April 21, 2025, Monday
२०८२ बैशाख ९
1:37:26 pm

कोभिड–१९ विरुद्धका स्वास्थ्य मापदण्डलाई पालना गर्दै तिहार मनाउन प्रधानमन्त्री देउवाको आग्रह

२०७८ कार्तिक २०

2.3K

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले कोभिड–१९ विरुद्धका स्वास्थ्य मापदण्डलाई पालना गर्दै यस पर्वलाई खुशीयालीका साथ मनाउन अनुरोध गरेका छन् । अझै पनि कोभिड–१९को जोखिम कायमै रहेको र सबै नागरिकलाई पूर्ण खोप लगाई नसकिएको हुँदा स्वास्थ्य मापदण्डलाई पालना गर्दै पर्व मनाउन आग्रहर गरेका हुन् ।

भाइटीकाका अवसरमा आज एक शुभकामना सन्देश दिँदै प्रधानमन्त्री देउवाले कोभिड–१९ को प्रभावलाई न्यूनीकरण गर्न सरकार निरन्तर क्रियाशील भएकाले होसियारीपूर्वक यस किसिमका पर्वलाई केही हदसम्म आपसीरुपमा बसेर मनाउन सक्ने सन्देशमा उल्लेख छ ।

त्यसैगरी प्रधानमन्त्री देउवाले सरकारको निरन्तर प्रयास र नेपाली दिदीबहिनी तथा दाजुभाइको सहयोगले कोभिड–१९ विरुद्धको खोप लगाउने कार्यमा उल्लेख्य प्रगति हासिल भएको पनि उल्लेख गरेका छन् ।

Advertisement

यतिबेला संविधानको संस्थागत कार्यान्वयनमार्फत मुलुकलाई विकास र प्रगतिको दिशामा अगाडि बढाइरहेको उल्लेख गर्दै आम नागरिक र राज्यका सबै निकायको आ–आफ्नै भूमिका एवं कार्यक्षेत्र रहने हुँदा सबैले आफ्नो भूमिकालाई बिर्सेर हिँड्न खोज्यौँ भने त्यसले हामी कसैलाई सफलता र खुसी दिन सक्दैन भनेर प्रधानमन्त्रीले सन्देशमा उल्लेख गरेका छन् ।

उनले तिहारजस्तो दिदीबहिनी र दाजुभाइको मिलन गराएर आपसी भाइचाराको सम्बन्ध बढाउने पर्वले हामी सबैलाई त्यो किसिमको प्रेरणा र खुसी देओस् भन्ने कामना गर्दै मुलुकमा शान्ति, अमनचयन र सुशासनको प्रत्याभूतिमा उचाइ हासिल गर्न मद्दत पुगोस् भन्ने कामनासमेत व्यक्त गरेका छन् ।