियो । अब गठबन्धनमा रहेका सबै दल सरकारमा सहभागी हुन्छन् या हुँदैनन् भन्ने विषय अझै अन्योलमा छ । तर प्रमुख दल नेपाली कांग्रेस भने सरकारमा सहभागी हुने लगभग निश्चित छ ।

कांग्रेस सत्तामा जाने भएपछि मन्त्री बन्नेहरुको दौडधुप शुरु भइसकेको छ । कसको नेतृत्वमा सरकारमा जाने भन्ने विषय पेचिलो बनिरहेका बेला सरकारमा जाने नेतृत्वका लागि तीन नेताको नाम चर्चामा आएको छ । पहिलो पंक्तिमा कांग्रेस उपप्रधानमन्त्री सहित पूर्णबहादुर खड्का, डा.शेखर कोइराला र प्रकाशनमान सिंह मध्येबाट सरकारको नेतृत्व गरेर जाने चर्चा कांग्रेसभित्र र बाहिर भइरहेको छ । कांग्रेसको भागमा नौ मन्त्रालय पर्ने संभावना छ ।

खड्काले मन्त्री बन्न अस्वीकार गरिरहेका बेला डा.कोइराला उपप्रधानमन्त्री सहित परराष्ट्रमन्त्री हुने संभावना रहेको छ । कोइराला नगएमा प्रकाशमान सिंहको संभावना रहेको छ । खड्काले सरकारमा नजाने भनेका कारण सिंहको संभावना बढेको हो ।

Advertisement

अर्थमन्त्रीमा विनोद चौधरी, डा.प्रकाश शरण महत र ज्ञानेन्द्रबहादुर कार्कीको नाम अगाडी आएको छ । तर अर्थ मन्त्रालय कांग्रेसको भागमा पर्ने नपर्ने निश्चित छैन । इतर समूहलाई मिलाउने क्रममा कोइरालाको विकल्पमा गगन थापा पनि मन्त्रीमा जान सक्ने चर्चा छ । उनी गए भने पुनः स्वास्थ्य मन्त्री नै हुने दावी स्रोतको रहेको छ ।

त्यसैगरी, मन्त्रीका लागि लुम्बिनी प्रदेशमा पकड जमाएर बसेका नेता दीपक गिरी पनि चर्चामा छन् । एनपी साउद र रमेश लेखकको पनि व्यापक चर्चा रहेको छ । त्यसैगरी किशोरसिंह राठौर पनि मन्त्रीको दौडमा रहेका छन् । यता, महिलाबाट भने चन्दा चौधरी र सीता गुरुङमध्ये एकजना मन्त्री हुने संभावना रहेको छ ।