मकवानपुर । मकवानपुरको उत्तरी क्षेत्रमा रासायनिक मल नपाएपछि किसानहरु आन्दोलनमा उत्रेका छन् । आलु लगाउने समय नजिकिँदै गर्दा मलको अभावका कारण चिन्तित बनेका थाहा नगरपालिकाको किसान आन्दोलनमा उत्रिएका हुन् । मलको सहज आपूर्ति गर्न थाहा नगरपालिकाका किसान आन्दोलन संघर्ष समितिले आज बिहीबार नगरपालिकामा ध्यानाकर्षण पत्र बुझाएको छ ।
नेपाल कृषि प्रधान देश भएपनि विगत केही बर्षदेखि मलको अभाव हुने गरेको छ । आधुनिक कृषि प्रणाली र व्यवसायी रुपमा किसान आत्मनिर्भर हुनुपर्ने अवस्थामा उन्नत जातको बीउ, मल र बजार व्यवस्थापन जस्ता सामान्य कुरामा समेत राज्य संवेदनशील हुन नसक्दा मुलुक भरका किसान मर्कामा परेको ध्यानाकर्षण पत्रमा उल्लेख छ । राज्य किसानप्रति जवाफदेही नहुँदा सरकारबाट निश्चित मुल्य निर्धारण गरिएका युरिया, डिएपि जस्ता मलहरू तेब्बर मुल्य तिरेर खरिद गर्नुपर्ने बाध्यता रहेको उनीहरुले आरोप लगाएका छन् ।
ध्यानाकर्षण पत्रमा भनिएको छ, “मकवानपुरको उत्तरी क्षेत्रमा माघ महिनाको पहिलो हप्तादेखि आलु लगाउनुपर्ने सिजन प्रारम्भ हुन्छ । आलुको लागि प्रति किसान ६ बोरादेखि १५ बोरासम्म मल आवश्यक पर्छ । समानुपातिक मल वितरणको नियमले प्रतिकिसान १० किलो मल मात्रै प्राप्त हुन्छ । जुन आलु बालीको लागि प्रयाप्त होइन ।” मल आएपछि त्यसको बाडफाँड आवश्यकता र ओैचित्यको आधारमा गर्नुपर्ने उनीहरुको माग छ । किसानको समस्यालाई मध्यनजर गरी थाहा नगरपालिकाले आम किसानको हकहितको निमित्त काम गरोस् भन्दै संघर्ष समितिको संयोजक लक्ष्मण बर्तौलाले उक्त ज्ञापनपत्र वाचन गर्दै नगर प्रमुख बिष्णुबहादुर बिष्टलाई ज्ञापनपत्र बुझाएको हो ।
बर्तौलाको नेतृत्वमा थाहा नगरपालिका वडा नम्बर ३ बाट प्रारम्भ भएको आन्दोलनमा आसपासका जनसमुदायको व्यापक उपस्थिति रहेको थियो ।आन्दोलनलाई सम्बोधन गर्दै लक्ष्मण बर्तौलाले भने– यो आरम्भ हो अन्त्य होइन । किसानको माग र मुद्दालाई सम्बन्धित निकायले संवेदनशील ढंगले नहेरी बेवास्ता गरे आन्दोलन थप चर्कने र देशव्यापीरूपमा थप अन्य कार्यक्रम घोषणा गरिने जानकारी दिए । किसानहरूको माग जाहेज रहेको र सो अभियानमा नगरपालिकाको समेत ऐक्यबद्धता रहेको कुरा मेयर बिष्णुबहादुर बिष्टले किसानहरूलाई बताएक थिए ।