लन्डन । बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) युकेको १६ औं साधारणसभा तथा पाँचौ अधिवेशन सम्पन्न भएको छ । गत शनिबार अल्डरसटस्थित बीसीसी गुम्बामा सम्पन्न अधिवेशनले हर्क गुरुङको नेतृत्वमा २५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।
कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा आङ्दावा शेर्पा, उपाध्यक्षमा रोबिन गुरुङ र क्याप्टेन देब घले निर्वाचित भएका छन् । त्यस्तै, महासचिवमा मेजर हितमान गुरुङ, सचिवमा रिन्जी लामा शेर्पा, कोषाध्यक्षमा मेजर शंकर गुरुङ, सहकोषाध्यक्षमा सान्त गुरुङ, मिडिया सेक्रेटरीमा सविन्द्रकुमार गुरुङ, प्रोजेक्ट मेनेजरमा वरिष्ठ उपाध्यक्ष आङ्दावा शेर्पा, असिस्टेन्ट प्रोजेक्ट मेनेजरमा बिष्णु तामाङ, धर्म गुरुमा टुल्कु जिग्मे सामतेन, पूजा कोर्डिनेटरमा बुद्ध गुरुङ, असिस्टेन्ट पूजा कोर्डिनेटरमा सानो लामा, पीआर अफिसरमा मेजर कुमार गुरुङ, असिस्टेन्ट पीरआर अफिसरमा जोय, प्रोपर्टी सेक्रेटरीमा रामचन्द्र गुरुङ, कल्चरल सेक्रेटरीमा पञ्च तामाङ, असिस्टेन्ट कल्चरल सेक्रेटरीमा सपनकुमार राई, फुड मेम्बरमा हर्कबहादुर गुरुङ र सदस्यहरुमा कुलबहादुर गुरुङ, टेकबहादुर गुरुङ, शान्त शेर्पा, शुक्र तामाङ, ताराबहादुर गुरुङ चयन भएका छन् ।
अध्यक्ष गुरुङ यसअघि दुई कार्यकाल उपाध्यक्षको भूमिकामा रहेका थिए । प्रोजेक्ट मेनेजरको रुपमा पनि लामो समयदेखि जिम्मेवारी निर्वाह गरेका गुरुङ निर्विरोध अध्यक्षमा निर्वाचित भएका हुन् । उनी विभिन्न संघसंस्था पनि आबद्ध छन् । अत्यन्त सरल स्वभावका गुरुङ भूतपूर्व गोर्खा पनि हुन् ।
निर्वाचनका लागि बीसीसी युकेका भूतपूर्व अध्यक्ष लेप्टन नारायणप्रसाद गुरुङ बीईएमको संयोजकत्वमा बीसीसी युकेका प्रमुख सल्लाहकार मेजर खुशीमान गुरुङ, सल्लाहकार मेजर कुलबहादुर थापा, निवर्तमान अध्यक्ष नरेश गुरुङ, संस्थापक आमा प्रमुख ज्ञानुमाया गुरुङ सदस्य रहेको निर्वाचन समिति चयन भएको थियो । उक्त निर्वाचन समितिले नयाँ कार्यसमितिको घोषणा गरेको हो ।
अधिवेशनमा नवनिर्वाचित कार्यसमितिका पदाधिकारी एवं सदस्यहरुलाई बीसीसी युकेका धर्म गुरुङ टुल्कु जिग्मे सामतेन रिन्पोछेले पद तथा गोपिनियताको शपथ गराएका थिए । सो अवसरमा निवर्तमान अर्थात् चौथो कार्यसमितिका अध्यक्ष धर्म तामाङले आफ्नो कार्यकाललाई सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्नेे सबैप्रति धन्यवाद ज्ञापन गर्दै नयाँ कार्यसमितिलाई बधाई दिए ।
नवनिर्वाचित अध्यक्ष हर्क गुरुङले आफूलाई पाँचौं कार्यसमितिको जिम्मेवारी प्रदान गरेकोमा धन्यवाद दिँदै सबैको साथ, सहयोग, सल्लाह र सुझावका साथ अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।
साधारणसभामा महासचिव क्याप्टेन देव घलेले बीसीसीले गत १ वर्षमा गरेका विभिन्न कार्यहरुबारे जानकारी गराउँदै वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । त्यस्तै, कोषाध्यक्ष मेजर हितमान गुरुङले बीसीसी युकेको आम्दानी, खर्च र बचत पावर पोइन्ट प्रिजेन्टेशनमार्फत प्रस्तुत् गर्दै आर्थिक प्रतिवेदन प्रस्तुत गरे । साथै, सचिव एवं गुम्बा प्रबन्धक शारदा गुरुङले आमा समूहको वार्षिक प्रतिवेदन तथा गुम्बा संचालन, उपाध्यक्ष हर्क गुरुङले प्रोजेक्ट रिपोर्ट, प्रमुख सल्लाहकार मेजर खुशीमान गुरुङले बौद्ध शिक्षासम्बन्धी कक्षा, कार्गे र ट्रष्टीज, उपाध्यक्ष रोबिन गुरुङले संस्थाको विधान, नियम र सर्तहरुबारे, बीसीसी युके लन्डन ब्रान्च अध्यक्ष गोपाल तामाङले ब्रान्चको प्रतिवेदन, लन्डन ब्रान्चकी आमा अध्यक्ष दिलमाया गुरुङले ब्रान्चको आमा समूहको प्रतिवदेन प्रस्तुत गरेका थिए । उनीहरुले प्रस्तुत गरेका प्रतिवेदनमाथि व्यापक छलफल गरेपश्चात् पारित भएको थियो ।
बीसीसी गुम्बाका धर्मगुरुहरु टुल्कु जिग्मे सामतेन र खेन्पो टासी छिरिङ्गले बिहान ८ बजे साङ्ग पूजा गरी सुरु गरिएको उक्त कार्यक्रममा प्रोजेक्टका लागि आर्थिक सहयोग प्रदान गर्ने किमबहादुर गुरुङ तथा इन्द्रकुमारी गुरुङलाई खादा लगाई सम्मान गरिएको थियो ।
साधारणसभाको सुरुवातमा चौथो कार्यसमितिका अध्यक्ष धर्म तामाङले स्वागत मन्तव्य राखेका थिए । त्यस्तै, प्रमुख सल्लाहकार मेजर खुशीमान गुरुङ, संस्थापक आमा प्रमुख ज्ञानुमाया गुरुङले बीसीसी युकेको स्थापना, सुरुको अवस्था र वर्तमान अवस्थाबारे जानकारी गराएका थिए । साथै, बीसीसी युकेकी आमा प्रमुख उर्मिला (इन्द्र) गुरुङले विभिन्न विषयमा आफ्नो भनाइहरु राखेकी थिइन् ।
बीसीसी युकेका अध्यक्ष धर्म तामाङको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन महासचिव देव घलेले गरेका थिए ।