अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले नयाँ सामाजिक सञ्जाल सञ्चालनमा ल्याउने घोषणा गरेका छन् । ट्वीटर र फेसबुकले उनका आधिकारीक ‘एकाउन्ट’ हटाइदिएपछि उनले नयाँ सामाजिक सञ्जाल सञ्चालन गर्ने घोषणा गरेका हुन् ।
उनले सञ्चालन गर्न लागेको सामाजिक सञ्जालको नाम ‘ट्रुथ सोसियल’ राख्ने तय भइसकेको उनको सचिवालयले जनाएको छ । ट्रुथ सामाजिक सञ्जालको सञ्चालन ट्रम्प मिडिया एन्ड टेक्नोलोजी ग्रुप (टिएमटिजी)ले गर्ने भएको छ । ग्रुपको अध्यक्ष ट्रम्प आफैं छन् । ट्रम्पले उक्त सामाजिक सञ्जाल प्रविधिसम्बन्धी ठूला कम्पनीको अत्याचारविरूद्ध उभिने बताएका छन् । अहिले प्रभावशाली रहेका सामाजिक सञ्जालले अमेरिकाका विद्रोही आवाजलाई स्थान नदिएको ट्रम्पको आरोप छ ।
ट्रुथ सामाजिक सञ्जालमा भिडिओ प्रसारण सेवा पनि समावेश गरिने भएको छ । भिडिओ सेवामा समाचार, पडकास्टलगायतका धेरै सुविधा उपलब्ध गराइने टिएमटिजीले जानकारी दिएको छ । सो सामाजिक सञ्जाल आगामी महिनादेखि केही आमन्त्रित प्रयोगकर्ताका लागि तयार हुनेछ भने सन् २०२२ को पहिलो तीन महिना अमेरिकामा मात्रै उपलब्ध हुनेछ ।
अमेरिकामा गत वर्ष भएको राष्ट्रपतीय निर्वाचनका बेलामा तत्कालिन राष्ट्रपति ट्रम्पले आफैं भ्रम फैलाएको, सामाजिक सद्भावलाई असर पारेको लगायतका आरोप लगाउँदै ती सामाजिक सञ्जालले उनको एकाउन्ट हटाइदिएका हुन् । विषेश गरी ट्रम्पका समर्थकहरूको भीड अमेरिकी संसद् भवनमा प्रवेश गरेको घटनापछि उनलाई ट्विटर र फेसबुकले आफ्ना सञ्जालहरूबाट हटाएका थिए ।
आफूलाई सामाजिक सञ्जालबाट हटाएपछि पूर्वराष्ट्रपति ट्रम्पले आफ्ना अपडेट सार्वजनिक गर्न छुट्टै ब्लग जस्तै अनलाइन सञ्चालन गरेका थिए । त्यो पनि केही समयपछि बन्द भएको छ ।
सन् २०२४ मा हुने राष्ट्रपतीय निर्वाचनमा पनि उम्मेदवारी दिने तयारीमा रहेका ट्रम्पले त्यसैलाई लक्षित गरेर नयाँ सामाजिक सञ्जाल सञ्चालन गर्न लागेको जनाइएको छ ।