काठमाडौं । काठमाडौंको नयाँ बानेश्वरस्थित एभरेस्ट अस्पतालले मध्यम तथा न्युन आय भएका बिरामीहरुलाई सेवा पु¥याउने उद्देश्यले जनरल वार्ड सञ्चालनमा ल्याएको छ । यस वार्डमा विशेषज्ञ डाक्टरसहितका स्वास्थ्यकर्मी चौबिसै घण्टा बिरामीको सेवामा खटिरहेका छन् ।
बढ्दो डेंगु संक्रमणलाई मध्यनजर गर्दै जनरल वार्ड सञ्चालनमा ल्याइएको अस्पतालका निर्देशक तथा प्रशासकीय प्रमुख दीपकचन्द्र बरालले बताए । ‘‘सर्वसाधारणलाई उपचारमा आर्थिक समस्या नहोस् भनेर हामीले जनरल वार्ड सञ्चालनमा ल्याएका हौँ,’ बरालले भने, ‘यहाँ अति न्युन शुल्कमा बिरामी भर्ना हुनसक्छन् । आर्थिक अवस्था कमजोर भएकालाई उपचारमा थप सहुलियत तथा अति विपन्नलाई निशुल्क उपचार पनि गर्छौँ । उपचार नपाएर कोही मर्नु हुँदैन भन्ने हाम्रो मान्यता हो ।’’
एभरेस्ट अस्पतालमा डा. नीरज नेपाल, डा. निमेष पौडेल, डा. सरोज गौडेल, डा. रामनारायण शाह, डा. प्रताप नारायण शाह, अदिप श्रेष्ठलगायत वरिष्ठ चिकित्सक तथा स्वास्थ्यकर्मी सम्मिलित मेडिकल टिमले डेंगुको उपचार गरिरहेको छ । एभरेस्ट अस्पतालमा परीक्षणका लागि आएकामध्ये ६० प्रतिशतभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएको निर्देशक बरालले बताए । ‘‘हाम्रोमा यस महिना भदौ १ गतेदेखि अहिलेसम्म १ हजार ६० जना डेंगु परीक्षणका लागि आएकोमा ८ सय २३ जनामा सङ्क्रमण देखिएको छ,’’ बरालले भने, ‘‘डेंगु प्रकोपकै रूपमा देखिएकाले सर्वसाधारणलाई धेरैभन्दा धेरै सुविधा कसरी प्रदान गर्न सकिन्छ भन्नेमा हाम्रो ध्यान केन्द्रित छ।’’ यसअघि कोभिडको समयमा पनि अस्पतालले बिरामीहरूलाई यसरी नै सर्वसुलभ सेवा उपलब्ध गराएको थियो ।
‘‘देशमा भैपरी आएका बेला तथा महामारीका रूपमा स्वास्थ्य समस्या आएका बेला हामी यसरी नै सक्रिय हुन्छौँ,’’ बरालले भने । कोभिड महामारीमा बिरामीको अत्यधिक चापपछि अस्पतालले आफ्ना ओपिडी कक्षलाई समेत जनरल वार्डमा बदलेर सेवा दिएको थियो ।’’ त्यतिबेला अन्य रोगका बिरामी थिएनन् । कोभिडका बिरामीको चाप थेगिनसक्नु भएपछि हामीले ओपिडीलाई नै जनरल वार्डमा बदलेर पनि सबैको उपचार गरेका थियौं, अस्पताल आएका बिरामीलाई उपचार गरेर मात्रै पठाउनुपर्छ भन्ने हाम्रो मान्यता हो,’’ उनले भने,’’ हाम्रा चिकित्सक तथा स्वास्थ्यकर्मी पनि चौबिसै घण्टा खटिनुभएको छ ।’’
सरकारले डेंगुको परीक्षण निशुल्क गर्न सके धेरैभन्दा धेरै बिरामी उपचारको दायरामा आउने र महामारी नियन्त्रणमा सहयोग पुग्ने उनले बताए । त्यस्तै, वडास्तरमा लामखुट्टेको लार्भा खोज्ने र नष्ट गर्ने अभियानलाई पनि प्रभावकारी रूपमा सञ्चालन गर्नुपर्ने उनको सुझाव छ ।