April 22, 2025, Tuesday
२०८२ बैशाख १०
1:37:26 pm

मधु केरुङ र कविता राईसहित १९ जना कला, साहित्य र संस्कृतिकर्मी सम्मानित

4K

पाँचथर । प्रदेश–१, सरकारको पर्यटन तथा संस्कृति मन्त्रालयले प्रदेशका १९ जना कला, साहित्य र संस्कृतिकर्मीलाई सम्मान गरेको छ । मंगलबार विराटनगरको आरोहण गुरुकुलमा एक कार्यक्रमको आयोजना गरी कलाकारहरुलाई सम्मान गरिएको हो ।

श्रष्टा सम्मानका लागि मन्त्रालयद्धारा गठित छनौट समितिको निर्णय अनुसार ‘बालकृष्ण पोख्रेल भाषा, साहित्य, कला र संस्कृति स्रष्टा सम्मान’बाट गोविन्द तुम्बाहाङ (सुनसरी) र प्राडा केआर खम्बु (झापा) लाई सम्मानित गरिएको छ । यस्तै ‘प्रदेश भाषा, साहित्य, कला र संस्कृति सम्मान’बाट मनु मञ्जिल (सुनसरी), गोबद्र्धन तामाङ (उदयपुर), बिजय श्रेष्ठ (इलाम), भरत गुरागाईं (मोरङ), ममता गिरी –सुनसरी), गोपाल देवान (सुनसरी), बीर बहादुर लाप्चा (इलाम), हरि कट्टेल (सोलुखुम्ब), मानसिंह थुलुङ (इलाम), महेन्द्र राई (सुनसरी), जयन्तीरमण कण्ठ (सुनसरी) र नवराज वर्तमान (भोजपुर) सम्मानित भएका छन् ।

त्यसैगरी ‘नवोदित भाषा, साहित्य, कला र संस्कृति स्रष्टा सम्मान पुरस्कार’बाट लीला अनमोल (झापा), यसोदा कुमारी लम्साल (सुनसरी), चेतन आङ्थुपो (इलाम), मधुराज केरुङ (पाँचथर) र बिमला चिमोरिया (झापा) सम्मानित तथा पुरस्कृत भएका हुन् ।

Advertisement

पुरस्कार तथा सम्मान ग्रहण गर्दै श्रष्टा मधु केरुङ ।

यसअघि नै ‘अमर नेम्बाङ स्मृति युवा पुरस्कार–२०७७’, ‘युग पुरुष रविकर्ण रांकाशु दुमी राई युवा पुरस्कार–२०७५’, र चितवनबाट ‘गजलरत्न पुरस्कार–२०७६’ पुरस्कार प्राप्त गरिसकेका मधु केरुङले यस पुरस्कारलाई सरकारले आफ्नो योगदानलाई कदर गरेकोमा खुशी रहेको तर सन्तुष्ट नभएको बताए । उनले भने, ‘अहिलेको संघीय लोकतान्त्रिक गणतन्त्रामक सरकारले सबै भाषाभाषीको कविहरुलाई समान व्यवहार गर्नुपर्नेमा यसपटक लिम्बु, राई, मैथिली लगायतका नेपालेली भाषालाई सम्मान गरेन । प्रदेश १ मा सबै भाषाका साहित्यकारहरुको समान योगदान भएतापनि नेपाली भाषालाई मात्र प्राथमिकता दिएकोमा असन्तुष्ट छु ।’

यस्तै, नेपाल प्रज्ञा प्रतिष्ठानद्धारा आयोजित ‘राष्ट्रिय कविता महोत्सव–२०७८’ की विजेता कविता राईले भने पुरस्कार पाउँदा खुशी लागेको बताइन् । ‘यो गणतन्त्रले ल्याएको एउटा प्रतिफल हो, नत्र केन्द्रले हामीलाई सँधै उपेक्षा गरेको हो । मोफसलमा बसेर लेख्नेलाई प्रदेश सरकारले गरेको यो सम्मानले हौसला मिलेको छ ।’, उनले नेपाल मामिलासँग भनिन् । राई ‘दैवज्ञराज न्यौपाने स्मृति पुरस्कार–२०७६’, ‘हतुवागढी शब्दघर सम्मान–२०७८’, ‘भोजपुर प्रतिभा पुरस्कार, बेलायत–२०७८’, ‘प्रदेश सरकार नवोदित भाषा साहित्य तथा संस्कृति पुरस्कार–२०७८’, ‘धनमाया लामिछाने स्मृति पुरस्कार–२०७९’ लगायत सम्मान तथा पुरस्कार प्राप्त गरिसकेकी छन् ।

पुरस्कार तथा सम्मान ग्रहण गर्दै श्रष्टा कविता राई

सम्मानित स्रष्टा, कला, साहित्य र संस्कृतिकर्मीलाई प्रदेश–१, का मूख्यमन्त्री राजेन्द्र राई लगायतले सम्मान तथा पुरस्कार वितरण गरेका थिए ।

भाषा, साहित्य, कला र संस्कृतिको क्षेत्रमा पु¥याएको योगदानको आधारमा उनीहरुलाई सम्मानित तथा पुरस्कृत गरिएको प्रदेश–१, को पर्यटन तथा संस्कृति मन्त्रालयले जनाएको छ ।