November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

कवि अजित उत्सव युएईमा सम्मानित, कार्यक्रममा विभिन्न आठ पुस्तक लोकार्पण

3.1K

युएई । युवाकवि अजित उत्सव युएईमा सम्मानित भएका छन् । उनलाई सोमबार सिर्जना वाचन डबलीले एक कार्यक्रमको आयोजना गरि युएईको दुबईमा सम्मान गरेको हो ।

सिर्जना वाचन डबलीको २१ औँ शृङ्खलामा श्रष्टा सम्मानका साथै पुस्तक विमोचन र रचना वाचन एकसाथ आयोजना गरिएको थियो । कार्यक्रममा अजित उत्सवको कवितासंग्रह आकाशगङ्गाको किनार, प्रदिप रोदनको गजल कृति मफलर, कमल संघर्षको खुडी, राजेन्द्र तारकिणीको कवितासंग्रह बिगनरामको मादल, लिली अधिकारीको कवितासंग्रह पहराको फूल, टुका देवी पौडेल आचार्यको लघुकथा संग्रह बार्दली, दीप मिलनको गजलसंग्रह सलेदो, र रोशन तिमल्सिनाको कवितासंग्रह चिरिएका पैतालाको लोकार्पण गरिएको थियो ।

कार्यक्रममा बोल्दै डबलीका संयोजक जे सागरले युएईमा स्थापित कवि उत्सवलाई सम्मान गर्न पाउँदा खुशी लागेको बताए । सम्मानित व्यक्तित्व कवि उत्सवले यो सम्मानले आफूमा अझ जिम्मेवारी बढेको महसुस भएको बताए ।

Advertisement

कार्यक्रममा शताब्दी वाङ्मय पुरुष सत्यमोहन जोशीको निधनमा उनको जीवनीमाथी चर्चा गर्दै एक मिनेट मौन धारण गरिएको थियो ।

कार्यक्रम कवि÷गजलकार भवानी नेपालले सन्चालन गरेको उक्त कार्यक्रममा प्रमुख अतिथि शारदा अधिकारी र विशेष अतिथिहरुमा शिक्षाविद नवराज भट्ट, समाजसेवी एवम् लालीगुराँस फुटबल क्लब दुबईका संरक्षक कूल लेप्चा र अजित उत्सव थिए । सम्मानित कवि उत्सव सगरमाथा साहित्य प्रतिष्ठान अध्यक्ष पनि हुन् । कार्यक्रममा लोकार्पण गरिएका कृतिहरुबाट रचना वाचन साथै एक दर्जन कवि गजलकारहरुले आफ्ना रचना वाचन पनि गरेका थिए ।