April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

कृषिमा रमाएका दिनेश, जो महिनाको लाखौं आम्दानी गर्छन्

7.3K

प्राय नेपालीहरु रोजगारका लागि विदेश जाने गर्दछन् । नेपालका अधिकांश युवा जनशक्ति मलेसिया, कतार, साउदी लगायतका देशहरुमा प्रयोग भइरहेका छन् । दिनेश तिल्लिङ पनि रोजगारका लागि कतार पुगेका थिए । युवा रहेसम्म त विदेशमा काम गर्ने, देश फर्केपछि के गर्ने ? उलाई यो चिन्ताले पिरोल्यो । त्यसपछि देशमै फर्केर केहि गर्ने सोचले उनी नेपाल आए । स्थाइ घर तेह्रथुम लालिगुराँस नगरपालिका भएका तिल्लिङले सुनसरीस्थित धरान ५, ठिँगाबारीमा दश कठ्ठा जमीनमा कृषि व्यावसाय सुरु गरे । अहिले उनको आम्दानी महिनाको ७ देखि ८ लागखसम्म हुन्छ । उनी किराँत धर्मका सेवासाँवा पनि हुन् । उनीसँग नेपाल मामिलाले गरेको व्यावसायीक कुराकानी यहाँ प्रस्तुत गरिएको छ ।

वैदेशिक रोजगारीमा हुनुहुन्थ्यो, नेपालमै व्यावसाय गर्ने सोच कसरी आयो ?
विदेशमा रहँदा विदेश रहुन्जेल त मासिक तलब थापिन्छ, नेपाल फर्केपछि के गर्ने भन्ने मनमा चिन्ता थियो । विकल्प खोज्दै जाँदा व्यावसाय गर्छु भन्ने लाग्यो । व्यावसायमध्ये पनि कृषि नै उत्तम र दिगो व्यावसाय हो कि भन्ने लाग्यो । त्यसपछि कृषि व्यावसाय सुर गरेँ ।

कसरी कृषि व्यावसाय दिगो होला जस्तो चाहिँ कसरी लाग्यो तपाइलाई ?
नेपालमा कमैले मात्रै व्यावस्थित रुपमा कृषि व्यावसाय गरेका पाइन्छ । व्यवस्थित नहुँदा पनि अधिकांश नेपालीहरू कृषिमा निर्भर छन् । यसलाई अझ बैज्ञानिक तरिकाले गर्ने हो भने यो दिगो हुन्छ भन्ने मलाई लाग्छ ।

Advertisement

कृषिमा पनि कस्तो किसिमको व्यावसाय हो तपाइको ?
विशेष बंगुर पालन हो । त्यसपछि सब्जी बाली । टमाटर, आलु लगायतको मौसम अनुसारको तरकारी खेती गर्ने गरेको छु ।

आम्दानी कस्तो छ ?
आम्दानी संतोषजनक नै छ । परिवारसँगै बसेर, आफ्नै घरको खाना खाएर महिनाको ५/७ लाख कमाउन सक्नु मेरो लागि सन्तोषजनक आम्दानी हो । स्वदेशमै आफ्नो मालिक आफै बनेर काम गर्न पाउँदाको आनन्द बेग्लै हुन्छ । गर्व पनि महसुस हुन्छ । कामबाट बचेको समयमा सामाजिक काम पनि गर्न सकिन्छ । लगानी गर्न भने डराउनु भएन, आम्दानी राम्रै हुन्छ ।

कृषि व्यावसाय कमै नेपाली युवाहरूको रोजाइमा पर्ने गर्छ, यस पेशामा किन युवाह आकर्षित हुन सकेका छैनन ?
सर्वप्रथम त व्यावसायप्रती सरकारको कमजोर निति नै हो । त्यसमा पनि कृषि व्यावसायी प्राथमिकता नपर्नुले युवाहरूको रोजाइमा यो पेशा नपरेको हो । यश पेशामा युवाहरुको संलग्नता बढाउन नेपाल सरकारले व्यावसायीहरूलाई सहयोग पुग्ने किसिमको राहत कार्यक्रमहरू ल्याउनुपर्छ । अनुदानहरूको व्यावस्था गर्नुपर्छ । अहिले तिब्र गतिमा व्यावसायहरू सुरु भएका छन्, उनिहरूको आत्मबल बढ्ने किसिमको कार्यक्रमहरू ल्याउन जरुरी छ ।

बजार व्यास्थापनको अवस्था कस्तो छ ?
बजार व्यवस्थापनमा समस्या छ । स्वभावैले कृषक घाटामा त हुने नै भयो । बिचौलियाले उपभोक्ताहरूलाई पनि मारमा पारेको छ । हाम्रो चाहाना फार्म टू किचन हो । यदि यस्तो किसिमको सुविधा भए कृषक र उपभोक्ता दुवैलाई फाइदा हुनेथियो । बिचौलियाहरू सिधै बारिसम्म त आउछन् तर आफूलाई केही प्रतिशत नाफा राखेर मात्रै होलसेल पसललाई दिने फेरि ती होलसेल पसलले रिटेल पसललाई अनि मात्रै उपभोक्ताकहाँ पुग्दा कृषक र उपभोक्ता सरासर मारमा पर्ने गरेका छन् ।

कति क्षेत्रफलमा लगाउनुभएको छ ?
सब्जी र बंगुर पालन दुवै गरि करिब १० कठ्ठाको जमीनमा लगाएको छु ।
४०–४५ वटा माउ बंगुरहरू छन् । राम्रो चलेको खन्डमा महिनामा १०० वटासम्म पाठाहरू बेच्ने गरेको छु । एउटा पाठा प्रतिगोटा कम्तिमा ७ देखि साडे ७ हजार र बढिमा ८ हजारमा बिक्री गर्ने गरेको छु ।

यतिका कामका लागि कति जनशक्ति चाहिने रहेछ ?
मैले त कामदारहरू राखेको छैन । परिवारका २/३ जना सदस्यहरु खटिरहेको छौं । मेरो मान्यता नै आफै कामदार आफै मालिक बन्नुपर्छ भन्ने हो ।

अन्त्यमा ?
अन्त्यमा सम्पूर्ण युवाहरुलाई म नेपालमै पनि भविश्य छ भन्न चाहान्छु । र, युवाहरुलाई नेपालमै सम्भावना छ भन्ने विश्वस्त गराउने किसिमको कार्यक्रमहरु ल्याउन सरकारलाई अनुरोध गर्छु । कुनै पनि पेशामा राम्रो पूर्वअध्ययन गरेर लाग्ने हो भने राम्रो आम्दानी लिन सकिन्छ । अरुको देखेर ,हौसिएर अध्ययन नगरी सुरु गरेको खण्डमा भने फस्ने सम्भावना हुन्छ । त्यसैले व्यावसाय सुरु गर्न चाहने साथिहरुलाई त्यसबारे अध्ययन गरेर मात्रै सुरु गर्न अनुरोध गर्दछु ।

दिनेशका फार्मका केहि तस्विरहरु