काठमाडौं । कवि तथा कथाकार राधा कार्की ‘शाश्वत आकृति’ नामक कवितासङ्ग्रह लिएर आएकी छन् । उनको कवितासङ्ग्रह ‘शाश्वत आकृति’को नयाँ वर्षका दिन राजधानीमा आयोजित कार्यक्रममा नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेती, उपकुलपति डा. जगमान गुरुङ, सदस्य सचिव प्रा. जगत्प्रसाद उपाध्यायलगायतका अतिथिले सार्वजनिक गरे ।
कृति सार्वजनिक कार्यक्रममा बोल्दै कुलपति उप्रेतीले कवि राधा लगनशील स्रष्टा भएको बताए । कुलपति उप्रेतीले राधाका कविताहरू विषयवस्तु, शिल्प र शैलीका हिसाबले सुन्दर भएको उल्लेख गरे । “राधाजीबाट अझ सुन्दर कविता सिर्जना हुने अपेक्षा गर्न सकिन्छ” उनले भने ।
सदस्य सचिव प्रा. उपाध्यायले जीवन र जगत्का विविधि पक्षलाई विषय बनाएर लेखिएका राधाका कविताहरूले समाजलाई सकारात्मक सन्देश दिने बताए । राधाका यसअघि लघुकथासङ्ग्रह संवाहक, बालकथासङ्ग्रह पप्पी र पट्टु प्रकाशित छन् । मकालु प्रकाशन गृहबाट प्रकाशित ‘शाश्वत आकृति’मा ५२ ओटा कविता समाविष्ट छन्