-उदय पुर्वेली चोङ्वाङक्याक
मान्छे जीवन र मरणको गुमराहमै अलमलिएर बाँचेको हुन्छ । हामी सबैलाई थाहा छ कि, मृत्यु अकाट्य सत्य हो । यद्यपि, यसको आवागमन र अन्त्य पनि अन्योलतामै हुन्छ । अन्योलतामा एकप्रकारको अदृश्य यान्त्रिक शक्ति लुकेको हुन्छ । अन्योलताले सम्भव र असम्भव, सत्य र असत्य,राम्रो र नराम्रो, ढिलो र छिटो, सफलता र असफलता,हार र जीत, जन्म र मृत्युु केही पनि पर्गेल्न सक्तैन । यदि मान्छेमा सम्भ्रम नभइदिएको भए, दुर्घटनामा परिने भयले मान्छे गाडी, हवाईजहाज, पानीजहाज र मोटरसाइकल आदिमा यात्रा नै गर्दैनथे होलान् ? विभ्रम, आसा, कर्म र आत्मविश्वास जिन्दगीलाई गति र उर्जा प्रदान गर्ने अमूल्य इन्धनका स्रोत हुन् भन्ने मलाई लाग्दछ । दुबिधाले अनन्त जीवनको परिकल्पना गर्दछ, जबसम्म वास्तविक जीवनको अन्त्य हुँदैन । म सानो छँदा मेरो घरको तलतिर नजिकै बगिरहेको मैवाखोला देखेर यो खोलामा बगेको पानी भरिँदै आएर कुनैदिन मेरो घर डुबानमा पर्दा, म पनि डुबेर मर्छु होला ? दिउँसो डुब्यो भने, मेरो घरबाट देखिने अग्ला ठाउँहरु असाङ्लुङ्मा, फक्ताङ्लुङ्मा मुकुम्लुङ्मा (सेमुक्तु मुक्तु कोक्मा) र आवाजङ थेगुतिर भाग्छु, भन्ने सोच्दथेँ । कुनै जीवजन्तु सडिएको वा कुहिएको सिनु अवस्थामा देख्दा, मनोवैज्ञानिक समस्या वा मनग्रसित बाध्यता बिकार (Obsessive Compulsive Disorder) को मनोदशाले धेरै दिनसम्म खाना नै रुच्दैनथ्यो ।
मेघ गर्जदा वा गाउँघरमा याक्थुङ जातिको विवाह र मृत्युु संस्कारमा पड्काइने भरुवा बन्दुकको आवाजदेखि म अत्यन्तै त्रसित हुन्थेँ । म उभिएको ठाउँबाट देखिने टाढाटाढाका भूक्षितिजहरु भन्दा पर अरू कुनै भूगोल नै छैन भन्ने ठान्दथेँ । किशोर अवस्थाको छँदा, विवाहित जोडी र उनीहरूको सन्तान देखेर तिनीहरुसँग मनमनै आफूलाई तुलना गर्दै, आफू पनि बिहे गरेको र बच्चाबच्चीको बाबु भएको कल्पना गर्दा हीनताबोधले भित्रभित्रै आफ्नै मनको लाजले निमोठिएर हुरुक्कै हुन्थेँ । मान्छे मरेको लास देख्दा मेरो मनमा मृत्युको बारेमा भय र अनेकन जिज्ञासारुपी प्रश्नहरु खडा हुन्थे । त्यतिबेला मैले बुझेको मान्छे बूढो भएपछि मात्र मर्छ भन्ने हो । तर, मेरो घरमुन्तिर गल्लीको नजिकै रहेको वजिक अथवा याक्थुङ भाषामा दाँत नपलाइकन मरेका शिशुहरु गाड्ने चिहानमा गाउँकै दुईजना मृत बालकहरु गाडेको थाहा पाएपछि म निकै विक्षिप्त भएको थिएँ । त्यतिबेला, मान्छे बूढो भएपछि मात्र मर्छ भन्ने मेरो बुझाइले फेल खाएको थियो । तर, ती साधारण अन्योलताहरुलाई क्रमशः समयको गतिसँगै छिचोल्दै अहिले म अझ जटिल प्रकृतिका कैयन रहस्यमय उद्वेगहरुको माझ,बाक्लो कुहिरो बिचको काग झैँ रुमलिईरहेकै छु ।
