November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

एक लाख १५ हजार म्यादी प्रहरीका लागि जागिर खुल्यो, यस्तो छ तलब सुविधा

2.1K

काठमाडौं । नेपाल प्रहरीले प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनको लागि म्यादी प्रहरीको लागि भर्ना खुला गरेको छ। दरखास्त फाराम सबै जिल्ला प्रहरी कार्यालयमा उपलब्ध गराइनेछ ।

प्रधान कार्यालय मानव श्रोत विकास विभागको भर्ना छनौट शाखाले म्यादी प्रहरी भर्ना छनौट, नियुक्ति तथा परिचालन सम्बन्धी मापदण्ड, २०७९ अनुसार एक लाख १५ हजार म्यादी प्रहरीका लागि दरखास्त आह्वान गरेको हो।

इच्छुक नेपाली नागरिकले भदौ ३० गतेदेखि असोज ६ गतेसम्म सार्वजनिक बिदाको दिन समेत दरखास्त बुझाउन सक्नेछन् । आवेदक दरखास्त फारम दर्ता गर्ने अन्तिम मितिसम्म १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेको हुनुपर्नेछ।

Advertisement

म्यादी प्रहरी छनोटमा स्थानीय तह वा प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचन २०७४ वा स्थानीय तह निर्वाचन २०७९ को निर्वाचनमा म्यादी प्रहरीका रूपमा भर्ना भई सन्तोषजनक काम गरेका व्यक्तिहरू, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपालमा कार्यरत रही निवृत्तिभरण वा उपदान प्राप्त पूर्व सुरक्षाकर्मीहरू तथा पूर्व वन रक्षकहरू, सुरक्षा निकाय (नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपाल) मा विभिन्न पदमा २०७९ साल भदौ महिनासम्म भर्नाका लागि आवेदन दिई शारीरिक तन्दुरुस्ती र स्वास्थ्य परीक्षणमा उत्तीर्ण भई प्रवेश पत्रको प्रतिलिपि पेश गर्ने व्यक्तिहरू र विदेशी मित्र राष्ट्रका सुरक्षा निकायहरूमा काम गरी सेवा निवृत्त नेपाली नागरिकलाई प्राथमिकता दिइने प्रहरीले जनाएको छ।

म्यादी प्रहरीको कार्य अवधि ४० दिनको हुने छ। प्रतिदिन ८६९ का दलले ३४ हजार ७६० रुपैंया पारिश्रमिक हुने सूचनामा उल्लेख छ। त्यस्तै, खाद्यान्न बापत ७ हजार २ सय हुने र हिमाली जिल्लामा खटिने म्यादी प्रहरीको हकमा जिल्लाको न्यूनतम राशन दररेट अनुसारको रकम पाउने जनाइएको छ।

त्यस्तै, पोशाक तथा अन्य सामान खरिदका लागि प्रतिव्यक्ति ६ हजार उपलब्ध हुनेछ। हिमाली जिल्लामा खटिने म्यादी प्रहरीहरुलाई ज्याकेट खरिदका लागि थप १ हजार उपलब्ध हुनेछ।

निर्वाचनका क्रममा खटिने म्यादी प्रहरीहरुलाई खटिएको ठाउँमा आउने र जाने तयारी स्वरुप प्रति म्यादी प्रहरी १ हजार का दरले तयारी खर्च उपलब्ध हुनेछ भने ३ सयका दरले ४ दिनका लागि खाजा खर्च उपलब्ध हुनेछ।