April 21, 2025, Monday
२०८२ बैशाख ९
1:37:26 pm

इजरायलमा कामदार पठाउने प्रक्रिया अन्तिम चरणमा

6.1K

काठमाडौं- श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले इजरायलमा नेपाली कामदार पठाउने प्रक्रिया अन्तिम चरणमा पुगेको जानकारी दिएको छ। 

मन्त्रालयले इजरायलमा कामदार पठाउन छुट्टै कार्यविधि तयार गरेको समेत जानकारी दिएको छ। तर यो कार्यविधि स्वीकृत भने भइसकेको छैन।

‘इजरायल रोजगारीका लागि मन्त्रालयले छुट्टै कार्यविधि तयार गरेको छ। अब केही समयपछि कामदार भर्ना प्रक्रियाको टुंगो लाग्छ,’ रोजगार व्यवस्थापन महाशाखाका प्रमुख एंव सहसचिव हरि मैनालीले भने। 

Advertisement

इजरायल रोजगारीका लागि नेपाली कामदार सरकारी संयन्त्रमार्फत पठाउने तगरी तयारी गरिएको छ। सरकारी संयन्त्र (जिटुजी)मार्फत कामदार पठाउँदा थप पारदर्शी हुने गरी कार्यविधि तयार गरिएको मन्त्रालयको भनाइ छ। दुई देशबीच भएको श्रम सम्झौताअनुसार तय गरिएको कार्यविधिमा कामदार भर्ना प्रक्रिया, लागत, कामदारको कार्यस्थल सुरक्षा, पारिश्रमिक लगायत अन्य सेवासुविधासमेत समेटिएको छ। 

सुरु हुँदै कामदार छनौट प्रक्रिया 
इजरायल कामदार पठाउने प्रक्रिया अन्तिम चरणमा पुगेकाले केही दिनमै कामदार छनाेट प्रक्रिया सुरु हुने बताइएको छ। कार्यविधि स्वीकृत भसकेपछि दुई देशबीच कार्यान्वयनसम्बन्धी प्रोटोकलमा हस्तारक्षर हुनेछ। लगत्तै कामदार भर्ना प्रक्रिया अगाडि बढाइनेछ।

‘हामी अन्तिम चरणमा छौँ। इजरायलमा कामदार पठाउने प्रक्रिया छिट्टै सुरु हुन्छ,’ सहसचिव हरि मैनालीले भने। वैदेशिक रोजगार विभागमार्फत कामदार इजरायल पठाइनेसमेत उल्लेख गरिएको छ।

इजरायलले नेपालबाट दक्ष श्रमिकहरु लैजाने इच्छा देखाएको छ। नेपालबाट सीपयुक्त तथा भाषामा समेत दक्ष कामदार लैजाने योजना इजरायलको छ। मन्त्रालयकाअनुसार इजरायल रोजगारीमा केयर गिभरमा कामदार पठाउने प्रक्रियाको टुंगो सम्भवतः पुस महिनाभित्रै लाग्छ।