अधिकाङ्श मानिसको मनमा मृत्युको भयले स्वाभाविक रुपमा बास गरेकै हुन्छ । यदि,मानिसलाई आफ्नो मृत्युको निश्चित समय थाहा हुने भएको भए,सायद आफ्नो मृत्युको समय हुनुभन्दा केही समय अगावै एनेस्थेटिक इन्जेक्सन प्रयोग गरेर बेहोस भई आफूलाई हुनसक्ने सम्भावित सकस खेप्नबाट मुक्ति पाउने कोसिस गर्थ्यो होला? अथवा राइसिन वा साइनाइड जस्ता प्राणघातक कडा विषादीको सहायताले केही क्षणमै सजिलोसँग देहत्याग गथ्र्यो होला ? तर, यी त पूर्णतया असम्भव र अत्यन्तै काल्पनिक कुरामात्रै भए । यथार्थ अर्कै प्रकृतिको हुनसक्छ । यद्यपि, बौद्ध धर्म दर्शनले भने, विपश्यना ध्यानको साधनाद्वारा साधकले समाधि प्राप्त गरिसकेपछि उसले आफ्नो मृत्युको समय बोध गर्नसक्छ । उक्त समयको पूर्वसङ्केत पाइसकेपछि बिसौँदिनसम्म ध्यानमा लीन भएर “थुग्दम“ विधि अपनाई पलेटी कसेर बसेकै आसनमा सहजरूपमा देहत्याग गर्नसक्छ भन्नेमा विश्वास गरेको पाइन्छ । यद्यपि,प्रक्रियागत र विधिवत रुपमा जोकोही समाधिस्त हुनु भने,चानचुने कुरा होइन । जे होस्, म पनि धेरथोर पैसा आर्जन गर्न सकिन्छ या सकिँदैन होला ? कतै सुतेको सुत्यै भएर रातो ताबूतमा थाहै नपाई फर्किनुपर्ने अवस्था त आइपर्दैन ? लुटेरा र गुण्डाहरुद्वारा लुटिनु र कुटिनु पर्ने त होइन ? कुनै अन्जान युवतीको बनावटी मायाजालमा फसिनु पर्ने त होइन ? काममा खटिन अत्यन्तै कठिन हुने त होइन? अचानक रोगको हमलामा परी सिकिस्त बिरामी हुनु त पर्दैन? कतै मलेसिया बसाइको सिलसिलामा साथीभाइसँग झैझगडा त पर्दैन? जस्ता अनेकौँ अन्योलताको कुम्लो मस्तिष्कमा पोका पारेर,दोधारैदोधारको भुमरीमै जाकिएर मलेसिया भासिएको हुँ । तर, मेरो मान्यता के हो भने, जस्तोसुकै बाधाअड्चन बेहोर्नु परेपनि जीवनमा कर्म गर्न अनिवार्य छ । भाग्य र भगवान भनेका केवल अल्छीहरुले जप्ने नाम मात्रै हुन् । कर्म भनेको ईश्वर हो भने, मेहनत वा परिश्रम भनेको नै भाग्य हो । त्यसकारण; ईश्वर र भाग्य आफूभित्रै निहित हुन्छ । वास्तवमा, श्रम र पसिना बगाउने व्यक्ति तुलनात्मकरुपमा स्वस्थ,तन्दुरुस्त र व्यस्त हुन्छन् । व्यस्तताले एकहदसम्म विकृत मानसिकता वा डिप्रेसनलाई समेत नियन्त्रण गर्न मद्दत पु¥याउँछ । एउटा काल्पनिक कुरा गर्नुपर्दा, यदि