April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

‘लकडाउनमा सर्जक र सिर्जना’ पुस्तकले स्वर्णिम साहित्य समाजलाई पचास हजार प्रदान गर्ने

2.4K

धरान। कोरोना कहरका कारण भएको लकडाउनको समयमा प्रकाशित पुस्तक ‘लकडाउनमा सर्जक र सिर्जना’ को प्रकाशक समुहले स्वर्णिम साहित्य समाजलाई पचास हजार रुपैयाँ प्रदान गर्ने भएको छ । स्वर्णिम साहित्य समाज, बराहक्षेत्र -३ ले स्थापना गरेको ‘स्वर्णिम साहित्य पुरस्कार तथा सम्मान’ का निम्ति खडा गरिएको अक्षयकोषलाई सो रकम हस्तान्तरण गर्न लागिएको हो ।

पुस्तकको प्रकाशक समुहले गत वर्ष एक कार्यक्रममा उक्त पुरस्कार प्रदान गर्ने प्रतिबद्धता घोषणा गरेको थियो । नेपाल सरकारले कोरोनाका कारण लकडाउन घोषणा गरेको समयमा बराहक्षेत्र-३ नडाहामा रहेर डर र त्रासबाट केही समयको लागि भए पनि टाढा रहदै आम कवि सर्जकहरुमा आशा र उत्साह भर्ने उदेश्यले कवि तथा साहित्यिक अभियानता प्रकाश दिप्साली राईले ‘लकडाउन सिर्जना शृङ्खला’ नाम दिदै दैनिक ३ वटा सिर्जनाहरु सामाजिक सन्जाल फेसबुकमार्फत पोष्ट गर्थे । पछि त्यही शृङ्खलाले अत्यन्त लोकप्रिय बन्दै गएपछि पुस्तकको रुप दिएको हो ।

अन्तर्राष्ट्रिय परदेशी साहित्यिक समूह भारत, पात्लेपानी कला/साहित्य प्रतिष्ठान हतुवागढी भोजपुर र तायाजोङ मिडिया एण्ड प्रोडक्सन प्रा.लि. काठमाडौले २८६ थपको ‘लकडाउनमा सर्जक र सिर्जना’ नाम दिएर पुस्तकको रुपमा प्रकाशन गरेका थिए । त्यसमा अन्य सर्जकले समेत साथ दिएका थिए । सोही पुस्तकबाट सङ्कलित रकमलाई प्रकाशक समुहले स्वर्णिम साहित्य समाजलाई प्रदान गर्न लागेको हो ।

Advertisement

लकडाउनमा सर्जक र सिर्जना पुस्तक आवरण

विगत १५ वर्ष अघिदेखि कला र साहित्यमा योगदान दिएको भन्दै सो रकम स्वर्णिम साहित्य समाजलाई प्रदान गर्न लागिएको प्रकाशक तायाजोङ मिडिया प्रा.लि. का राजन समिपले बताए । स्वर्णिम साहित्य समाजलाई यो सानो रकम हस्तान्तरण गर्न पाउँदा आफूहरु असाध्यै खुसी रहेको पात्लेपानी कला साहित्य प्रतिष्ठान, हतुवागढी भोजपुरका संस्थापक बिश्वजित राईले बताए ।

सो रकम स्वर्णिम साहित्य समाजले आयोजना गर्न लागेको ‘स्कुलमा कविता’ कार्यक्रमको पहिलो अडिसन कालाबन्जरमा हस्तान्तरण गरिने अन्तर्राष्ट्रिय परदेशी साहित्यिक समूह भारतका उपाध्यक्ष एवम कवि भीम विरही राईले जानकारी दिएका छन् ।

‘हामी गाउँमा रहेर साहित्य कर्ममा समर्पित छौँ । हामीलाई अनावश्यक नक्कल ढर्रा भन्दा पनि सिर्जना र यो समाजले दिएको जिम्मेवारीलाई पूरा गर्न सकिन्छ कि सकिन्न ? भन्ने कुराले खुब सताउँछ । लकडाउनमा सर्जक र सिर्जना पुस्तकप्रति आभारी छौं ।’ समाजका उपाध्यक्ष शरण लिम्बुले बताए ।

समाजले आगामी माघ २१ गतेदेखि स्वर्णिम साहित्य समाज बराहक्षेत्र -३ ले स्कुलमा कविता कार्यक्रमको अडिसन ज.डे.ज. मा.वि. कालाबन्जरबाट सुरु गर्दैछ ।