April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

दिलिप बान्तावाको कथासङ्ग्रह “ताल्चा” सार्वजनिक

२०७८ फाल्गुन १५

2.3K

भोजपुर । हतुवागढीका कथाकार दिलिप बान्तावाको कथासङ्ग्रह “ताल्चा” को हतुवागढी गाउँपालिकास्थित फलामढुङगामा सार्वजनिक गरिएको छ ।

हाल वैदेशिक रोजगारीका क्रममा दक्षिण कोरियामा रहेका बान्तावाको कथा कृति ताल्चालाई कार्यक्रमका प्रमुख अतिथि पहिचान पुरस्कार÷ मदन पुरस्कार विजेता, आदिवासी जनजाति साहित्यकार महासङ्घ, नेपालका अध्यक्ष राजन मुकारुङ र विशेष अतिथिहरूद्वारा संयुक्त रुपमा सार्वजनिक गरिएको हो ।

हतुवागढी कला साहित्य तथा साँस्कृतिक प्रतिष्ठान, हतुवागढीद्वारा आयोजना गरिएको सो कार्यक्रममा ४ जना वक्तहरूले सो पुस्तकमाथि चर्चा गरे । साहित्यकार एल.बि. प्रधान, शिक्षकद्वय मन्जु नेपाल , योगेन्द्र बस्नेत र कवि एवम साहित्यिक पत्रकार प्रकाश दिप्साली राईले कृतिमाथि आ–आफ्ना धारणा राखे ।

Advertisement

वक्ता प्रधानले हतुवागढीले यति सुन्दर कथाहरू पाउनु अहोभाग्य भएको बताउँदै बान्तावाका कथाहरू सामाजिक यथार्थसँग नजिक रहेको बताए । मन्जु नेपालले यो कथाले समाज र समाजको खास कुराहरू बोलेको बताए ।

त्यस्तै, योगेन्द्र बस्नेतले हतुवागढीको इतिहासदेखि वर्तमानसम्म घटना परिघटनाहरू ताल्चामा रहेको बताउँदै अझै केही विषय छुटेको हो कि जस्तो लाग्ने बताए । अर्का वक्ता कवि एवं साहित्यिक पत्रकार प्रकाश दिप्साली राईले ताल्चा कथा कृति हतुवागढीबाट आएको कृतिहरूमध्ये सबैभन्दा उत्कृष्ट रहेको ठोकुवा गरे । उनले यो कथाकृतिले हतुवागढीलाई जुरुक्कै माथि उठाउने बताए । उनले थपे ‘पहिचान र अस्तित्वको दृष्टिकोणले झनै अब्बल कृति रहेको छ । कुनै कुनै कथामा चाहिँ लेखकले एकतर्फी ढङ्गले लेखेको हो कि ? जस्तो लाग्ने खालका कथाहरू छन् । अनि केही कथाहरू चै अलि लामा पनि छन् । तर ताल्चाले बहुरङ्गी समाजको माग चाहिँ लोभलाग्दो ढङ्गले गरेको छ ।’

कार्यक्रममा पुर्व सांसद धनहर्क राई, शिक्षासेवी इश्वरमान राई, हतुवागढी गाउँपालिकाका अध्यक्ष प्रेमकुमार राईले आफ्नो मन्तव्य राखेका थिए ।

कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि राजन मुकारुङले ताल्चाका कथाले यो समाजको प्रतिनिधित्व गरेको बताए । उनले पाठकहरूतर्फ इङ्गित गर्दै भने ‘दिलिपको वर्णन गर्दै रुवावासी गर्नुभन्दा नि उनलाई पढ्नुले चाहिँ खास अर्थ राख्छ। भोजपुरको लेखनमा ठूलो जेनेरेसन ग्याप पछि एउटा शक्ति बोकेर दिलिपको कृति आएको छ । हामीले कस्तो समाज जियौँ ? दिलिपको कथाहरू काफी छ ।’

कार्यक्रममा सुनिता राई, अर्जुन राई अपहेलित, पूर्ण सन्ध्या समाधी , विश्वजित चाम्लिङ राई लगायतले रचना वाचन गरेका थिए । यस्तै विविध गीत सङ्गीत समेत प्रस्तुत गरिएको थियो ।

प्रतिष्ठानका अध्यक्ष कृपालसिं राईको सभाध्यक्षमा सम्पन्न सो कार्यक्रममा सन्चालन भने प्रतिष्ठानका सहसचिव सन्जाल राईले गरेका थिए ।