November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

मिर्जा गालिब र कार्ल मार्क्सको दुर्लभ पत्र

12.4K

मिर्जा गालिब उर्दू साहित्य सम्राज्यको सम्राट नै हुन् भने कार्ल मार्क्स प्रसिद्ध विचारक, जसले संसारलाई मार्क्सवादी सिद्धान्त दिएका छन् । यो लेख पढिरहनु भएका तपाईं यी दुई महान व्यक्तिसँग पक्कै परिचित हुनुहुन्छ । केही समय पहिलेसम्म गालिब र मार्क्स समकालीन भएपनि एकार्कासँग परिचित नभएको अड्कल÷अन्दाज काटिन्थ्यो । उनीहरू एकार्कासँग गुमनाम भएको व्याख्या गरिन्थ्यो ।

यो सबै कपोकल्पित कुरा गलत सावित भयो जब ‘भोइस अफ अमेरिका’मा कार्यरत आबिदा रिप्लेलाई लन्डनस्थित इन्डिया अफिसको पुस्तकालयमा मुगल समयको एउटा पुरानो च्यात्तिएको पुस्तक प्राप्त भयो । उक्त किताबलाई उठाउँदा पुस्तकको पन्नाभित्रबाट कागज खस्यो । त्यो कागजका अक्षरलाई पढेपछि उनी चकित भइन् । सो पन्ना मिर्जा गालिबले कार्ल मार्क्सलाई लेखेको पत्र थियो । लामो समयसम्मको खोजपछि उनलाई मार्क्सले गालिबलाई लेखेको पत्र पनि प्राप्त भयो । आउनोस् आज सोही पत्रको अनुवाद पढौँ, जसमा गालिब र मार्क्सबीचको पत्राचारमा के–के कुरा लेखिएको थियो, पोको पन्तुरो फुकाऔं ।

कार्ल मार्क्सले गालिबका लागि लेखेको पत्रः

Advertisement

आइतबार २१ अप्रिल, सन् १८६७
लण्डन इङ्ल्याण्ड

प्रिय गालिब,

दुईदिन पहिले साथी एंजलको पत्र प्राप्त भयो । पत्रको अन्त्यमा दुई लाइनको सुन्दर शेर थियो । धेरै प्रयासपछि थाहा हुन आयो कि त्यो शेर हिन्दुस्तानी शायर मिर्जा गालिबको रचना हो भनेर । मित्र, अद्भुत लेख्नुहुन्छ ! मैले कहिले पनि सोचेको थिइनँ कि भारत जस्तो देशका नागरिकमा स्वतन्त्रताको क्रान्तिकारी भावना यति शीघ्रगामी भएर आउला भनेर । लार्डको व्यक्तिगत पुस्तकालयबाट तपाईंका अन्य रचनासँग साक्षात्कार हुने मौका पाएँ । केही रचनाले मन अत्याधिक प्रशन्न भयो ।

“हमको मालूम है जन्नत की हकिकत लेकिन,
दिल को खुश रखने को ‘गालिब’ ये खयाल अच्छा है”

(तात्पर्यबोधक अर्थः मलाई थाहा छ स्वर्गको सच्चाई तर, मनलाई खुसी राख्नको लागि ‘गालिब’ यो विचार सुन्दर छ)

कविताको आउने संस्करणमा क्रान्तिकारी कार्यकर्तालाई संवोधन गर्नुहोलाः जमिनदार, प्रशासन,र धार्मिक गुरूहरूलाई चेतावनी दिनु जसले गरिब, मजदुरको रगत चुस्न बन्द गराओस् । संसारभरका मजदुर एक हुनु ।

हिन्दुस्तानी शेरो–शायरीको शैलीसँग परिचित छैन । तपाईं शायर हुनुहुन्छ, शब्दलाई नियन्त्रण गर्न सकिँदैन । जे लेखे पनि मौलिक लेख्नुहोला, जसको सन्देश स्पष्ट होस् क्रान्ति । यो सँगसँगै अर्को सल्लाह दिन्छु; गजल, शेरो–शायरी लेख्न छोडेर मुक्त कविता सिर्जना गर्नुहोस् । त्यस्तो गर्दा तपाईं धेरै लेख्न सक्नुहुनेछ र अत्याधिक सोच्न मद्धत मिल्नेछ ।

यो पत्रसँगै कम्युनिस्ट मेनिफेस्टोको हिन्दुस्तानी संस्करण पठाएको छु । दुर्भाग्यवश पहिलो संस्करणको अनुवाद उपलब्ध छैन । यदि यो मन पराउनुभयो भने आउने दिनमा अन्य साहित्य पठाउनेछु । वर्तमान अवस्थामा भारत अंग्रेजी सम्राज्यवादको रोगमा परिवर्तित गरिएको छ । शोषित मजदुरका सामुहिक प्रयासले मात्र ब्रिटिस अपराधीहरूको पञ्जाबाट स्वतन्त्र गराउन सकिनेछ ।

