हतुवागढी । कथाकार म्यामराज राईको लघुकथा सङ्ग्रह ‘हाम्रो बाटोको होम लन्च’ गत शनिबार सगरमाथा मा.वि. घोरेटार, हतुवागढीमा सम्पन्न भएको छ । हतुवागढी सार्वजनिक पुस्तकालय र इश्वरमान राई अध्ययन प्रतिष्ठान केन्द्रले आयोजना गरेको सो कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि हतुवागढी गाउँपालिका अध्यक्ष प्रेम कुमार राई, हतुवागढी गाउँपालिका उपाध्यक्ष सुनिता किराँती पुर्व सांसद धनहर्क राईले संयुक्त रुपमा सो कथा सङ्ग्रहको होम लन्च गरेका हुन् ।
होम लन्च पश्चात सो कृतिमाथि विमर्श (प्यानल डिसकस)गरिएको थियो । कवि गजलकार अरुण आकाशले सहजीकरण गरेको सो सेसनमा कवि तथा साहित्यिक पत्रकार प्रकाश दिप्साली राई, शिक्षकहरु प्रकाश बान्तावा र मन्जु नेपालले भाग लिएका थिए ।
कृतिमाथि आफ्नो धारणा राख्दै प्रकाश बान्तावाले यो हाम्रो बाटोभित्रका कथाहरुले नेपाली समाजलाई सर्लक्कै उतारेको बताए । यस्तै अर्का वक्ता मन्जु नेपालले यो कृति पढ्दा हामीलाई सकारात्मक सन्देशहरु दिने खालका कथाहरु रहेका बताए ।
अर्का वक्ता कवि तथा साहित्यिक पत्रकार प्रकाश दिप्साली राईले यस भित्रका कथाहरूले नेपाली समाजको ऐना भएको बताए । उनले भने–‘अझ हतुवाको पहिचान थपिएको भए अरु सुगन्ध थपिने थियो तर आगामी दिनमा कथाकार ज्यूले यो कुरा मनन गर्नुहुनेछ ।’
विमर्श कार्यक्रम पश्चात् अधिकांश वक्ताहरुले । म्यामराज राईको यो कृति आउनु भनेको हतुवागढीको साहित्यकासमा एउटा इट्टा थपिएको बताए । सो कार्यक्रममा गजललार इश्वरबहादुर खड्का, आशाराम राई, बिश्वजित राई, हतुवागढी –५ का वडाअध्यक्ष सुरेस राई, गाउँपालिका उपाध्यक्ष सुनिता किराँती लगायतले मन्तव्य राखेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि हतुवागढी गाउँपालिका अध्यक्ष प्रेम कुमार राईले हतुवागढीमा एकपछि अर्को कृति आउनुले हतुवागढीको प्रतिष्ठा बढेको बताए । उनले थपे– ‘हामी आफू केही गर्नु भन्दा पनि अरुको कमजोरी पर्खेर उछितो काढ्नेक्रममा आफ्नै उछित्तो काढी पठाउने प्रवित्ति रहेको यथार्थतालाई म्यामराज जिले ‘प्रवित्ति’ लघुकथाले मलाई अति नै छोएको छ । कला र साहित्यको निम्ति गाउँपालिका सदा सकारात्मक रहेको छ । यहाँहरुसँगै पालिका रहनेछ ।’
कार्यक्रमको सभाध्यक्ष प्रतिष्ठानका अध्यक्ष इन्द्र थापाले गरेका थिए ।