April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

पाब्लो नेरुदा र मातिल्दा: रोचक प्रेमकथा

8.6K

हामीले धेरै कविका प्रेम–कहानी पढेका छौँ । सुनेका छौँ । सबै प्रेमकथा त्यति आकर्षित गर्ने खालको नहुन सक्छन् । पाब्लो नेरुदा प्रेमिल कविताका लागि सम्राट् नै मानिन्छन् । प्रेम नै उनको जीवनको व्याकरण थियो । उनको जीवनमा धेरैजना प्रेमिकाले प्रवेश पाए । तर, मातिल्दा उरुत्तियासँगको उनको प्रेम निकै सुन्दर छ । अलग्गै उर्जाले घेरिएको छ । यी दुईका प्रेमकथा, सरसंगत, संस्मरण, नोकझोक स्मरणीय छन् ।

पाब्लो नेरुदा चिल्लीका कवि थिए । चिल्लीमा तानाशाहीको आगमन पश्चात् देश छोड्न पर्ने बाध्यता आइप¥यो । उनी कम्युनिस्ट विचारधाराका थिए । क्रान्तिकारी थिए । चारैतिर दुश्मनले घेरिएका थिए । उनको कुनै पनि बेला हत्या हुने संभावना थियो । सरकारले उनलाई विष पिलाएर मार्ने योजना पनि बनाएको थियो । नेरुदाका साथीहरूले मेक्सिकोमा लुकाएर राख्ने योजना बनाए । त्यतिबेला नेरुदा सिकिस्त विरामी भएकाले एकजना केयरटेकर पनि खोज्ने योजना साथीहरूले बनाइरहेका थिए । उनीहरू यस्तो केयरटेकरको खोजिमा थिए जसको नेरुदासँग कुनै सम्बन्ध नहोस् । यस्तो भएमा सरकारका जासुसलाई कुनै सुइको पर्ने थिएन । नभन्दै एउटा त्यस्तै पात्र भेटियो । उनीहरूले यस्तो गायिका भेटे जसले नेरुदाका कवितालाई एकदम प्रेम गर्थिन् । नेरुदाका कवितालाई गिटारको धुनमा सजाएर गाउने गर्थिन् । ती युवती थिइन– मातिल्दा उरुतिया । नेरुदाको केयरटेकर बन्ने प्रस्ताव स्वीकार गरिन् । नेरुदासँगको भेटले उनीहरू अपरिचितबाट प्रेमीप्रेमिका बन्न पुगे ।

मेक्सिकोमा उनको प्रेमपूर्ण स्याहारसुसारले नेरुदाको स्वास्थमा निकै राम्रो सुधार आयो । मेक्सिकोमा पनि नेरुदाको ज्यानलाई खतरा हुने संभावना बढ्न थाल्यो । त्यहाँबाट नेरुदा युरोपतिर लागे भने मातिल्दा मेक्सिकोमै बसिन् ।

Advertisement

युरोपमा पुगेपछि नेरुदाले मातिल्दालाई भुल्न सकेनन् । कसैगरी मातिल्दालाई युरोप झिकाउने योजना बनाउन थाले । नभन्दै त्यस्तो अवसर बनाइहाले नेरुदाले । बर्लिनको एउटा पुस्तक मेलामा उनलाई झिकाइयो । मातिल्दा बर्लिन आउँदा नेरुदालाई खतरा हुनसक्थ्यो । त्यसैले उनले कुनै जासुसले जस्तो योजना बनाए । विमानस्थलबाट ओर्लिएर दुईतीनवटा गाडी फेर्दै मातिल्दालाई कार्यक्रम स्थलमा पुर्‍याइयो । नेरुदाको योजनाले मातिल्दालाई निकै उत्साहित बनाएको थियो । मातिल्दा पुस्तक मेलामा पुग्दा त्यहाँ पार्टी चलिरहेको थियो ।