तपाईंले पश्चिमको आधुनिक दर्शनको साथसाथै एसियाका विद्धानको विचारलाई पनि अध्यन गर्न जरुरी छ । मुगल राजाहरूका नवाबहरूका लागि झुठो शायरी गर्न छोडिदिनोस् । क्रान्ति निश्चित छ । दुनियाँको कुनै ताकतले यसलाई रोक्न सक्दैन ।

हिन्दुस्तानको क्रान्ति निरन्तर चलोस् भन्ने शुभकामना टक्राउन चाहन्छु ।

तपाईंको
कार्ल मार्क्स

*** *** ***

मिर्जा गालिबले कार्ल मार्क्सलाई लेखेको पत्र
९ सेप्टेम्बर, सन् १८६७
दिल्ली, हिन्दुस्तान

मेरो अञ्जान मित्र मार्क्स,

कम्युनिस्ट मेनिफेस्टोसँगै आज तपाईंको पत्र प्राप्त भयो । अब तपाईंको पत्रको के जवाफ दिऊँ ? दुईवटा कुरा छ …..। पहिलो कुरा, तपाईं के लेख्नुहुन्छ, यसमा म अनबिज्ञ छु । दोस्रो कुरा, लेख्न र बोल्नको लागि म अब बूढो भएको छु । आज मेरा मित्रलाई पत्र लेख्दै थिएँ, सोचेँ कि तपाईंलाई पनि केही लेखौं ।

फरहाद (सन्दर्भमा, गालिबको एउटा कविता ) को बारेमा तपाईंको विचार गलत छ । फरहाद कुनै मजदुर होइनन्, जस्तो तपाईं सोचिरहनु भएको छ । उनी एक प्रेमी हुन् । प्रेमको सन्दर्भमा फरहादको सोचले मलाई प्रभावित गरेन । ऊ प्रेममा पागल थियो र हरक्षण प्रेमको लागि आत्महत्या गर्ने सोच्थ्यो । अनि तपाईं कुन स्वतन्त्रताको कुरा गर्दै हुनुहुन्छ ? स्वतन्त्रता त दस वर्ष पहिले सन् १८५७ मा बितेर गयो । आज मेरो देशको सडकमा अंग्रेज छाती फुल्लाएर हिँडिरहेका छन् । जनता उनको स्तुति गाउछ्न् … डराउँछन् । मुगलहरूको शाही रहनसहन अतीत बनिसक्यो । उस्ताद–शागिर्द (गुरु–चेला) परम्पराले पनि बिस्तारै आफ्नो आकर्षण घटाउँदै छ ।

यदि तपाईं विश्वास गर्नुहुन्न भने कुनै दिन दिल्ली आउनु । यो दिल्लीको मात्र कुरा होइन । लखनउले पनि आफ्नो अनुशासन गुमाइसके… थाहा छैन ती व्यक्ति र अनुशासन कहाँ बेपत्ता भयो । तपाईं कुन क्रान्तिको भविष्यवाणी गर्दै हुनुहुन्छ ?

तपाईंले लेखेको पत्रमा मेरो शेरो–शायरी र गजलका शैली परिवर्तन गर्ने सल्लाह दिनुभएको रहेछ । सायद, तपाईंलाई थाहा छैन होला शेरो–शायरी वा गजल लेख्ने कुरा होइन । यो तपाईंको हृदयमा कहिलेकाही आउने कुरा हो । मेरो मामिलामा फरक छ । जब विचारको प्रवाह हुन्छ कुनै पनि रूपमा आउन सक्छ । त्यो गजल होस् वा शायरी ।

मलाई लाग्छ, गालिबको अन्दाज सबैभन्दा फरक छ । यसैकारण नवाबहरूको संरक्षण प्राप्त भयो । अब तपाईं भन्नुहुन्छ कि म उनीहरूको विरुद्धमा कलम चलाऊँ । यदि मैले उनीहरूको प्रशंसामा केही पङ्क्ति लेखिहाले पनि यसमा गलत के छ र ?

दर्शन के हो र यसको मेरो जीवनमा के सम्बन्ध छ, यो मैले भन्दा बढी सायदै अरु कसैले बुझेको होला । मित्र, तपाईं कुन आधुनिक सोचको बारेमा कुरा गर्दै हुनुहुन्छ ? यदि तपाईं साच्चिकै दर्शन जान्नुहुन्छ भने, वेदान्त र वहदुत–उल–वजुद पढ्नोस् । क्रान्तिको रट लगाउन छोडिदिनोस् । तपाईं लण्डनमा बस्नुहुन्छ… मेरो एउटा काम गरिदिनोस् । वायसराँयलाई मेरो पेन्सनको लागि सिफारिस पत्र खसालिदिनु ।

धेरै थाकेँ । बस् यहि सम्म ।

तपाईंको
गालिब

अनुवाद: जनक कार्की