April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

कर्मचारीबीचको विभेदलाई हटाउनुपर्छ: मन्त्री कुँवर

1.9K

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले कर्मचारी, कर्मचारीबीचको विभेदलाई हटाउनुपर्नेमा जोड दिएका छन् । शुक्रबार काठमाडौंमा आयोजित अखिल नेपाल सरकारी अस्थायी करार तथा ज्यालादारी कर्मचारी श्रमिक संघको चौथो राष्ट्रिय सम्मेलनमा बोल्दै मन्त्री कुँवरले कर्मचारी कर्मचारीबीचको विभेदलाई हटाई सबै कर्मचारीहरूमा समानता हुनुपर्ने बताएका हुन् ।

अस्थायी करार तथा ज्यालादारी कर्मचारीहरूका तर्फबाट आफ्नो मन्त्रालयमा डेलिगेसन पुगेको बताउँदै मन्त्री कुँवरले आफ्नोतर्फबाट त्यसबारे आवश्यक पहल भइसकेको जानकारी समेत दिए ।

‘अस्थायी करार र ज्यालादारी कर्मचारीहरूका आफ्नै व्यथा छन् । सँगैको साथी काम गरेको छ, रिटायर्ड हुँदा पेन्सन बुझेर गएको छ, उसको सामाजिक सुरक्षाको ग्यारेन्टी भएको छ, र केटाकेटीहरूको लालनपालन भएको छ, घरपरिवार सुरक्षित छन् । अर्को सँगैको साथी बीसौं वर्ष काम गरेको छ, अस्थायी छ, करारमा काम गरेको छ । तर उसले जागिरबाट फर्कदा खेरी रित्तो हात फर्कनुपर्ने अवस्था छ । यो कर्मचारी कर्मचारीबीचको विभेदलाई हटाउनुपर्छ ।’, मन्त्री कुँवरले भने ।

Advertisement

मन्त्री कुँवरले तीन बर्ष अघि सरकारले योगदानका आधारमा सामाजिक सुरक्षा कोष लागू गरेकाले त्यसमा अस्थायी करार तथा ज्यालादारी कर्मचारीहरू समेटिनुपर्ने बताए । समाजिक सुरक्षा कोषको दायरामा ल्याउनका लागि आफ्नो मन्त्रालयको पहलमा करिब ६० हजार अस्थायी करार तथा ज्यालादारी कर्मचारीहरूको तथ्याङ्क संकलन गरी अर्थ मन्त्रालयमा फायल पठाइसकिएको पनि उनले जानकारी दिए ।