काठमाडौं । डाक्टर भगवान कोइरालाको पुस्तक ‘हृदय’ को मूल्य २५ हजार तोकिएपछि मूल्यका विषयमा विभिन्न टिकाटिप्पणी हुन थालेको छ ।
डा.कोइरालाको पहलमा बन्न लागेको अस्पताल ‘काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ’ (किओच) निर्माणमा सहयोगस्वरूप उक्त पुस्तकको मुल्य २५ हजार तोकिएको पुस्तक प्रकाशक फाइन प्रिन्टले जनाएको छ। तर पुस्तकको मूल्य सामान्य पाठकहरुका लागि नभएको भन्दै केही व्यक्तिहरुले विरोध जनाएका छन् ।
भदौ २५ गते लोकार्पण हुने २५ सय थान पुस्तकको विशेष संस्करणको पूरै रकम लागत नकटाइ सीधै अस्पताललाई जाने फाइनप्रिन्टले उल्लेख गरेको छ। ‘नवीनता र गुणात्मकताका दृष्टिले कोइरालाको पुस्तक ‘हृदय’ नेपाली प्रकाशनको इतिहासमा नौलो मानिएको छ ।
तर विशेष संस्करण निस्किएको एक सातापछि पुस्तकको नियमित संस्करण पनि निस्कने छ। यसको मूल्य भने पाँच सय ७५ रुपैयाँ तोकिने भएको छ । नियमित संस्करणको बिक्रीपछि आउने रकमको ५० प्रतिशत लेखक स्यमले पनि अस्पताललाई दिइने डा. कोइरालाले संचारकर्मीहरुलाई जानकारी दिए ।
डा. कोइरालाले जीवनमा भोगेका संघर्षका अनुभव, देखेका स्वास्थ्य क्षेत्रका समस्या सुल्झाउने उपाय र चिकित्सा शिक्षाका विविध विषयलाई विश्लेषणात्मक धारणासहितमा पुस्तक समेटिएको बताएका छन्।
काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ’ (किओच) हाल काठमाडौंको बुढानिलकण्ठमा निर्माणाधीन अवस्थामा छ। साथै, त्यसको पहिलो प्रदेश शाखाका रूपमा झापाको दमकमा ५० शय्याको बाल अस्पताल निर्माण अन्तिम चरणमा पुगेको छ। यस्ता हस्पिटल सातै प्रदेशमा विस्तार गर्ने कोइरालाको लक्ष्य छ।
पुस्तकका बारेमा बरिष्ठ पत्रकार किशोर नेपाल लेख्छन्,‘डा भगवान कोइरालाको पुस्तक हृदयको पहिलो संस्करणको मूल्य २५०००.०० राखिएकोछ । काठमाडौंका धनाढ्य वर्गका लागि यो मूल्यले कुनै अहमियत राख्दैन । बालबालिकाका लागि खुल्न लागेको अस्पतालका नाममा अलिकति चन्दा दिएर अलिकति पाप पखाल्न धनाढ्यहरूको भीड लाग्नु पर्ने हो ।’