April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

बराहक्षेत्र प्याब्सनको पाँचौ खेलकुद सप्ताह सम्पन्न, ६ स्वर्णसहित सिद्धार्थ बन्यो स्कुल च्याम्पियन

2.6K

प्रकाश दिप्साली राई

नडाहा । ‘पाँचौ बराहक्षेत्र प्याब्सन खेलकुद सप्ताह–२०७९’ सम्पन्न भएको छ । गत मङ्सिर १७ बाट सुरु भएको अर्को सस्करणमा भेट्ने वाचाका साथ आइतबार सम्पन्न भएको हो ।

सप्ताहमा ६ स्वर्ण, ४ रजत, ३ कास्यसहित सिद्धार्थ मेमोरियल इङ्लिस स्कुल पदक तालिकाको शीर्षस्थानमा रहँदै स्कुल च्याम्पियन बनेको छ । यस्तै दोश्रो स्थानमा मुनविम स्कुल रह्यो । उसले ३ स्वर्ण, दुई रजत पदक जित्न सफल रह्यो । तेस्रो स्थानमा भने पिसफुल एकेडेमी रह्यो । उसले आधारभूत तर्फको फुटबलसहित ३ स्वर्ण प्राप्त गर्न सफल भयो भने २ स्वर्ण र दुई रजतका साथ राजावास सेकेन्डरी स्कुल चौथो स्थानमा रहन सफल भयो । उक्त खेल सप्ताहमा प्राथमिक (४–५), आधारभुत तह र माध्यमिक तह गरी ३ तहबीच प्रतिष्पर्धा गराइएको थियो । प्रतिष्पर्धामा सय मिटरको दौड, सट्पुट, लङ्जम्प, ज्याब्लिङ थ्रो र फुटबल गरी ५ वटा खेल समावेश गराइएको थियो ।

Advertisement

समापनको दिन आधारभूत तह र माध्यमिक तहको फुटबलको फाइनल खेलमा पिसफुल एकेडेमी, बराहक्षेत्र –५ र बराहराइजिङ स्टार स्कुल, बराहक्षेत्र –२ ले स्वर्ण पदक चुम्न सफल भयो । प्राथमिक तहको खेलमा पिसफुलले आइरिस बराह एकेडेमीलाई ३–०ले पराजित गर्यो भने अर्को खेलमा बराह राइजिङ स्टारले गत वर्षको विजेता सिद्धार्थ मेमोरियल इङलिस स्कुललाई १–० ले पराजित गर्दै उपाधी कब्जा गर्यो । हरेक विधाका पदक विजेताहरुलाई स्थानीय बुद्धिजीवी, समाजसेवी तथा अतिथिहरुले मेडल, ट्रफी प्रदान गरेका थिए भने फुटबलतर्फका विजेता स्कुलहरुलाई कार्यक्रमक प्रमुख अतिथि, विशेष अतिथिहरुले प्रमाणपत्र, मेडल ट्रफिका साथमा नगद पुरस्कार प्रदान गरेका थिए । सोही अवसरमा यसै प्रतियोगिताहरुले उत्पादन गरेको खेलाडीहरु धाविका नेहा चौधरी र फुटबल खेलाडी अमर श्रेष्ठलाई राष्ट्रिय स्तरसम्म पुग्न सफल भएको भन्दै बराहक्षेत्र प्याब्सनले सम्मान पनि गरेको थियो । फुटबल खेलको माध्यमले बराहक्षेत्रको नामलाई उच्च बनाएको भन्दै मनाङ मर्स्याङ्दी क्लबका स्ट्राइकर निशान लिम्बुलाई पनि सम्मान गरिएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि प्रदेशसभा सदस्य विजयकुमार राईले बराहक्षेत्र प्याब्सनको गतिविधिले प्रभावित रहेको भन्दै आगामी दिनमा अन्य खेलका विधाहरु थप्न सुझाव दिए । उनले भने ‘विद्यालयका यस्ता गतिविधिले नै भविष्यका अब्बल र सफल खेलाडीहरु उत्पादन हुनेहुँदा यस्ता अतिरिक्त कृयाकलापको महत्व रहेको छ । यसैले आउने दिनमा अरु खेलहरु पनि थप्नुहोस् । यस्ता गतिविधिमा अन्यभन्दा निजि विद्यालयहरु क्रियाशील रहेको छ । जसलाई हरेक निकायले उच्च मुल्यांकन गरिरहेको छ । यसर्थ यस्ता क्रियाकलापहरु प्रशंसनीय छ ।’

एभरेस्ट फुटबल क्लबको खेल मैदान नडाहामा सन्चालित सो सप्ताहको समापन कार्यक्रममा बराहक्षेत्र प्याब्सनका अध्यक्ष कृष्ण तामाङ सभाध्यक्ष रहेका थिए भने कार्यक्रमलाई बराहक्षेत्र प्याब्सनका सचिव खेम राईले सन्चालन गरेका थिए ।

पदक तालिका

कार्यक्रमका अन्य तस्वीरहरु