April 22, 2025, Tuesday
२०८२ बैशाख १०
1:37:26 pm

खराब मौषमका कारण न्युयोर्कमा रातभर गाडीमा फस्नेमा कैयन नेपालीहरु समेत

1.9K

न्युयोर्क । न्युयोर्कको बफेलो क्षेत्रमा गाडीमा फस्नेमा कैयन नेपालीहरु समेत रहेका छन् । बफेलो क्षेत्रमा यात्रा गर्ने क्रममा र दैनिक कामका लागि आवतजावत गर्ने क्रममा उनीहरु गाडीमा फसेका थिए ।

बफेलो क्षेत्रमा काममा जाने क्रममा ५ जना नेपालीहरु हिजो दिउसो २ बजेदेखि फसेकोमा २६ घण्टापछि शनिबार दिउसो ४ बजेतिरमात्र सकुशल सुरक्षित स्थानमा पुगेको त्यहाँबाट लोकनाथ अधिकारीले जानकारी दिनुभयो । उनीहरु तेल बचाउन एउटै गाडीभित्र बसेका थिए भने २६ घण्टापछि गाडी त्यही छाडेर सुरक्षित स्थानमा पुग्न सफल भएका थिए ।

त्यस्तै बफेलो क्षेत्रहुँदै गन्तव्यमा जादै गरेका ४ जना नेपालीभाषीहरु पनि रातभर फसेका थिए । उनीहरु हिजो दिउसो ४ बजेदेखि बफेलोको साउथ पार्कमा फसेकोमा विहान ८ बजे गाडी छाडेर सुरक्षित स्थलमा पुग्न सफल भएका थिए । उनीहरुले त्यसक्षेत्रका नेपालीहरुलाई सम्पर्क गरेर उनीहरुको घरमा पुग्न सफल भएको जनाइएको छ ।

Advertisement

गाडीमा पेट्रोल हाल्ने क्रममा किनेको एककप कफी गाडीभित्र रहेकाले त्यही एककप कफी ४ जनाले बाँडेर खाएको भरमा उनीहरुले १६ घण्टा गाडीमा बिताएका थिए । गाडीमा तेल सकिएपछि उनीहरु गाडीबाट बाहिर निस्केर सुरक्षित स्थानमा पुग्न सफल भएका थिए । हिमपात र हावाहुरीका कारण आवागमनमा असर परेको र भिजिबिलिटी समेत नभएकाले समस्या भएको त्यहाँबाट लोकनाथ अधिकारीले जानकारी दिनुभयो ।

फसेका व्यक्तिले प्रहरीलाई खबर गर्दा प्रहरीले समेत केही गर्न नसक्ने बताएको थियो । प्रहरीले बासिन्दाहरूलाई उनीहरूको जीवन खतरामा नभएसम्म ९११ मा फोन गर्न निरुत्साहित गरेको छ । त्यसक्षेत्रमा कैयन नेपालीहरुका घरमा समेत विद्युत आपूर्तिमा अवरोध उत्पन्न भएको छ ।

कडा बतास र हिमपातले काउन्टीलाई असर गरेको एरी काउन्टीका कार्यकारी मार्क पोलोनकार्जले बताएका छन् । आफूहरुले देखेका संख्याहरूको आधारमा यो सायद केही सयको वरपर रहेको उनको भनाई छ । त्यहाँ ५ सय वा त्योभन्दा बढी व्यक्ति फसेका थिए ।