काठमाडौं । संविधान दिवसलाई राष्ट्रिय दिवसका रुपमा मनाउन नेकपा एमालेले काठमाडौंमा वृहत वाकथन (पदयात्रा) गरेको छ । सवारी आवागमनलाई असर हुनेगरी गरिएको पदयात्रालाई एमालेले शक्ति प्रदर्शनको रुपमा लिएको छ ।
पदयात्रा बिहान ७ बजेबाट उपत्यकाका बानेश्वर, मैतिदेवी, लैनचौर, कालिमाटी र ललितपुरको कुपण्डोलबाट शुरु भएको थियो । पदयात्रा अव्यवस्थित हुँदा राष्ट्रिय झण्डा सडकमा असरल्ल छरिएका थिए । राष्ट्रप्रेमी भाव प्रकट गर्न पार्टीको झण्डा र राष्ट्रिय झण्डा सँगै बोकेर आएका कार्यकर्ताले झण्डाहरु सडकमै छाडेर जाँदा यात्रुहरुले कुल्चिदै हिंडेको देखिन्थ्यो ।
पदयात्रामा एमाले अध्यक्ष केपी ओली, अध्यक्ष ओलीकी धर्मपत्नी राधिका शाक्य, महासचिव शंकर पोखरेल, उपाध्यक्ष एवं संविधान सभा अध्यक्ष सुवासचन्द्र नेम्वाङ, उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलगायत सयौं नेता कार्यकर्ता उपस्थित थिए ।