April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

राष्ट्रियसभा सदस्यका लागि लुम्बिनी प्रदेशमा मतदान जारी

6.8K

बुटवल । लुम्बिनी प्रदेशमा बिहान सवा ९ बजेदेखि राष्ट्रियसभा सदस्यका लागि मतदान जारी छ । लुम्बिनी प्रदेशबाट तीन सिटका लागि दाङको घोराही स्थित कर्मचारी मिलन केन्द्रमा मतदान भएको हो ।

लुम्बिनी प्रदेशमा चारवटा मतदानस्थल निर्माण गरेर मतदान गर्ने व्यवस्था मिलाइएको छ भने प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले पहिलो मतदान गरेका छन् । त्यसपछि सभामुख पूर्णबहादुर घर्तीलगायत उपसभामुख, अन्य मन्त्रीहरुले मतदान गरेका छन् ।

आगामी फागुन २० गते १९ जना राष्ट्रियसभा सदस्यको कार्यकाल सकिँदै छ । जसमा लुम्बिनी प्रदेशबाट कोमल ओली, दृगनारायण पाण्डे र रामलखन चमारको चार बर्षे कार्यकाल सकिन लागेको हो ।

Advertisement

यी तीन सिटका लागि सत्ता गठबन्धन र नेकपा एमालेका उम्मेदवारबीच प्रतिष्पर्धा हुँदैछ । जसअनुसार गठबन्धनबाट नेपाली कांग्रेस बाँकेका युवराज शर्मा, नेकपा एकीकृत समाजवादीबाट पाल्पाकी राज्यलक्ष्मी गैरे र राष्ट्रिय जनमोर्चाको तर्फबाट रूपन्देहीका तुलबहादुर विश्वकर्मा उम्मेदवार रहेका छन् ।

त्यस्तै, एमालेको तर्फबाट दाङका रामदयाल गुप्ता, बाँकेकी भारती खनाल उपाध्याय र गुल्मीका कृष्ण सुनार उम्मेदवार रहेका छन् । लुम्बिनी प्रदेशमा १२ जिल्लाका प्रदेशसभा सदस्य ८१ र १०९ स्थानीय तहका प्रमुख र उपप्रमुख २१५ जना गरी २९६ मतदाता रहेको निर्वाचन कार्यालयले जनाएको छ ।