April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

‘श्रमिकसँग श्रम मन्त्री’ कार्यक्रम सुरु, पहिलो दिन सुनियो एक घण्टा श्रमिकका गुनासा

1.9K

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले मन्त्रालयमा रहेको वैदेशिक रोजगारी सम्बन्धी गुनासो सुनवाई कक्ष कल सेन्टरमा ‘श्रमिकसँग श्रम मन्त्री’ कार्यक्रमको सुरुवात गरेका छन् । आइतबार पहिलो दिन उनले कल सेन्टरमा बसेर बिहान ११ बजेदेखि १२ बजेसम्म एक घण्टा फोनमार्फत प्रत्यक्ष श्रमिकहरूका गुनासा र जिज्ञासाहरू सुन्दै कार्यक्रमको सुरुवात गरेका हुन् ।

आजदेखि प्रत्येक आइतबार मन्त्री कुँवरले फोनमार्फत प्रत्यक्ष श्रमिकहरूको गुनासा सुन्ने र तिनका समाधानका लागि पहल गर्नेछन् । आज पहिलो दिन मन्त्री कुँवरसँग फोनमार्फत प्रत्यक्षरूपमा स्वदेश तथा विदेशमा रहेका १० श्रमिकहरूले आफ्ना गुनासा, जिज्ञासा, समस्या र सुझावहरू राखेका छन् । जसलाई मन्त्री कुँवरले सम्बोधन गरेका छन् ।

आजको कार्यक्रममा विशेष गरी मलेसियामा जाने कामदारबाट पैसा उठाउने गरेको, विदेशमा काम नपाएर ठगिने गरेको र नयाँ गन्तव्य मुलुकमा रोजगारीका लागि जाने प्रक्रियाका बारेमा श्रमिकले मन्त्रीसँग प्रश्न र जिज्ञासा राखेका थिए ।

Advertisement

उनीहरूको जिज्ञासाको जवाफ दिदै मन्त्री कुँवरले मन्त्रालय श्रमिकको पक्षमा भएको जानकारी गराउदै ऐन कानून बलियो बनाएर भए पनि श्रमिकलाई वैदेशिक रोजगारीमा जाँदा ठगबाट कसरी बचाउन सकिन्छ भन्ने विषयमा विशेष रुपमा लागिरहेको बताए ।
मन्त्रालयमा कलसेन्टर स्थापना गरिएको ६ वर्ष पुगेको छ । अहिले कल सेन्टरमा दैनिक २०० बढी गुनासाहरू आउने गरेको मन्त्रालयका सचिव एकनारायण अर्यालले जानकारी दिए ।

श्रमिकसँग श्रम मन्त्री कार्यक्रममा भाग लिनका लागि नेपाल टेलिकमको टोल फ्रि नम्बर ११४१ र १६६००१५०००५, ल्यान्डलाइन नम्बर ०१५९७०००८ र ह्वाट्सएप, भाइबरमा ९८०१८०००१३ र इमो नम्बर ९८०१३०००३३ मा सम्पर्क गर्न सकिने मन्त्रालयले जनाएको छ ।

मन्त्री कुँवर काठमाडौं रहेका बेलामा मात्रै तोकिएको समयमा मन्त्रीसँग आफ्ना गुनासा, जिज्ञासा, समस्या र सुझावहरुमा कुरा गर्न सकिने समेत मन्त्रालयले जनाएको छ ।