April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

साहिल लिम्बुको रैथाने संगीत प्रेम

5.1K

भर्खरै सम्पन्न ‘दि भोइस अफ नेपाल सिजन–४’ को ब्लाइन्ड अडिसनमा हाक्पारे गुञ्जाउदै धमाकेदार प्रस्तुति दिएका थिए ताप्लेजुङका साहिल लिम्बूले । साहिलले प्रस्तुति दिइरहँदा अभिभावक कोठामा देखिए गायक तथा संगीतकार सम्भु फोम्भो । धमाकेदार ‘ओपनिङ’ गरेका साहिलका लागि कोच प्रविशाको मात्रै कुर्सी घुम्यो । त्यसपछिको उनको भोइस यात्रा सुखद बन्दै गयो । चारवटा कुर्सी घुमाउन सफल धेरै प्रतिभाहरु बाहिरिँदै जाँदा साहिल लिम्बुले भने सरासर ‘लाइभ राउन्ड’ प्रवेश गरे । त्यसपछि भोटमार्फद भोइस अफ नेपाल सिजन–४ को ‘फाइनलिस्ट’ बन्न सफल भए । नेपाली मौलिक गीतसंगीतलाई अन्तराष्ट्रिय स्तरमा पु¥याउने महान उदेश्यका साथ सांगीतिक यात्रा तय गरेका साहिलको यात्रा सुरु भइसकेको छ । उनको यो यात्राका अन्य थुप्रै शुभचिन्तक तथा सहयात्रीहरुमध्ये एक छन् शम्भु फोम्बो ।

को हुन् सम्भु फोम्बो ?
२०३२ सालमा बुबा कालिप्रसाद फोम्बो र आमा मनमाया चोङ्वाङ्बाट तेह्रथुमको खाम्लालुङमा जन्मिएका शम्भुको सांगीतिक यात्रा २०४८ सालदेखि नै सुभारम्भ भएको हो । उनले संगीत विधाबाटै बि.ए. गरेका छन् भने गायन तथा वाद्यवाधनबारे थुप्रै तालिमहरु लिएका छन् । उनको पहिलो गीत ‘पुर्वैको मारुनी’ २०६० सालमा रेकर्ड भएको थियो । यस्तै, पहिलो लिम्बु गीत ‘कब्रिङ–कब्रिङ’ २०७७ हुँदै हालसम्म करिब ३१ भन्दा धेरै गीतमा स्वर दिइसकेका छन् । विशेष गरी मौलिक गीतसंगीतमा काम गर्न रुचाउने फोम्बो विभिन्न सामाजिक तथा सांस्कृतिक संघसंस्थाहरुमा आबद्ध रहेर काम गर्छन् । उनले ‘रेन्बोरेज म्युजिक प्रा.लि. सम्मान–२०७३’, ‘किरात याक्थुङ चुम्लुङ सम्मान–२०७१’, ‘पास्कल इन्टरनेशनल स्कुल काठमाडौं सम्मान–२०७३’, ‘जगद मन्दिर बोर्डिङ स्कुल चावहिल सम्मान–२०७३’ लगायत थुप्रै पुरस्कार तथा सम्मान प्राप्त गरेका छन् । उनले विभिन्न सांगीतक कार्यक्रमहरुमा निर्णायकको भूमिका पनि निर्वाह गर्दै आइरहेका छन् । सांगीतिक भ्रमणकै दौरानमा भेट भएका साहिल लिम्बु र फोम्बोको सम्बन्ध थोरै गुरु र शिष्यजस्तो, केहि अभिभावकजस्तो र धेरै साथिजस्तो देखिन्छ । ‘उमेरले क्षमताको निर्धाणर गर्दैन, म साहिलबाट केहि सिकिरहेको छु ।’, फोम्बो भन्छन् ।

गायक तथा संगीतकार शम्भु फोम्बो

साहिल लिम्बु र रैथाने संगीत प्रेम
दि भोइ अफ नेपालको स्टेजबाट बाहिर निस्किएपछि साहिललाई धेरै युटुवरहरुले अन्तर्वार्ता लिए । अधिकांश युटुवरहरुले उनको आमा साथमा नहुँदाको ‘इमोशन हाइलाइट’ गरे । त्यो उनको जीवनको दुःखद पाटो थियो, यद्यपी साहिल ‘गायक साहिल लिम्बु’ बनेर सारा नेपालीको मनमुटूसम्म पुग्नुमा सुषुप्त रुपमा उनको पारिवारिक वातावरण पनि रहेको छ । शम्भु फोम्बोका अनुसार साहिलभन्दा अघि उनको चिनजान साहिलका बुबा चन्द्र फुरुम्बोसँग भएको थियो । चन्द्र फुरुम्भो पाःलाम गायक तथा मौलिक संगीतकर्मी हुन् ।उनी विशेष पुर्वमा रहेर पाःलाम सम्बन्धि काम गर्दै आइरहेका छन् । फुरुम्भोसँग पाःलामको भिडियो सुटिङ गर्ने क्रममा साहिलसँग पनि भेट उनको भएको थियो । ‘पारिवारिक माहोल पनि संगीतमय छ, त्यतिबेला साहिललाई भेट्दा उनी विशेष प्रतिभा हुन् भन्ने लागेको थियो । उनले त्यो मेरो अनुमानलाई पुरा गरे ।’, सम्भु स्मरण गर्छन् ।