कुनै एक व्यक्तिले दैनिक बाह्रघण्टा सुत्ने काम पाएकोखण्डमा ऊ हप्तादिन सम्मपनि टिक्न सक्तैन । यसको मतलव, हाम्रो शरीरको प्राकृतिक संरचना नै निद्रा लागेमा सुत्ने,थकाइ महसुस भएमा विश्राम लिने र पर्याप्त समय श्रम गर्नको निमित्त प्रयुक्त ढाँचाको छ । पैसा र सम्पत्ति आर्जन गर्नु वा नगर्नु छुट्टै पाटो हो । त्यो भनेको व्यक्तिको विवेक,योग्यता,क्षमता,सीप,समय र परिवेशमा भर पर्दछ । तर, श्रम र पसिना बगाउनेका लागि कुनै शारीरिक व्यायाम र योगाको जरुरत नै पर्दैन । यसले रोगको औषधिउपचारमा लाग्ने खर्चको बचत र रोगी भई पीडादायी जीवन व्यतीत गर्नबाट पनि मुक्ति दिलाउँछ । हाम्रो जुन हात बढी चलायमान हुन्छ, त्यै हातको नाडी कसिलो हुन्छ । जस्तै; देब्रे चलाउनेको देब्रे हात र दाहिने चलाउनेको दाहिने हातकै मांसपेशीहरु एकदमै मजबुत हुन्छन् ।
पानी जब जम्छ, तब फोहोर हुनथाल्छ । जति द्रुतगतिमा बग्छ, उत्तिनै सफा र ताजा हुन्छ । एवम् रीतले, शरीरको रक्तसञ्चार प्रणाली पनि सक्रियरुपमा प्रवाह हुन आवश्यक हुन्छ । उमेर ढल्किदै जाँदा, शरीर पनि बिस्तारै शिथिल हुँदै जानु सम्पूर्ण जीवित प्राणीको हकमा एउटा सामान्य प्रक्रिया हो । बुढेसकालमा बुढ्यौलीले अठ्याए पनि सम्भव भएसम्म शारीरिकरुपमा जटिल कामहरू गर्न सामर्थ्य वा तागतले साथनदिए पनि चोया काढ्ने, कुखुरालाई चारो हाल्ने,घरआँगन वरपर हिँडडुल गर्ने, करेसाबारी चाहार्ने जस्ता सरल कामहरु गरेर मृत्युलाई च्यालेन्ज दिईरहनु पर्दछ । यी कामहरू कसैका लागि नभएर आफ्नै शरीर र स्वास्थ्यको फाइदाका निम्ति गरिने हो । यसको अवला समय मिलाएर गीत सङ्गीत सुन्ने, साहित्य,विज्ञान,राजनीति,दर्शन लगायतका ज्ञानवर्द्धक पुस्तकहरु अध्ययन गर्नु मानसिकरुपमा झनै बढी फाइदाजनक हुन्छ । भूतकाल वा अतीतलाई हामी कसैले चाहेर पनि सुधार्न वा बिगार्न सकिँदैन । तर, वर्तमानमा टेकेर भविष्यलाई बदल्न सकिन्छ । त्यसकारण, विगतका तीता अनुभव र कमीकमजोरीबाट पाठ सिक्दै, त्यसबाट उत्पन्न लघुताभास वा हीनताबोधलाई मस्तिष्कबाट दूर गर्नु नै उत्तम हुन्छ । मान्छेको जीवनमा भोलिपल्टको हरेक सुनौलो बिहानी एउटा नयाँ जीवनको सुरुवात हो । विज्ञानले भन्छ, हरेक सातवर्षको अन्तरालमा शरीरका सम्पूर्ण कोषिकाहरु पूर्णरूपमा फेरिएर नयाँ कोषिकाले बनेको, नयाँ शरीर निर्माण हुनेगर्दछ । जीवशास्त्रीहरु भन्छन् ; About 300 million cells die every minute in our bodies but, replacements arrive