March 13, 2025, Thursday
२०८१ फाल्गुन २९
1:37:26 pm

गैँडाको मृत्युमा व्यवसायीलाई कारबाही गर्न खोजिएको भन्दै महासङ्घको आपत्ति

2.2K

काठमाडौं । सडक विस्तारका क्रममा नाली बनाउन खनिएको खाल्डोमा परेर गैंडाको मृत्यु भएको घटनामा निर्माण व्यवसायीलाई कारबाही अघि बढाइएकामा नेपाल निर्माण व्यवसायी महासङ्घले आपत्ति जनाएको छ । चितवनमा एकसिङ्गे गैँडा मरेपछि निर्माण व्यवसायीलाई समेत आरोपित गरी गैरकानुनी रूपमा सम्बन्धित निकायबाट कारबाही अगाडि बढाइएको भन्दै महासंघको गम्भीर ध्यानाकर्षण भएको जनाइएको हो ।

महासंघको विज्ञप्तिमा निर्माण कम्पनी इन्डो(सगुन जेभीबाट सडक निर्माण गर्ने क्रममा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन नियमविपरीत हुने कुनै पनि काम कारबाही नभएको र सम्झौता बमोजिम नै निर्माण कम्पनीले अनुसरण गर्नुपर्ने सम्पूर्ण सुरक्षाका मापदण्ड अपनाइएको जनाएको छ । सडक डिभिजन कार्यालय भरतपुर अन्तर्गतको आयोजनाको निर्माण क्षेत्रमा गैँडाको प्राकृतिक आवतजावतका क्रममा भएको दुःखद् मृत्युको तथ्यलाई तोडमोड गरिएको महासंघको भनाइ छ ।

निर्माणस्थलमा क्रंक्रिटको नाली बनाइसकेपछि पूर्णरूपमा सेट हुनका लागि प्राविधिक रूपमा केही दिन खुल्लै राख्नुपर्ने प्रावधान रहेकाले नाली नपुरिएको र सम्झौता बमोजिम कम्पनीले साइट सुरक्षाका मापदण्ड र उपाय अनुसरण गरी आयोजनाको नियमित सुपरिवेक्षण र निर्देशनमा निर्माण कार्य गरिरहेका अवस्थामा प्राकृतिक रूपमा घटना भएको तथ्य जग जाहेर हुँदाहुँदै निर्माण व्यवसायीलाई नियोजित रुपमा आरोपित गरी झुठा लाञ्छना लगाई व्यवसायीलाई मुछेर मानमर्दन गरिएकोप्रति महासङ्घले आपत्ति जनाएको हो ।

Advertisement

घटनालाई लिएर निर्माण कम्पनी इन्डो–सगुन जेभीका प्रतिनिधि सहदेव खड्कालाई अनुसन्धानका नाममा झुठा लाञ्छना लगाई पक्राउ गर्नेलगायतका काम कारबाही रोक्न महासङ्घले माग गरेको छ । भविष्यमा समेत पूर्वाधार विकास निर्माण हुने क्षेत्रमा प्राकृतिक रूपमा हुने यस्ता घटनामा निर्माण व्यवसायीलाई आरोपित गर्ने कार्य नगर्नसमेत महासङ्घले नेपाल सरकार तथा सम्बन्धित निकायसँग माग गरेको छ ।