April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

‘भिजिट भिसा’मा खाडी मुलुक जानेहरूको समस्या समाधानका लागि समिति गठन

2.5K

काठमाडौँ — नेपाली युवाहरू ‘भिजिट भिसा’ प्रयोग गरी दुबईलगायत खाडी मुलुकमा गई भोग्नु परेका कठिनाई र समस्या समाधानका लागि गृह मन्त्रालयका सहसचिव फणिन्द्रमणि पोखरेलको संयोजकत्वमा सात सदस्यीय समिति गठन भएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विभिन्न निकायको समन्वयात्मक परिचालन र व्यवस्थापनबारे सरोकारवाला निकायबीच छलफलबाट समिति गठन भएको हो । गृहमन्त्री बालकृष्ण खाँणको अध्यक्षतामा श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ, परराष्ट्रसचिव भरतराज पौड्याल, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव महेश्वर न्यौपाने, गृहसचिव टेकनारायण पाण्डेसहितका अधिकारीहरू बैठकमा सहभागी थिए ।

नवगठित समितिका सदस्यहरूमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव शेषनारायण पौडेल, परराष्ट्र मन्त्रालयका सहसचिव हरिसचन्द्र घिमिरे, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका वरिष्ठ प्रहरी उपरीक्षक भीम ढकाल र अध्यागमन विभागका निर्देशक (उपसचिव) प्रकाशचन्द्र अधिकारी रहेका छन् ।

Advertisement

समितिको सदस्यसचिवमा वैदेशिक रोजगार बोर्डका उपसचिव दिनबन्धु सुवेदी रहेका छन् । बैठकमा विदेशमा जाने नेपालीहरूका श्रमजन्य गतिविधि र श्रमका लागि भिजिट भिसाको प्रयोग, अध्यागमन प्रणाली र विदेशमा कार्यरत नेपालीहरूका समस्या समाधानबारे छलफल भएको गृह मन्त्रालयका सहसचिव मुकुन्दप्रसाद निरौलाले जानकारी दिए ।

बैठकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ट्रान्जिट प्यासेन्जर्सको सहजताका लागि उपयुक्त संरचनात्मक सुधार तथा व्यवस्थापन गर्न संस्कृति पर्याटन तथा नागरिक उड्डयन मन्त्रालयले समन्वय गर्ने निर्णय निर्णय गरेको छ । यस्तै पर्यटन मन्त्रालयले नै अन्तर्राष्ट्रिय उडानको आगमन तथा प्रस्थानलाई व्यवस्थित बनाउन उपयुक्त समय अन्तरालसहितको उडान तालिका व्यवस्थापन गर्ने निर्णय पनि बैठकले गरेको छ ।