even as the cells die. भनेपछि; एक जिप्टोसेकेन्ड पनि हरेक प्राणीको लागि नौलो जीवन हो । सार्थक जीवन त्यो हो, आफ्नो मृत्युु हुनुभन्दा केही समय अघिसम्म पनि जिजीविषाले साथ नछोडोस्! यो कुरा युवावर्गले अझ राम्रोसँग अवलम्बन गर्न जरुर छ । जीवन, जगत, देश, काल र परिस्थितिलाई बुझ्नका लागि, अध्ययनको दायरा सकेसम्म बृहत् बनाउन र अध्ययन–अनुसन्धानको पाटोलाई झनै फराकिलो तुल्याउन अनिवार्य हुन्छ । यसका लागि सुविधायुक्त रेडिमेड खुराक भनेका व्यावहारिक र जीवनोपयोगी पुस्तकहरु नै हुन् । अविच्छिन्न इच्छाशक्तिले उमेरको कुनै लम्बाई नापी रहँदैन । सगरमाथा आरोहीहरुको ट्रयाक रेकर्डलाई हेर्ने हो भने, म्याग्दीका पर्वतारोही मीन बहादुर शेरचनले ७६ वर्ष ३४० दिनको उमेरमा सन् द्दण्ण्ड मा सफलतापूर्वक सगरमाथाको शिखरमा पाइला टेकेका छन् । दोस्रोपटक ८६ वर्षको उमेरमा सगरमाथा आहोरणमा विश्व कीर्तिमानी कायम गर्ने तयारीमा खटिरहेकै बखत सगरमाथाको आधार शिविरमा अचानक उहाँको देहावसान भएको थियोे । त्यसैगरी, जापानी पर्वतारोही युइचिरो मिउरा ( Yuichiro Miura) ले ८० वर्ष २२४ दिनको उमेरमा 23, 2013 मा विश्वको सर्वोच्च शिखर सगरमाथाको टाकुरामा पाइला राख्न सफल भई सबैभन्दा बढी उमेरका सगरमाथा आरोहीको रुपमा Guinness book of world records मा अग्रपङ्क्तिमा आफ्नो नाम लेखाएका छन् । हुन त मैले जिन्दगीका ती पछिल्ला पानाहरु पल्टाएर हेर्न र अनुभव बटुल्न भने, केही समय बाँकी नै छ । त्यो समय पनि अगाडि नै छ । त्यसैले,यो अनुभव बटुल्नका लागि मेरो हतारले तत्कालै फत्ते हुने विषय पनि होइन । हेरौँ, सोचाइ र भोगाइ, लेखाइ र गराइबिच के कतिको तारतम्यता हुँदोरहेछ? त्यो कुरापनि अन्योलताकै खल्ती भित्रै छोडिदिउँ । जे हुन्छ, बेला आएपछि, त्यसको फैसला पनि समयले नै गर्नेछ ।
मेरो मलेसियाको सातवर्ष लामो बसाइमा, गाउँघरका छरछिमेक, इष्टमित्र, नातागोता सँगको सामाजिक सामिप्यता र सहकार्य ओझेलमा परेको छ । सबैभन्दा महत्त्वपूर्ण पाटो भनेको, घरपरिवारको सुखदुःख, खुसी र पीडाहरुमा भौतिकरुपमा सहभागी भई, पारिवारको आन्तरिक स्वामित्वको रक्षागर्ने दायित्वबाट समेत बञ्चित हुनुपर्दाको चोट भयङ्कर कष्टप्रद र दर्दनाक हुँदोरहेछ ! जे होस्, त्यसलाई पनि मनको गहिराइमा सुषुप्त ज्वालामुखीको हालतमा, कामको धपेडी र विवशताको ढकनले जबरजस्त ढाकछोप गर्ने अनवरतरुपमा धृष्टता गरिरहेकै छु ।
