April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

नेविसंघ पूर्णताको माग, तत्काल अधिवेशन गर्न दबाब

1.9K

काठमाडौं । नेपाली काँग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघ केन्द्रीय समितिले सोमबार त्रिचन्द्र कलेजमा ‘जहाँ विद्यार्थी, त्यहाँ नेविसंघ’ उपत्यका स्तरीय अगुवा कार्यकर्ता भेला गरेको छ।

संघको कार्यसमिति पूर्णता, त्रिभुवन विश्वविद्यालय लगायत विभिन्न विश्वविद्यालय र क्याम्पसहरूमा रहेका शैक्षिक समस्या र आन्दोलन साथै मंसिर ४ गरेको संघ र प्रदेशको निर्वाचनको सन्दर्भमा केन्द्रीय समितिको आयोजनामा अगुवा कार्यकर्ताहरुको भेला गरी अन्तर्क्रिया गरिएको थियो। उपस्थित अधिकांश विद्यार्थी नेताहरुले यथाशीघ्र नेविसंघको पूर्णता गरी क्याम्पस र विश्वविद्यालयका अधिवेशनको माग गरेका थिए।

संघका तत्कालीन अध्यक्ष राजीव ढुंगाना पार्टीको १४औं महाधिवेशन बाट केन्द्रीय सदस्य निर्वाचित भएपश्चात नेपाली कांग्रेसले दुजाङ शेर्पालाई गत चैत्र ९ गते नेपाल विद्यार्थी संघको अध्यक्ष चयन गरेको थियो। नेपाली कांग्रेस केन्द्रीय समितिको बैठकले श्रावण मसान्त भित्र समिति गठन गर्ने निर्णय गरे पनि हालसम्म समिति विस्तारमा चासो नदेखाएको बारे पूर्व केन्द्रीय सदस्य पुजन गन्धर्वले आक्रोश व्यक्त गरे।

Advertisement

संघको केन्द्रीय समितिले पूर्णता नपाएकाले विगत लामो समय देखि रिक्त रहेका र विवादित रहेका क्याम्पस, विश्वविद्यालय र जिल्ला समितिहरुको अधिवेशन गर्न कठिन भएको र सम्पूर्ण संरचना निष्क्रिय जस्तै रहेको र विद्यार्थी राजनीति नै कमजोर अवस्थामा पुगेको बारे चिन्ता व्यक्त गरे।

कार्यक्रममा संघका पूर्व सहमहामन्त्री प्रेम जोशी, जनप्रशासन क्याम्पसका स्ववियू सभापति पंकज क्षेत्री, त्रिचन्द्र कलेजका नेता दिनेश शाही, महाराजगन्ज मेडिकल कलेजका अध्यक्ष डा.सन्तोष उपाध्याय लगायत विद्यार्थी नेताहरुले बोलेका थिए। संघका अध्यक्ष दुजाङ शेर्पाले दशैं पहिले नै कुनै पनि हालतमा नेविसंघको समितिले पूर्णता पाउने र आफूले हर प्रयास गरिरहेको भनेका थिए।

त्रिभुवन विश्वविद्यालय भित्रको विकृति, विसंगतिको अन्त्य गर्न नेविसंघको आन्दोलन रहेको जनाउँदै नेविसंघ विद्यार्थीको भविष्यसँग जोडिएको शैक्षिक मुद्दाहरुमा सदैव अग्र मोर्चामा रहने र आन्दोलनमा उत्रिने चेतावनी दिएका थिए।