काठमाडौं । एक साताअघि सिरहाको अर्नमा गाउँपालिकामा भएको बाबुछोराको हत्यामा संलग्न रहेको आरोपमा ३ जना पक्राउ परेका छन् । मृतकका बुहारीसहित तीन जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
गत जेठ ७ गते राती आफ्नै घरमा सुतिरहेका अर्नमा गाउँपालिका-१ महनौरस्थित पाल टोलका ६० वर्षीय चन्देश्वर पाल र उनका १९ वर्षीय छोरा सन्तकुमारको धारिलो हतियार प्रहार गरी हत्या भएको थियो।
उक्त घटनामा संलग्न रहेको आरोपमा प्रहरीले मृतक चन्द्रेश्वरकी बुहारी २६ वर्षीया शान्तिदेवी, स्थानीय ४८ वर्षीय जनिफ मियाँ र सिरहाको गोलबजार नगरपालिका-४ का ६५ वर्षीय बेचु पाललाई पक्राउ गरेको हो।
प्रहरीका अनुसार उक्त घटनामा प्रयोग भएको खुकुरी, खुकुरी राखेको झोला र चार थान मोबाइलसमेत बरामद गरिएको थियो । अनुसन्धानबाट पारिवारिक रिसइबीका कारण बाबुछोराको हत्या भएको खुलेको प्रहरीले जनाएको छ।
पक्राउ परेका तीनै जनालाई कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालबाट सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ ।