April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

छोराको जन्मदिनको अवसरमा विद्यार्थीलाई कपडा वितरण

2.5K

पाँचथर । पाँचथरमा एक अभिभावकले छोराको जन्मोत्सवको अवसरमा ६० जना विद्यार्थीलाई कपडा वितरण गरेका छन् । फिदिम नगरपालिका–१ स्थित ‘सिदिन डेरी’ सञ्चालन गर्दै आएका गोपाल रिजालले आफ्ना ९ बर्षीय छोरा दिपजल रिजालको जन्मदिनको अवसर पार्दै जिल्लाको फालेलुङ गाँपालिका ७ को थोकपन आधारभूत विद्यालयको कक्षा १ देखि ५ सम्म अध्ययनरत ६० जना छात्रछात्रालाई जाडो याममा लगाउने स्विटर र स्टेशनरी प्रदान वितरण गरेका हुन् ।

रिजालले सोमवार बिद्यालयमै पुगेर विद्यार्थीलाई कपडा बितरण गरे । कार्यक्रममा फालेलुङ ७ का वडाध्यक्ष टेकबहादुर केरुङ,सिद्वदेवी माविका प्रधानाध्यापक सुरेन्द्र केरुङ, पूर्वप्रधानाध्यापक ओमनाथ रिजाल पुर्व वडाध्यक्ष सेरवहादुर केरुङ विद्यालयका प्रधानाध्यापक जेवि राई र जनसेवा समाजका अध्यक्ष राजेन्द अधिकारीले रिजाललाई धन्यवाद ज्ञापन गरे ।

बालबालिकाको जन्मोत्सव मनाउने क्रममा केक काट्ने र डिस्कोमा गएर अनावस्यक खर्च गर्ने प्रवृत्ती बढ्दै गएका बखत मितव्ययी र व्यवहारिक बन्न प्रेरित गर्ने उद्देश्यले विद्यार्थीलाई कपडा प्रदान गरेको रिजालले बताए । रिजाल सोहि विद्यालयका पूर्व विद्यार्थी पनि हुन् । कपडा वितरण कार्यक्रमको संयोजन जनसेवा समाज नामक सामाजिक सस्थाले गरेको थियो ।

Advertisement