Advertisement

साहिल संगीतको पहिलो गुरु आफ्नो बुबालाई मान्छन् । उनको परिवारमा याक्थुङ पाःलाम र हाक्पारेको प्रभाव छ । तर रैथाने संगीतप्रतिको मोह बढ्नुमा भने उनी पारिवारिक वातावरणलाई मात्रै मान्दैनन् । फरक काम गर्नुपर्छ भन्ने सोच र रैथाने गीतलाई विश्व सामु पुर्‍याउने योजना अनुरुप रैथाने संगीत रोजेको उनी बताउछन् । ‘हामी भारतीय, अंग्रेजी गीतसंगीत गौरवका साथ सुन्छौं, अनि उनीहरूको ठाउँमा हाम्रो संगीत खै ? यो नेपाली संगीत हो भनेर ती देशमा पनि हाम्रो संगीत सुनियोस् न त ! यो लक्ष छ ।’, साहिल आफ्नो लक्ष सुनाउछन् । साहिलले रैथाने संगीतलाई विश्वबजारमा पुर्‍याउनेमा शम्भु विश्वस्त छन् । ‘साहिलमा अद्भुत शक्ति छ । एकदिन हाम्रो नेपाली रैथाने संगीतलाई उनले विश्वमा पुर्‍याउनेछन् ।’, फोम्बोले विश्वास व्यक्त गर्छन् ।

अद्भुत गायत क्षमता रहेका साहिलको भोइसमा प्रवेश गर्ने यो पहिलो प्रयास थिएन । सिजन–२ देखि नै अडिशन दिएका उनी सिजन–४ मा आइपुग्दा सफल बने । यसअघिका सिजनहरुमा उनले डिजिटल तथा फिजिकल अडिशन दिए तर छनौट भएनन् । सिजन–४ को ब्लाइन्डमा देखिएका उनी अन्ततः फाइनलिस्ट नै बनिछाडे ।

पाःलाम गायक तथा मौलिक संगीतकर्मी चन्द्र फुरुम्बो

ब्लाइन्डमा हाक्पारे गाउने उनको आफ्नै निर्णय थियो । ‘त्यस्तो ठूलो आशा छैन । कुर्सी घुमे पनि हुन्छ, नघुमे पनि हुन्छ । अनुभव लिन्छु र केहि कुरा सिकेर जान्छु ।’, साहिलले भोइसको स्टेज चड्नु अघि यस्तो अभिव्यक्ति दिएका दिए । ‘हामी नेपाली धर्म र संस्कृतिका धनी छौं । हामी लिम्बुहरुको पनि एउटा बेग्लै मौलिक संगीत छ, पाःलाम, हाक्पारे, ख्याली, तुहा ताम्के । पुर्वतिर सांस्कृतिक गीतहरु नै बढी सुनिने भएको हुँदा रगतमै त्यहि छ जस्तो लाग्छ ।’, यसअघि उनले भनेका थिए ।

उनको निर्णय सहि सावित भयो । ४ जनामध्ये १ जनामात्रै कोचको कुर्सी घुमेतापनि उनी सहजै यस सिजनको फाइनलिस्ट बन्न सफल बने । यो रैथाने गीतसंगीतको एककदम जीत नै हो भन्दा फरक नपर्ला । त्यसो त प्रविशाको ‘चेयर टर्न’ आफ्नो अपेक्षा र अनुमान भन्दा फरक हुन पुगेको शम्भु बताउछन् । राजेश पायल राई या प्रमोद खरेलको कुर्सी घुम्न सक्ने उनको अनुमान थियो । प्रविशाको कुर्सी मात्र घुम्दा उनलाई अनौठो महसुस भएको थियो । यसरी आफू फाइनलिस्ट बन्नुमा साहिल आफूलाई समय, भाग्य, मिहिनेत र प्रविशाको विश्वासको संयोजन रहेको बताउछन् । ‘म त वहाँलाई आमा या कुनै देवी बनेर मकहाँ प्रकट हुनुभएको होला भन्ने सम्झन्छु । मेरो आमाको आशिर्वादको रुपमा वहाँ प्रस्तुत हुनुभएको हो कि भन्ने महसुस गर्छु ।’, प्रविशाप्रति साहिल सम्मान व्यक्त गर्छन् ।

