लण्डन् । नागरिकता विधेयकलाई राष्ट्रपति विद्यादेवी भण्डारी प्रमाणीकरण गर्न अस्वीकार गरेपछि विदेशमा रहेका संघसंस्थाहरुले आ–आफ्ना धारणा सार्वजनिक गरेका छन् ।
यसैबीच नेपाली जनसम्पर्क समिति बेलायत (एनपीसीसी यूके)ले एक विज्ञप्ति जारी गर्दै राष्ट्रपतिको पछिल्लो कदमको निन्दा गरेको छ ।
समितिका सभापति युवराज गुरुङले मंगलवार साँझ एक विज्ञप्ति जारी गर्दै दुवै संसदबाट पारित भएर दोस्रोपटक आएको विधेयकलाई १५ दिन भित्र प्रमाणीकरण गर्नै पर्ने संवैधानिक दायित्वबाट राष्ट्रपति भण्डारी पछि हट्नु नेपालको संविधानको ठाडो उल्लंघन भएको बताएका छन् ।
बिज्ञप्ति मार्फत पाँच लाखभन्दा बढी नेपालीहरुलाई नागरिकताविहीन बनाउने राष्ट्रपतिको पछिल्लो कदमको निन्दा गरिएको छ ।
जनसम्पर्क समितिले नागरिकता विधेयक प्रमाणीकरणपछि गैर–आवासीय नेपाली नागरिकता लिनको लागि प्रतिक्षारत भूतपूर्व गोर्खा तथा विदेशमा बस्ने नेपालीहरुलाई राष्ट्रपतिको पछिल्लो निर्णयले दुखी बनाएको जनाएको छ ।
विज्ञप्तिमा ‘संविधानको धारा ११४ को उपधारा ४ मा राष्ट्रपतिले कुनै विधेयक सन्देश सहित फिर्ता गरेमा त्यस्तो विधेयकमाथि दुवै सदनले पुनर्विचार गरी त्यस्तो विधेयक प्रस्तुत रूपमा वा संशोधनसहित पारित गरी पुनः पेस गरेमा त्यसरी पेस भएको १५ दिनभित्र राष्ट्रपतिले प्रमाणीकरण गर्नेछ भन्ने संविधानको यो बाध्यकारी व्यवस्थालाई राष्ट्रपतिले उल्लंघन गर्दै भण्डारी पूर्वराज ज्ञानेन्द्र शाहकै शैलीमा संविधान आफ्नो हातमा लिएर शक्ति संचित गर्न खोज्नु लोकतन्त्रको लागि खतराको संकेत हो’ भनिएको छ ।
त्यसैले राष्ट्रपति संविधानको संरक्षक हुने संवैधानिक व्यवस्थालाई समेत वेवास्ता गर्दै भण्डारीले गरेको पछिल्लो गलत निर्णयका बिरुद्ध एकजुट भएर नेपालको संविधान र लोकतन्त्रको स्थायित्वको लागि ऐक्यबद्ध हुन् विश्वभर छरिएका नेपाली समुदायप्रति नेपाली जनसम्पर्क समिति हार्दिक अपिल गरेको छ ।