जेजस्तो भएपनि नमरी बाँचे, विश्वव्यापी महामारी कोरोनाले साँचे यी “सम्झनाका छालहरू” लाई किताबको पानामा उतारेर म सँगसँगै चाँडै नै घरदेश पु¥याउने तीव्र इच्छा,आसा र आकाङ्क्षा लिएको छु । अनि, म विदेसिदाका क्षणमा मेरो घरको ढोकामा छाडेका पैतालाका पूर्वतिर फर्किएका पदचापहरुमा पुनः मेरा पाइलाहरु एकाकार हुनेछन् । हुरीबतास चल्दा होस् या असिनापानी बर्सिदा,आखिर सम्झिने भनेको घर नै हो । अनि समुन्द्रपारीको बिरानो देशबाट पनि सम्झने भनेको आफ्नै घर हो । परदेशका गगनचुम्बी महलमा बसेर पनि सम्झिने भनेको आफ्नै प्यारो झुपडी नै रहेछ । साह्रोगाह्रो, दुःखविराम वा आपतविपतमा पनि सबैभन्दा पहिले अनायासै सम्झिने भनेको घरपरिवार नै रहेछ । परिवारका सदस्यसँगको भावनात्मक सम्बन्ध र अटुट सम्झना भनेकै घरको मूलआत्मा वा प्राण हो । वरिपरिका प्राकृतिक अनुपम दृश्यहरु त्यसका सुन्दर गहना हुन् । विदेशका रेस्टुराँहरुमा बनेका केएफसी,पिजा,बर्गर जेसुकै खाएपनि खेतको आलीमा फलेको कालो दाल,किनिमा र लोकल कुखुराको परिकारको छेउमा फिका र खल्लो मात्रै लाग्दछन् । समुन्द्रका ठूलाठूला माछाभन्दा पनि मैवा,मिवा र तमोर नदीको दुईसय ग्रामको असला र चुच्चे माछाको लोहो नै नछुट्याइकन टुक्र्याएर नुनमात्रै हालेर, तातोपानीमा उमालेर खाएको सम्झदा मुखै रसाउँछ । ग्रोसरी पसलका पिरामिडमा सजाइएका तरकारी र फलफूलका डङ्गुरभन्दा आफ्नै करेसाबारीमा फलेका इस्कुस,फर्सी,तीतेकरेला,साग साथै ताजा अम्बक,आँप,कोला आदिको स्वाद र सुगन्धले बारम्बार नाक र जिब्रोलाई स्पर्श गरिरहन्छ । अहिले म जहाँ बसिरहेको छु, यहाँ एसी रुम र हिटरजडित बाथरुमको सुविधा उपलब्ध छ । सुत्नको निमित्त गेथा बेडको प्रयोग गरिरहेको छु । नेपालमा मैले आवासको लागि यो सुविधा उपभोग गर्नु भनेको मेरो पहुँचभन्दा टाढाको कुरा हो । मलेसियाको हकमा अधिकांश विदेशी कामदारले एसी रुम र हिटरको व्यवस्था भएको बाथरुम प्रयोग गर्ने सुविधा उपलब्ध हुँदैन ।
मलेसियाले प्राकृतिक ग्यास र कोइलाजस्ता जैविक इन्धनद्वारा सबैभन्दा बढी विद्युत् उत्पादन गर्ने भएकोले यहाँ चौबीसै घण्टा विद्युत् सेवा प्रवाह भइरहन्छ । पानीको आपूर्ति धेरै सस्तो छ । उपभोक्ताहरुको हकमा यो मलेसियाको धेरै अब्बल विशेषताहरु मध्येको एउटा सबल पक्ष पनि हो । तैपनि, जाडो मौसममा आफ्नै झुपडीको भुईँमा परालको गुन्द्री बिछ्याएर ठाउँठाउँमा टालेको तातो सिरक ओढेर सुत्नुको आनन्द नै अर्कै । अँगालोभरिको श्रीमती र ताता तुतु,आम्मा, माम्, पापा… भन्दै, तोते