April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

प्रेम गाहा मगरविरुद्द एनआरएनए यूकेको कार्यसमितिका बहुमत सदस्यहरुद्धारा पूर्ण अविश्वास व्यक्त, ७२ घण्टाभित्र स्पष्टिकरण दिन पर्ने

7.2K

लन्डन । गैर-आवासीय नेपाली संघ (एनआरएनए) यूकेका अध्यक्ष प्रेम गाहा मगरविरुद्ध पूर्ण अविश्वास व्यक्त गरिएको छ । एनआरएनए राष्ट्रिय समन्वय परिषद यूके कार्यसमितिका बहुमत पदाधिकारी तथा सदस्यहरुले गत बिहिबार अगस्ट २५ का दिन एक औपचारिक पत्र जारी गर्दै उक्त पूर्ण अविश्वास प्रकट गरेका हुन् ।

कार्यसमितिका बहुमत पदाधिकारी तथा सदस्यहरुले एक विज्ञप्ति जारी गर्दै उक्त औपचारिक पत्रमा भनेका छन् ‘तपाईबाट संस्थाको सिद्धान्त, गरिमा र यसको विधि विधानविरुद्ध भएका गम्भिर प्रकृतिका गल्तिहरुको समिक्षा गर्दै सोही आधारमा अध्यक्षको रुपमा तपाईप्रति हाम्रो विश्वास नरहेको कुरा सामुहिक रुपमा जानकारी गराउन चाहान्छौ ।’

अध्यक्ष मगर कार्यसमितिमा अल्पमतमा मात्र परेका छैनन्, उनीविरुद्ध कार्यसमितिको तर्फबाट पूर्ण अविश्वास व्यक्त गरिएको हो। कार्यसमितिका २३ जना पदाधिकारी तथा सदस्यहरुले उनले गरेका विविध गल्तीहरु औल्याउदै ७२ घण्टाको अल्टिमेण्टम दिएर पत्राचार गरेका छन् । विभिन्न छ ओटा बुँदाहरुमा उनलाई अविश्वास गर्नुपर्ने कारण उल्लेख गर्दै ती छ ओटै विषयमा ७२ घण्टा भित्र स्पष्टीकरण दिएर गल्ती नगर्ने प्रतिबद्धता नजनाएमा आवश्यक कारवाही चलाइने तथा आइसीसीलाई कारबाही अगाडि बढाउन पत्राचार गरिने उल्लेख छ ।

Advertisement

औपचारिक पत्रमा अध्यक्ष गाहा मगरले गैर-आवासीय नेपाली संघको अन्तराष्ट्रिय समन्वय परिषद लगायतका सम्बन्धमा कार्य समितिको निर्णयहरूको अवज्ञा गरेको, सदस्यता शुल्क अन्तराष्ट्रिय समन्वय परिषदमा नपठाएको, फेसबुक पेजमार्फत भिडियोमा लाईभ बोल्दै नेपालीहरूबीच जातीय विभेद तथा घृणा उत्पन्न गराउने खालका अभिव्यक्तिहरु दिएको, नेपाल सरकारको निर्णयद्धारा मान्यता प्राप्त संघ अन्तराष्ट्रिय समन्वय परिषदको सम्बन्धमा आपत्तिजनक अभिव्यक्ति दिएको, संघको यूकेस्थित कार्यलयमा आईसीसीका पदाधिकारी तथा सदस्यहरुलाई र संघका सदस्यहरुलाई प्रतिबन्ध लगाउने, धम्कि दिने गरेको, संघको कल्याणकारी कोषबाट अत्यधिक खर्च गरिएको देखिएको, नेपालका राजदुतको अपमान गरेको, कार्यसमितिको निर्णयलाई नमान्ने नमानेर आफु खुशी गरेको जस्ता कारणहरु उल्लेख गरिएको गरी अविश्वासको प्रस्ताव पेश गर्नुपरेको जनाइएको छ ।

अध्यक्षबाट भएका अवान्छित क्रियाकलापहरुले संस्थाको मर्यादा र विश्वासनीयतामा आँच आएको तथा संस्थामा आर्थिक, भौतिक तथा सांगठनिक रुपमा गम्भीर क्षति भएको भन्दै उनको कार्यक्षमतामाथि अविश्वास उत्पन्न भएको पत्रमा उल्लेख छ ।

त्यस्तै, ‘कार्य समितिको दुईतिहाई पदाधिकारी तथा सदस्यहरुको निर्णयलाई बाइपास गरी संस्थाको अस्तित्वविरुद्ध अनाधिकार गतिविधि गर्ने कार्यले तपाईंमा गैरआवासीय नेपाली संघ यूकेको अध्यक्षको रुपमा कार्य गर्न सक्ने क्षमताको अभाव भई अयोग्य भएको हाम्रो ठहर छ ।’, पत्रमा भनिएको छ ।

कार्यसमितिका बहुमत पदाधिकारी तथा सदस्यहरुद्धारा जारी औपचारिक पत्र