साहिल सबै विधाको गीतलाई न्यायपूर्वक गाउन सक्छन् । तर, कार्यक्रमको अधिकांश चरणमा उनलाई यस्तै मौलिक ‘फ्लेवर’को गीत दिइयो । जसका कारण कतिपय दर्शकस्रोताले ‘मोनोटोनस’ भएको र उनको क्षमतामा प्रश्न उब्जिएको प्रतिक्रिया पनि दिएका थिए । साहिल आफू भने यसलाई ‘ब्लाइन्ड राउण्ड’को प्रभाव सम्झन्छन् । उनी भन्छन्, ‘मलाई प्रायः रैथाने गीतहरू गाउन दिइयो । तर, वहाँले दिनुभएको कुनै पनि गीत मैले नाइँ भनिनँ । जे दिनुभयो त्यही नै गाउँने कोसिस गरेँ । म अरु विधाको गीत गाउन नसक्ने हैन, सबै गीत गाउछु । सबै गीतप्रति मेरो सम्मान छ । तर, मेरो मुख्य योजना भने यहि हो कि रैथाने संगीतलाई, हाम्रो देशको माटोको सुगन्धसहितको संगीतलाई अन्तराष्ट्रिय स्तरमा पुर्‍याउन सकुँ । सोही अनुसारको गीत पनि दिइयो ।’

नेपाली सङ्गीतकार तथा लोक सङ्गीत अनुसन्धानकर्ता झुमा लिम्बु

रैथाने गीतसंगीतमा झुमा लिम्बुको अथाह योगदान छ । नेपाली सङ्गीतकार तथा लोक सङ्गीत अनुसन्धानकर्ता लिम्बुले आफैँले ‘ढेला’ नामक बाजा निर्माण गरेकी छन् । पछिल्लो समय झुमा लिम्बु र रैथाने संगीत आपसमा पर्यायवाची बन्दै गएको छ । भोइस अफ नेपालमा साहिलको प्रस्तुति हेरिसकेपछि धेरैले उनलाई झुमा लिम्बुको उत्तराधिकारीको रुपमा हेर्न थालेका छन् । यहि प्रश्नमा साहिल झुमा लिम्बुसँग आफ्नो तुलना हुन नसक्ने बताउछन् । उनी भन्छन्, ‘म सानो बच्चा हुँ, वहाँ त रैथाने संगीतको विज्ञ हुनुहुन्छ । वहाँको सिको भने गर्न खोजिरहेको छु ।’ सोहि प्रश्नमा झुमा लिम्बु साहिलको सम्भावना रहेको बताउछिन् । ‘धेरैजनाले साहिलको भिडियो लिंक पठाएपछि मैले उनको प्रस्तुति हेरेँ । केटोले गर्न सक्छ ।’, झुमाले भनिन् ।

रैथाने र मौलिक संगीतलाई बुझ्ने आम धारणाप्रति भने साहिलका गुनासो छ । रैथाने र मौलिक संगीत भन्ने बित्तिकै कतिले कुनै जातीको संगीत भन्ने बुझिदिने उनले गुनासो राखे । उनको प्रश्न छ, ‘हाम्रो प्रमुख संगीत त यहि नै हैर र ? आधुनिक शास्त्रीय संगीत भारतीय संगीत हुन्, रक, पप अंग्रेजी संगीत हुन् । तर मैले रैथाने संगीतमा काम गर्छु भनिरहँदा यो चाहिँ उसको जातको संगीत भनिदो रैछ । त्यस्तो बुझ्नुहुँदो रैछ । यहाँको माटोको हरेक संगीत हाम्रो संगीत हैन र ? यसबारे भ्रम चिर्न सबैलाई आफ्नो संगीत कुन हो भन्ने आफैले बुझ्नुपर्ने उनको धारणा छ । आधुनिक मेलोडी, रक पपलाई आफ्नो संगीत ठान्ने कि मौलिकलाई आफ्नो ठान्ने ? आफू प्रस्ट भए भ्रम स्वतः चिरिने उनको विश्वास छ । ‘तर आधुनिक तथा रक, पप संगीत नराम्रो हो भन्न खोजेको भने हैन ।’, साहिलको स्पष्टिकरण छ ।

कतिपय ‘रियालिटी शो’का विजेता या फाइनलिस्टहरु शोबाट बाहिरिइसकेपछि हराउने गर्छन् । कम ‘ट्यालेन्ट’हरुले मात्रै सोहि क्षेत्रमा निरन्तरता दिँदै भविष्य बनाएको उदाहरण भेटिन्छ । साहिल भविष्यमा नेपाली संगीतमै रहने आफ्नो योजना रहेको बताउछन् । अरुको भन्दा फरक शैलीमा आफ्नो संगीतहरू आउन सक्ने उनको भनाइ छ । साहिलको सांगीतिक भविष्य उज्जल रहनेमा शम्भु विस्वस्त छन् । संगीतमा साहिल आफ्नो उमेरभन्दा धेरै परिपक्क भएको कारण उनी आफ्नो लक्ष नजिक रहेको फोम्बोको दाबी छ ।

नेपाल मामिलाका लागि सीता तुम्खेवाले गरेको कुराकानीमा आधारित ।