काठमाडौं । सोमबार बिहान टर्कीको गाजियान्टेपलाई इपिसेन्टर बनाएर आएको ७.८ म्याग्निच्युडको भूकम्पमा परी टर्की र सिरियामा गरी मृत्यु हुनेको संख्या ५ हजार नाघेको छ । अन्राष्ट्रिय समाचार अनुसार भूकम्पमा ५ हजार ७ सयभन्दा बढी भवन भत्किएका छन् ।
भुकम्पबाट करिब १४ लाख बालबालिका प्रभावित हुने भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ । १७.९ किमि गहिराइसम्म पुगेको भूकम्पको धक्का सिरिया र लेबनानसम्म पुगेको छ । अदाना, मलातिए, ओसमानिया, एस्केमदेरन, किलिस, साम्ले उर्फासहित १० क्षेत्रमा असर पुगेको छ ।
टर्कीमा नेपालीहरु पनि रहेका छन् । तेस्रो बाटो प्रयोग गरी जाने भएकाले कति नेपाली छन् भन्ने यकिन विवरण भने नभएको जनाइएको छ । घरेलु कामदारमा भने म्यानपावर व्यवसायीले श्रम स्वीकृति लिई पठाइरहेका छन् । सम्पर्कमा आएका नेपालीहरूले भने अहिलेसम्म सबै सुरक्षित रहेको बताएका छन् ।