November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

ओलीको दाबी : एमालेको एकल बहुमत आउँछ

२०७९ कार्तिक २१

1.7K

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा एमालेले एकल बहुमत ल्याउने दाबी गरेका छन् ।

सोमबार पोखरामा आयोजित कार्यक्रममा उनले आगामी निर्वाचनमा कांग्रेसभन्दा धेरै ठूलो पार्टी बन्ने बताए । उनले एमालेले एकल बहुमत ल्याए पनि अहिले तालमेल गरेका दलहरुलाई भने सरकारमा सामेल गराउने बताए ।

सत्ता गठबन्धनले आफूलाई संविधान मास्न खोजेको आरोप लगाए पनि अदालतबाट सरकार बनाउने आदेश ल्याएर उनीहरूले नै संविधानमाथि प्रहार गरेको ओलीको भनाइ थियो । उनले अदालतले परमादेशमार्फत प्रधानमन्त्री नियुक्त गरेर असंवैधानिक कार्य गरेको भन्दै आगामी निर्वाचनले अदालतको उक्त गल्ती सच्याउने काम गर्ने बताए ।

Advertisement

दुई दुई पटकको संसद विघटन गलत कदम भएको स्वीकार गर्दै उनले विघटन गर्दा संविधानको कुनै धारा नकुल्चिएको जिकिर गरे । तत्कालीन नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालका कारण ताजा जनादेशमा जानुपरेको उनको भनाइ थियो ।

अध्यक्ष ओलीले सत्ता गठबन्धनभित्र कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष दाहालबीच प्रधानमन्त्रीको विषयलाई लिएर संघर्ष सुरु भइसकेकाले निर्वाचनको परिणामसँगै गठबन्धन टुट्ने दावी गरे । उनले गठबन्धनलाई अबको प्रधानमन्त्री को हो खुलाउन चुनौति समेत दिए ।