नेरुदाले मातिल्दालाई तुर्की कवि नाजिम हिकमतसँग परिचय गराइदिए । नाजिम हिकमत पनि प्रेमको विषयमा लेख्ने चर्चित कवि थिए । क्रान्तिकारी पनि थिए । कवि नाजिम नेरुदा र मातिल्दाको प्रेम सम्बन्ध बारे जानकार थिए । नाजिमले मातिल्दालाई एक टकले हेरिरहे । उचालेर काखमा राखेर निधारमा चुम्दै, ‘आइ एप्रुभड’ भन्न थाले । मातिल्दा एकदम आत्तिइन्, डराइन् । जुन सम्बन्धलाई लुकाइराख्न मातिल्दा सधै मौन बस्थिन्, यहाँ त उल्टो भयो । नेरुदाले नाजिमलाई प्रेम सम्बन्धका बारे बताएको कुराले दंगदास भइन् । केही समयपछि क्युबाका कवि सोही पार्टीमा देखिए । उनले मातिल्दालाई देख्ने बित्तिकै भन्न थाले, ‘ओहो ! मातिल्दा तिमी नै हौ? जसका बारेमा नेरुदा दिनरात कुरा गर्छन् ।’ यति भनिसकेर कवि निकालोस रहस्यमय भावमा मुस्कुराउन थाले । मातिल्दालाई यो सब कुराले असहज बनाउँदै थियो । रातोपिरो हुन थालिन् । किताबमेलाको यताउताको स्टलमा मातिल्दा टहल्न थालिन् । पाब्लो नेरुदा आफ्नै काममा व्यस्त थिए । साँझ परिसकेको थियो । नेरुदा मातिल्दासँग आएर भने, ‘तिमी होटल जाऊ, कोठामा तिम्रो लागि एउटा उपहार राखिएको छ ।’ उनी होटलको कोठामा पुगिन् । त्यहाँ पुग्दा नेरुदा र नाजिम पहिल्यै कोठामा उपस्थित थिए । उनी अचम्मित भइन् । नाजिम हिकमतले भने, ‘म्याडम यो उपहार तपाईंको हो, हाम्रो समयको सर्वश्रेष्ठ कवि नेरुदा ।’ यो सुनेर मातिल्दाको खुसीको सीमा रहेन । नेरुदा आधिकारिक रूपमै उनको भएको जस्तो लाग्यो ।

मातिल्दाले पहिलोपटक भेटेको नेरुदा विरामी, लाचार, ज्यान बँचाउन दोस्रो देशमा शरण लिएको व्यक्ति थियो । वास्तविक नेरुदालाई उनले बल्ल भेटेको जस्तो लाग्यो । अप्ठ्यारो परिस्थितिमा पनि जिउन जानेको नेरुदा निकै रसिक किसिमको व्यक्ति थिए । उनी आफ्ना साथीभाइलाई सधैं आश्चर्यचकित बनाउन माहिर थिए ।

केहि समय नेरुदा र मातिल्दाले युरोपका शहरमा भ्रमण गर्दै प्रेमिल जीवन बिताए । रोमानियमा बस्दा उनीहरूको केयरटेकरका रूपमा स्थानीय युवती थिइन्, जसले एकदम स्वादिष्ट खाना बनाउँथिन् । तर, समस्या के थियो भने उनीहरू एकाअर्काको भाषा बुझ्दैनथे । प्रायः सांकेतिक भाषाले काम चलाउन पर्थ्यो । एक विहान नास्ताको समयमा एउटा मजेदार किस्सा घट्यो । नेरुदाले महिलालाई अण्डा उमाल्न लगाए । अण्डाको सङ्ख्या बताउन उनले दुईवटा औंला देखाए । जसको मतलब दुईवटा अण्डा बनाऊ भन्ने थियो । केयरटेकरले मुस्कुराउँदै हुन्छ भन्ने भावमा अण्डा उसिन्न भान्सामा लागिन् । एकछिन पछि उनले एघार वटा अण्डा उसिनेर ल्याइन् । सो ठाउँमा दुईवटा औंलाको अर्थ एघार बुझिने रहेछ । यो कुरा मातिल्दाले आफ्नो संस्मरणमा उल्लेख गरेकी छिन् । त्यतिबेला पाब्लो नेरुदा र मातिल्दा केयरटेकरलाई हेरेर फूल भोल्युममा हाँसेका थिए ।

