काठमाडौं । डलर अर्बपति तथा चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीको यतिबेला दिनचर्या फेरिएको छ । उनी व्यापारलाई केही समय थाँती राखेर उनी मतदातको घरदैलोमा पुगिरहेका छन् । नवलपरासी निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार बनेका चौधरीले ग्रामीण तथा विपन्न बस्तीमा खिचेको र टीशर्ट लगाएर मोटरसाइकल पछाडि बसेको फोटो सामाजिक सञ्जालमा पोष्ट भएपछि दुई दिन यता चर्चामा छन् ।
उनले फेसबुकमा लामो स्टाटससहित उक्त फोटो पोष्ट गरेका हुन् । उनले अघि बढिसकेका पाइलाहरु अब नथाक्ने र नरोकिने भन्ने सन्देश दिएका छन् । हिजो अप्रत्यक्ष र आज प्रत्यक्ष रुपमा जनताको घर आँगनमा पुगेको उनको दावी छ ।
उनले भनेका छन्,‘मेरो क्षेत्र अहिले नवलपरासी पश्चिम जहाँ सुस्ता लगायतका ठाउँमा डुबानको समस्या छ, पानीको सट्टा बालुवा आउँछ, केरा र उखुको राम्रो उत्पादन छ तर किसान सधैँ समस्यामा छन्। किसानले पसिनाको मूल्य पाउन सकेका छैनन्। त्यो समस्या समाधान गर्न सक्छु भन्ने विश्वास छ।’
तर मोटर साइकल यात्राको विषयमा भने विभिन्न टिकाटिप्पणी भइरहेको छ । बधाई र रोषका शब्दहरुले उनको कमेन्ट बक्स भरिएको छ । विकास श्रेष्ठले आफ्नै उद्योग रहेको क्षेत्रका निमुखा नागरिक र झुपडीमा उभिएर फोटो खिच्दै भोट माग्न अलिकति लाज लागेन ? भनेर सोधेका छन् । उनले लेखेका छन्, ‘समस्या त विगतदेखि थियो । तपाईं एउटा समाजसेवी र उद्योगपति भएका नाताले ती क्षेत्रमा सुधार ल्याउन तपाईं नै नेतृत्व तहमा पुग्नुपर्छ भन्ने पनि छैन नि !’
जनताको नाममा सुको खर्च नगर्ने भन्दै उमेशकुमार रोकायाले जवाफ दिएका छन् । रोकायाले आफ्नो पेट्रोल सकिन्छ भनेर अर्काको बाइकमा धनी हुने भूत कति धेरै ? भनेर लेखेका छन् । उनले अगाडि लेखे, ’तपाईंको कुनै भिजन र एजेण्डा छैन । तपाईं राजनीति नगर्नुहोस् । किनकि तपाईंको आवश्यकता छैन ।’ दुर्गेश ओझाले उनको फोटो र स्टाटसमा कमेन्ट गर्दै आपत र अप्ठेरोमा जनता र मुलुकलाई निचोर्ने व्यक्ति ठहर्याएका छन् ।
सँधै रवाफिलो पाराले दैनिकी बिताएका चौधरीले हालेको फोटोमा धेरैले व्यङ्ग्य पनि गरेका छन् । सुनिल लामिछाने धन्न साइकलमा निस्किनु भएन,फोटो चाँहि ल्याण्डक्रुजरवाला होला है ? भनेका छन् । चौधरीको कालो धनको प्रसंगमा अमर पोखरेल लेख्छन्, ‘तपाईंले राजनीति किन गर्नु परेको ? मनी लण्डरिङको लागि हो ?’
हुनत चौधरीले केही बर्षअघि देखि नै नवलपुरमा पार्टीको राजनीतिक कार्यक्रममा बढाएका थिए । ‘समृद्धि र विकास’ को एजेण्डा बोकेर राजनीतिमा होमिएका चौधरी जिल्लामा पार्टीका स्थानीय कार्यक्रममा सक्रिय थिए । निरन्तर जिल्ला आवतजावत गर्दै आएका कांग्रेस नेता चौधरीले पार्टीको स्थानीय कमिटीका पदाधिकारीसँगै निर्वाचित जनप्रतिनिधिसँग नवलपुरको विकासका बारेमा निरन्तर छलफलमा थिए । हाल पार्टीले टिकट दिएपछि मत माग्दै घरदैलो गरिरहेका छन् । उनी तडकभडक बिनै आफ्नो चुनावी प्रचारलाई तिब्रता दिइरहेका छन् ।