काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले चालु आर्थिक वर्षमा भारतबाट आयात हुने भन्दा भारतमा निर्यात हुने बिजुलीको मात्रा बढी हुने बताएका छन् ।
चालु आर्थिक वर्ष २०७९/०८० भित्र नेपाल भारतसँग विजुलीको ‘नेट एक्सपोर्टर’ हुने उनको दाबी थियो । आइतबार ऊर्जा, जलश्रोत तथा सिंचाई मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै कार्यकारी निर्देशक घिसिङले यस्तो बताएका हुन् ।
घिसिङले पछिल्लो ८५ दिनमा भारतमा विद्युत निर्यात गरेर ६ अर्ब रुपैयाँ आम्दानी गरेको पनि बताए । उनले कात्तिकसम्म नै भारतमा बिजुली निर्यात गर्न सकिने बताए । उनले चालु आर्थिक वर्षकै आगामी थप जेठ असारमा पनि ठूलो मात्रामा बिजुली भारत निर्यात हुने बताए ।
घिसिङले अहिले रातिको समयमा केही घण्टामा प्रतियुनिट १२ भारतीय रुपैयाँ र औसतमा प्रतियुनिट रेट ६ भारतीय रुपैयाँसम्म रहेको बताए । घिसिङले पछिल्लो समय नेपालमा पनि विद्युतको माग अत्याधिक रहेको बताए । कार्यकारी निर्देशक घिसिङले भविष्यमा नेपालको विद्युत जनतालाई निःशुल्क दिन सकिने बताए ।
उनले आगामी केही बर्ष विद्युतका पूर्वाधारमा ठूलो लगानी गर्नुपर्ने भन्दै सबैले विद्युत महशुल तिर्नुपर्ने बतए । अहिलेसम्म करिव ९३ प्रतिशत विद्युतको पहुँच पुगेको उनले जानकारी दिए ।