मेक्सिकोमा सँगै बस्दा मातिल्दाको गर्भमा नेरुदाको प्रेमको चिनो हुर्किरहेको थियो । मातिल्दाको खराब स्वास्थको कारण तीन महिनामा नै गर्भपतन हुन पुग्यो । त्यसपछिका दिनमा मातिल्दामा निराशा छाएको थियो । उनलाई नेरुदासँगको यात्रा लामो हुन सक्दैन भन्ने सन्देह थियो । उनी सोच्थिन् नेरुदाको कवितालाई प्रेम गरेको हो, यो प्रेम दुई व्यक्तिको नहुन सक्ने वा हुनपर्ने कुरामा अलमल थिइन् । परिचीत भएपछि वा अपरिचित हुँदा पनि नेरुदाका कवितालाई उनले रुँदै वाचन गरेकी हुन्थिन् । सिरानीमुनि नेरुदाको कवितासङ्ग्रह राखेर निदाउँथिन् । उनलाई यो प्रेम अस्थिरताको समयमा भएको र आकर्षणले भएको हो भन्ने लाग्थ्यो । त्यसैले पनि यो प्रेम सम्बन्धको आयु लामो छैन भन्ने कुरा उनले सोचिरहन्थिन् ।

युरोपमा बस्दा नेरुदा र मातिल्दासँग सहवास, प्रेम, अनुभवलाई नेरुदाले कवितामा उतारेका थिए । सो सङ्ग्रहलाई उनले ‘क्याप्टेन भर्सेस’ नाममा प्रकाशित गरेका छन् । युरोपको समुधर दैनिकीमा प्रत्येक दिन नेरुदाले मातिल्दालाई कविता कोरेको कागज दिएर भन्थे, ‘जब तिमी एक्लै हुन्छौ, त्यतिबेला यी कागजका कविता पढ्नु ।’ मातिल्दाले कागजमा भएका कविता रातभर अनिदो बसेर दोहोर्‍याइ–दोहोर्‍याइ पढ्थिन् । मातिल्दाको जीवनमा प्रफुल्लताको फूल फुलेको थियो । बेहद हर्षित थिइन्, तर पनि कताकता मन वेचैन थियो । लुकाएर गरेको प्रेम सम्बन्धको औचित्य लाग्दैनथ्यो उनलाई । यो सम्बन्ध टिकाउ नहुने कुराले उनलाई पिरोल्न थाल्यो । अशान्त मन र चिन्ताले उनलाई एकदिन कठोर निर्णय लिन बाध्य बनायो । उनले अब आफू नेरुदासँग नबस्ने र मेक्सिको फर्किने कठोर निर्णय लिन पुगिन् । नेरुदाले उनलाई मनाउने हरसंभव प्रयास गरे तर सकेनन् । उनले आफ्ना कवि मित्र नाजिम र निकानोरलाई पनि सम्झाइदिन लगाए तर सफल भएनन् । मातिल्दा आफ्नो निर्णयमा अडिग रहिन् । उनको जिदको अगाडि केही नलागेपछि मातिल्दालाई पेरिसको घरमा पठाए, जुन घर नेरुदाले भाडामा लिएका थिए । मेक्सिको जाने प्रक्रिया मिलाउन केही दिन उनलाई पेरिसमा बस्नु पर्‍यो ।