बालबोली बोल्न सुरु गरेका सन्तानहरुको माझमा निदाउनुको मज्जा नै बेग्लै । तर,अझै कतिन्जेल सम्म हामी नेपालीहरु प्राकृतिक स्रोत र साधनमा अत्यन्तै सम्पन्न र भौगोलिकरुपमा विविधतायुक्त सुन्दरताले भरिपूर्ण देशमा जन्मिएर पनि आफ्नो प्यारो मातृभूमि, गाउँघर, छरछिमेक, साथीसङ्गी, आफन्त, परिवार र प्रियजनहरुसँग टाढिएर युरोप, अमेरिका, कोरिया, खाडी मुलुक र मलेसियातिर भौँतारिँदै दिन बिताउनुपर्ने हो ? थाहा छैन । झट्ट सुन्दा अपत्यारिलो, तर यथार्थ अनुभव हो । जहाँ दिन, हप्ता, महिना र वर्ष चाँडै बिते हुन्थ्यो भन्ने चाहना सधैँभरी मनमस्तिष्कमा पालेर राखिन्छ । यस्तो मानवीय भावना, संवेदना र स्वाभिमानको दृष्टिकोणले अत्यन्तै संवेदनशील परनिर्भर जीवन प्रणाली हाम्रो सन्ततिहरुले व्यतीत गर्न नपरोस्,भन्ने मेरो गहिरो आपेक्षा र शुभेच्छा पनि रहेको छ । किनकि; मैले यहाँ उजागर गरेका यथार्थमा आधारित जिन्दगीका पटकथाहरु सिर्फ पुराना स्मरणका प्रतिनिधि घटनाहरुका केही किस्साहरु मात्रै हुन् । जिन्दगीको प्रहसन थिएटरको पर्दापछाडि नेपथ्यका गुमनाम सङ्घर्षका अनुपयोगी कथा–कहानीहरूको सङ्ग्रह मनको लाइब्रेरी मै सङ्ग्रहित छन् । मेरो देशको प्राकृतिक स्रोतसाधन,सुन्दरता र विविधतायुक्त अमूल्य सम्पदाहरुलाई उपभोग र सदुपयोग गर्नका निमित्त देश बनाउने ठेक्कालिएर शासन सत्ताको मुख्य बागडोर सम्हालेकाहरुको इच्छाशक्ति र दूरदर्शिताको अभावले युवाशक्तिलाई स्वदेशमै रोजगारीको अवसर प्रदान गरेर, देश निर्माणको महाअभियानमा परिचालन गर्न बारम्बार असक्षम र असफल भएकै कारणले मेरो “सम्झनाका छालहरू” को विषयवस्तु जुटाउन सहयोग पुगेको छ । यसलाई प्रस्फुटन गर्ने निराशाजनक अवसर प्रदान गरेकोमा म र म जस्ता लाखौँ परदेशी युवायुवतीहरूको पीडा र चीत्कारको आवाजको एकमुष्ट प्रतिनिधित्व गर्दै, म ती राजनीतिक दलहरू र तिनका नेतृत्वहरुलाई पनि “सम्झनाका छालहरू” मार्फत नै धन्यवाद टक्य्राउँन चाहन्छु ! यादहरु पनि कुनै सम्झन योग्य वा नोस्टाँल्जिक मनोभावनामा बग्दछन् भने, कतिपय अतीतहरु बिर्सन लायक अनि रुखो वा उजाड पनि लाग्छन् । तर, परदेश भनेको यस्तो सम्झनाको भोको ठाउँ हो,जहाँ गाउँघरमा छँदा, गोबर सोहरेको,खेतबारीमा डल्ला फोरेको,रुखमा चढेर डाले घाँस काटेको,हलो जोतेको,भारी बोकेको र कहिलेकाहीँ श्रीमतीसँग प्रेमिल झगडा परेका क्षणहरु समेत सुमधुर “सम्झनाका छालहरू” बनी मनको तलाउमा छचल्किँदा रहेछन् ।