काठमाडौं । नेपालमा डेंगी महामारी नियन्त्रण बाहिर गएको छ । देशभर डेंगी संक्रमित २१ हजार नाघेका छन् । कडा खाले डेंगी लागेसँगै अहिलेसम्म सरकारी तथ्याङ्कअनुसार २७ जनाको मृत्यु भइसकेको छ ।
पछिल्लो केही हप्तादेखि डेंगीका बिरामी गम्भीर लक्षण लिएर अस्पताल पुग्ने गरेका छन् । अर्थात् डेंगीले कडा रुप लिँदै गएको छ । अहिले उपत्यकाका हरेक जसो अस्पतालमा डेंगीका बिरामीहरु रहेका छन् । त्यस्तै तराई भेगमा पनि हरेक अस्पतालमा डेंगीका बिरामीहरु रहेका छन् ।
अस्पतालमा पुग्ने बिरामीहरु गम्भीर स्वास्थ्य समस्या लिएर पुग्ने गरेका छन् । कोरोना भाइरसका लक्षणजस्तै देखिँदै आएकामा पछिल्ला केही दिनदेखि भने बिरामी बेहोस हुने र रक्तश्रावसमेत हुने गरेको छ ।
सरुवा रोग विशेषज्ञ डा शेरबहादुर पुनले पनि अस्पतालमा आउने अधिकांश बिरामी भएको पाँच–छ दिनपछि गम्भीर स्वास्थ्य समस्या लिएर आउने गरेको बताएका छन् । उनले पहिले डेंगी भइसकेका बिरामीलाई दोस्रो पटक डेंगी हुँदा कडा खालको लक्षण देखिएको बताए ।
बिरामीलाई गाह्रो नपरी अस्पताल नजाने भएकाले पनि समस्या बढेको चिकित्सकहरुको भनाइ छ । पहिले ज्वरो आएर सिटामोल खाएर निको भइसकेको बिरामीलाई केही दिनपछि झन् कमजोर गर्दै लगेको उनीहरुको बुझाइ छ । पछिल्लो समय बान्ता हुँदा, खोकी लाग्दा, गिँजा–नाकबाट रगतसमेत देखिन थालेको छ ।
निकै खतरनाक शैलीले डेंगी फैलदासमेत सरकारले भरपर्दो कदम चाल्न सकेको छैन । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले भने स्वास्थ्य मन्त्रालयमा डेंगी प्रकोप घोषणा गर्ने सम्बन्धमा प्रस्ताव पठाइसकेको छ । सरकारले ‘लामखुट्टे खोज र नष्ट गर’ अभियान ल्याएको छ ।