उता नेरुदाको मुसाफिर जीवन युरोपका विभिन्न शहरमा यताउता घुम्दै बित्दै थियो । एकैठाउँमा बस्दा उनलाई ज्यानको जोखिम थियो । यता लाखौं कोसिस गर्दा पनि मातिल्दा मेक्सिको फर्किन सकिरहेकी थिइनन् । नेरुदाको प्रेमले उनलाई भित्रभित्रै खाइरहेको थियो । नेरुदालाई छोडेर जान पनि सकेकी थिइनन् र नेरुदासँगै बस्न पनि सकेकी थिइनन् । दुविधाको ह्याम्मरले उनको कोमल मनलाई हिर्काइरहन थाल्यो । यस्तै उथलपुथलकाबीच उनले पेरिसमा एक महिना बिताइन् । एक महिना निकै विचलित भएर बित्यो । उनको मनभित्र एउटा झिनो आशा थियो कि नेरुदा भेट्न आउँछन्, रोक्न आउँछ्न भन्ने । उनलाई नेरुदाले फोन गरेर, भेटेर तिमी बिना बाँच्न सक्दिन भनिदियोस् भन्ने भावना आउन थाल्यो । मेक्सिको जाने निर्णय उनलाई गलत लाग्न थाल्यो । दुविधाको बीचमा उनले एक साँझ मेक्सिकोको टिकट खरिद गरिन् । जुन दिन उनले मेक्सिको जाने टिकट लिएकी थिइन् त्यहीँ साझ नेरुदाको फोन आयो । नेरुदाले भोलिको मध्यान्ह कतै नजानु एउटा पार्सल आउँछ भन्ने जानकारी दिए । यो सुनेर मातिल्दा फूल जस्तै फक्रेर आइन् । त्यतिबेला नेरुदाको कविता सङ्ग्रह पनि प्रकाशित हुँदै भएकोले सायद किताब कै पार्सल हो भन्ने कुरा अड्कल लगाइन् । नेरुदाले अहिलेसम्म पनि मातिल्दालाई आफ्नो मनबाट ननिकालेकाले खुसी भइन् ।

भोलिपल्टको मध्यान्ह उनका आँखाले नेरुदाका पार्सललाई प्रतीक्षालय बनेर पर्खिरह्यो । मध्यान्हमा कुनै त्यस्तो पार्सल आएन । तारा हराएको आकाश जस्तै मन खिन्न भयो । साँझमा उनको घरको डोरबेल बज्यो । उनले ढोका खोलिन् । ढोका खोल्दा नेरुदाका पत्रकार मित्र थिए । पत्रकारलाई मातिल्दाले राम्रैसँग चिनेकाले गफगाफ भयो । अनि उनले आफ्नो पार्सलको बारेमा जिज्ञासा राखिन् । पत्रकार मित्रले पार्सल आफू नै हो भन्ने कुरा जानकारी दिए । उनले पाब्लोको सूचना प्रवाह गरे, ‘नेरुदा दुब्लाएका छन् । विरामी छन् । अस्तव्यस्त भएका छन् । चिडचिडापन बढेको छ । साथीसँगी पनि गुमाउँदै छन् । आज विहानै नेरुदाले मलाई तिमीलाई लिएर आउनु भनेकाले म यहाँ आएको छु ।’

नेरुदाको हालत देख्दा उनले मातिल्दासँग बिछोडिएका कारणले यस्तो अस्थिरता आएको भन्ने प्रष्ट बुझिन्थ्यो । मातिल्दाले भने घुर्काउन थालिन् । उनी मेक्सिको जानको लागि सबै प्रक्रिया पूरा गरिसकेकाले अब आफू फर्किन नसक्ने बताइन् । उक्त पत्रकारले भने, ‘नेरुदाले तिमी आउन नमाने अपहरण गरेर भएपनि ल्याउन भनेका छन् । उनले जेनेभाको विमानस्थल बाहिरको क्याफेमा तिमीलाई पर्खिरहेका छन् ।’

मातिल्दा नेरुदाको प्रेम गर्ने पागलपनको तरिका देखेर खुसी भइन् । आखिर मातिल्दाले जे होस् भनेर मनमनै सोचेकी थिइन् त्यस्तै भयो । भोलिपल्ट विहानै पत्रकार र मातिल्दा जेनेभा गए । क्याफेमा नेरुदा र मातिल्दाको मिलन भयो । त्यसपछि लामो समय उनीहरूले सँगै बिताए । प्रेमको सागरमा डुबुल्की मारे । एकाअर्काको परिपुरक बने । एउटा पौष्टिक समय बिताए ।

प्रस्तुति: जनक कार्की