न्यूयाेर्क । साउथ क्यारोलिनाका पूर्व गभर्नर रिपब्लिकन निक्की हेलीले मङ्गलबार अमेरिकी राष्ट्रपतिका लागि रिपब्लिकन प्राइमरीमा उम्मेदबारीको घोषणा गरेकी छिन् । आगामी रिपब्लिकन प्राइमरीमा राष्ट्रपतिको नोमिनेशनका लागि आधिकारिक रूपमा पूर्व राष्ट्रपति ट्रम्पलाई चुनौती दिने उनी पहिलो रिपब्लिकन बनेकी छिन् ।
पूर्व गभर्नर तथा संयुक्त राष्ट्रकालागि पूर्व राजदूतले हेलीले उम्मेदबारीको घोषणा गर्दै पार्टीमा नयाँ नेतृत्वको लागि आह्वान गरेकी छिन् । रिपब्लिकनहरूले पछिल्ला आठ राष्ट्रपति चुनावमध्ये सातमा लोकप्रिय भोट गुमाएको उल्लेख गर्दै उनले त्यो परिवर्तन हुनुपर्ने बताइन् ।
५१ वर्षीया हेलीले यो नयाँ पुस्ताको नेतृत्वको लागि समय भएको बताइन् । चुनावी दौडमा हेलीको प्रवेश महिनौंदेखि अपेक्षा गरिएको थियो। उनले करिब दुई वर्ष ट्रम्पले उम्मेदबारी दिएमा आफूले २०२४ मा ट्रम्पलाई चुनौती नदिने बताएकी थिइन् । तर ट्रम्पको उम्मेदबारी घोषणाको बाबजुत उनी पछि हटिनन् ।
ट्रम्प प्रशासन छोडेपछि उनले २०२२ को मध्यावधि चुनाव अघि रिपब्लिकन उम्मेदवारहरूलाई बढावा दिन आफ्नै बाहिरी समूह स्ट्यान्ड फर अमेरिका स्थापना गरेकी थिइन् । उनी राष्ट्रिय सञ्चारमाध्यममा पनि सकृय रुपमा आइरहेकी छिन् ।
जनवरीमा फक्स न्यूजसँगको एक अन्तर्वार्तामा उनले आफू अझै पनि उम्मेदबारी दिने नदिने बारे विचार गरिरहेको बताएकी थिइन् । देशलाई २०२४ मा नयाँ पुस्ताको आवश्यकता रहेको उल्लेख गर्दै उनले आफूलाई सम्भावित नेताको रूपमा अगाडि सार्दै आएकी थिइन् ।
अमेरिकाको भविश्य हेर्ने कुरा एक व्यक्ति भन्दा ठूलो भएको र यो समय नयाँ पुस्ता परिवर्तनको समय भएको उनको भनाई छ । राष्ट्रपति बन्नको लागि ८० वर्षको हुनु आवश्यक नभएको उनले बताइन् । युवा पुस्ता अगाडि बढ्न, कदम चाल्न, र चीजहरू ठीक गर्न सुरु गर्न आवश्यक भएको उनले उल्लेख गरिन् ।