काठमाडौं । प्रतिधिसिभा र प्रदेशसभा निर्वाचनका लागि पर्सामा एमाले र जसपा गठबन्धन संयुक्त रुपमा घरदैलो, गोष्ठी, भेला, बैठक गरिरहेको छ ।
बुधबार पर्साको पोखरिया नगरपालिकामा राखिएको क्षेत्रीय बैठकमा एमाले र जसपाका उम्मेदवार र नेताहरु सहभागी थिए ।
सम्बोधनका क्रममा जसपा नेता प्रदीप यादवले ‘जय मधेस’को अभिभावदन गरे। तर उपस्थित दर्शकहरु चुपचाप बसे। ‘सबै जना सुस्ताइसके जस्तो छन्। अहिले नै सुस्त हुनुभयो भने चुनाव कसरी जिताउनुहुन्छ ?’ नेता यादवले भने ।
दर्शकको तर्फबाट एमाले कार्यकर्ताले जवाफ फर्काए, ‘लाल सलाम’ बोल्नुभएन, ‘लाल सलाम’ भनेपछि मात्रै मान्छन् सबै। अर्को चिच्याए । ‘ओ मन्त्रीजी तपाईले ‘लाल सलाम’ नै भन्नुभएन। त्यसैले गडबडाएको हो।’
नेकपा एमाले लगायत कम्युनिष्ट पार्टीका नेता कार्यकर्ताले एक अर्कालाई अभिभावदन गर्दा ‘लाल सलाम’ भन्ने गरेका छन् ।त्यसपछि नेता यादवले ‘अच्छा ‘लाल सलाम’ भने । तालीको गडगडहाट अघिकोभन्दा ठुलो आयो ।
एमाले कार्यकर्ताले लाल सलाम भन्नुपर्छ भनेर सम्झाउन खोजेका थिए । तर नेता यादवले मधेसमा छौं भने सबै यसमा ‘जय मधेस’ मा आउँछ भनेर प्रष्ट्याए। ‘मधेसको भित्र सबै आउँछ होलसेलमा’ उनले भने।
कार्यकर्ताको तर्फबाट ‘भोटको नारा छ अहिले’ भनेर जवाफ आयो। त्यसपछि नेता यादवले ‘ए ठिक छ धन्यवाद’ भने, अनि बोल्न थाले।
जसपा नेताहरुलाई धेरैले सोध्ने गरेका छन्, एमालेको सुरुदेखि विरोधी पार्टी जसपा थियो, कसरी गठबन्धन भयो रु तर उपेन्द्र यादवसँग सुझबुझ र दूरगामी सोचका कारण जसपालाई थ्रेस होल्ड कटाउनबाट रोक्ने षड्यन्त्र विफल भएको नेता प्रदीप यादवले दावी गरे।
‘मधेसको आवाज उठाउने जसपा पार्टीको चुनावपछि नामोनिसान मेटाउन खोजिएको थियो। एमालेसँग गठबन्धन गरेपछि अस्तित्व अगाडि बढेको छ। यो दुवै दलको आवश्यकता र चाहाना थियो’ उनले भने, ‘थ्रेस होल्ड नकटोस्, ३ प्रतिशत भोट नकटोस् भनेर कांग्रेस, माओवादी नेताहरुले षड्यन्त्र गरेका थिए। ११ भन्दा बढी सिट नदिने। त्यो डिजाइनलाई भत्काउन सफल भएका छौं।’
कांग्रेसबाट पीडितहरु नै एमाले र जसपा बनेको बताउँदै उनले यसपटकको चुनावमा कांग्रेसलाई पछार्ने दावी गरे। यो खबर नेपाल टपले लेखेको छ ।