April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

बेलायतमा सिसेक्पा तङनाम: यसपालीबाट भेला मात्रै होइन मेला पनि

4.8K

लन्डन । आदिवासी याक्थुङ लिम्बु समुदायको महान् पर्वमध्येको एक पर्व सिसेक्पा तङ्नाम (साउने संंक्रान्ति)लाई बेलायतमा भव्य रूपले मनाउन तयारी भइरहेको छ । जुलाईको तेस्रो साता किरात याक्थुङ चुम्लुङ यूकेको आयोजनामा भव्य रुपमा सिसेक्पा तङ्नाम मनाउने तयारी गरेको छ ।

कियाचुले आइतबार भर्चुअल पत्रकार सम्मेलन गरी ‘अब भेला होइन मेला पनि’ नाराका साथ करिब चार हजार बढीले तङ्नाममा सहभागिता जनाउने बताएको छ । लिम्बु पत्रकार सङ्घ यूकेले सहजीकरण गरेको प्रेस सेम्मलनमा बोल्दै कियाचु यूके अध्यक्ष नरवीर आङ्वोले कार्यक्रममा लिम्बु र गैरलिम्बु सबै समुदायको समान सहभागिता रहने विश्वास व्यक्त गरे । ‘सिसेक्पा तङ्नाम हामी आदिवासी याक्थुङ लिम्बु समुदायको महान् पर्व हो । तर, यस साँस्कृतिक अवसरमा सहभागी भएर खसी साटासाट गर्दै मनोरञ्जन लिन हुन हामी सबै नेपाली र बेलायतवासी समुदायलाई निमन्त्रणा गर्दर्छौ,’ अध्यक्ष आङ्वोले भने । चुम्लुङको आफ्नै जग्गाका रूपमा मेडस्टोनको याल्डिङमा रहेको चुम्लुङ देनमा तङ्नाम हुन लागिरहेको उनले बताए । सन् २०१९ मा चुम्लुङ देन उद्घाटन भएपश्चात् पहिलो पटक जुलाई १६ तारिखमा तङ्नाम हुँदैछ । कोरोना महामारीका कारण दुई वर्ष स्थगन भएको थियो ।

तङ्नामको तयारीबारे जानकारी गराउँदै उपाध्यक्ष एवम् कार्यक्रम संयोजक गणेश इजमले बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यको प्रमुख आतिथ्यमा तङ्नाम हुने जनाए । कार्यक्रममा बेलायतका विभिन्न संघसंस्था र क्षेत्रबाट ६५ बढी विशिष्ट अतिथिहरूले पनि सहभागिता जनाउनेछन् । ‘केन्द्रीय समितिका अतिरिक्त १६ शाखा समितिहरूसँगै, थामेन्दिङ्मा महिला समिति, याक्थुङ कुसा चुम्भो(यूथ फोरम) का सयौँ चुम्लुङकर्मीहरू आउनेछन्,’ संयोजक इजमले भने, ‘केलाङ, या?लाङ, हाक्पारे लगायत साँस्कृतिक नाचगान पनि रहनेछन् ।’ उनले सदाझैँ तङ्नाममा यूकेव्यापी केलाङ(च्याब्रुङ नाच) र या?लाङ(धान नाच)को प्रतियोगिता पनि हुने बताए । इभेन्टलाई चुस्त दुरुस्त बनाउन १७ सेक्टर इञ्चार्जहरू पनि खटाइएको छ । २५.३३ एकड क्षेत्रफलमा रहेको चुम्लुङ देनमा खाद्य पेय परिकार, परम्परागत सामग्री र घरेलु उद्योग, व्यापारिक प्रतिष्ठान, सामाजिक संस्थाका स्टलहरू रहनेछन् । नयाँ पुस्ताका लागि भाषा लिपिबारे चेतना जगाउन याक्थुङ यूथ फोरम र परम्परागत खानपिन, लत्ताकपडा, घरबुना सामग्री, गरगहनाबारे थामेन्दिङ्मा महिला समितले छुट्टाछुट्टै स्टलहरू राख्नेछन् ।

Advertisement

‘बालबालिकाका लागि भनेर यसपटक बन्जि ट्रेम्पोलिन, सबैका लागि रोटेपिङ साथै विभिन्न रमाइला खेलहरू पनि राखेका छौँ,’ संयोजक इजमले थपे, ‘हामीले सुलभ टिकट दरमै प्रवेश शुल्क र खेल शुल्क राखेका छौँ । यहाँहरूले कार्यक्रमस्थलमा नभए अग्रिम रूपमा नजिकको शाखा कार्य समितिमा टिकटका लागि सम्पर्क गर्न सक्नुहुनेछ ।’ यसैगरी, महाासचिव जुरेन्द्र खजुमले वर्षभरिकै सबैभन्दा ठूलो कार्यक्रम भएकोले पनि संयुक्त अधिराज्य(यूके) मा रहेका चारवटै राज्यबाट सहभागिता जनाउन सबैलाई अनुरोध गरे । उनले नयाँ र पुराना पुस्ताको संगम स्थल तङ्नाम हुने भएकोले पनि कार्यक्रमलाई अवसरका हिसबाले सदुपयोग गर्न आग्रह गरे । सो अवसरमा उच्च शिक्षा हासिल गरेका युवाहरूलाई सम्मान र चुम्लुङको खेलकुद कार्यक्रममा योगदान दिने एक जनालाई यलम्बरहाङ अवार्ड, सबैभन्दा सक्रिय चुम्लुङकर्मीलाई चुम्लुङ अवार्ड र कला सँस्कृतिमा महत्वपूर्ण योगदान दिने एक जनालाई आर्टिस्ट अफ दी यर समेत घोषणा गरेर पुरस्कृत गरिने महासचिव खजुमले जनाए ।

सन् २००३ मा स्थापना भएको कियाचु यूकेले पहिलोपटक आसफोर्डको ग्रेट चार्ट खेल मैदानमा सिसेक्पा तङ्नामका अवसर पारेर यूकेव्यापी याक्थुङहरूको भेला आयोजना गरेको थियो । पछि संख्या वृद्धि हुँदै गएपछि लन्डनको फेल्थाममा आयोजना हुन थालेपनि सन् २०१९ मा पहिलोपटक मेडस्टोनमा आयोजना भएको थियो । सिसेक्पा तङ्नाम प्रत्येक वर्ष साउन एक गते नेपालको लिम्बुवान क्षेत्रसँगै विदेशमा रहेका याक्थुङ बाहुल्य क्षेत्रमा उल्लासपूर्वक मनाउने गर्दछन् । यो पर्वलाई गाउँघरमा अनिकाल भगाउने र सहकाल भित्र्याउने पर्वका रूपमा लिने गरिन्छन् ।

लिम्बु पत्रकार सङ्घ यूकेका अध्यक्ष अमित थेवेले सहजीकरण गरेको पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासङ्घ यूके अध्यक्ष ध्रुव अर्याल, उपाध्यक्ष प्रमिला लाबुङ राई, नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ(फोनिज) यूके अध्यक्ष गोमा राना मगर, सचिव लीला सेलिङ माबो, नेफिन यूके महासचिव विमला सेने, नेपाल मामिला डटकमका प्रधान सम्पादक खुसी तावा लिम्बु, याक्थुङ–खस द्वैभाषिक पत्रिका थोदिमका सम्पादक छत्र वनेम थिए । त्यस्तै, चुम्लुङ तर्फबाट उपाध्यक्ष अमृता पालुङ्वा, सहकोषाध्यक्षहरू जीवन प्यारा मादेन, नर सवेन्हिमको समेत उपस्थिति रहेको थियो ।