काठमाडौँ — कतार सरकारले गैरकानुनी रुपमा बसेका नेपालीसहित आप्रवासी श्रमिकलाई कैद वा जरिवानाबिना वैध हुन पाउने घोषणा गरेको छ । आन्तरिक मन्त्रालयका अनुसार अक्टोबर १० देखि डिसेम्बर ३१ गतेभित्र आफ्नो गैरकानुनी हैसियतलाई वैध बनाउन पाउने भएको हो । यो श्रम (काम गर्न पाउने) भिसा र परिवार भ्रमण भिसाको अवधि समाप्त भएर बसेकाहरुको हकमा लागू हुनेछ ।
कतारले यसअघि २०१७ मा आममाफी दिएको थियो । यो समयभित्र आफ्नो कानुनी हैसियत वैध बनाउन मिल्ने मन्त्रालयको भनाइ छ । कतार सरकारले गैरकानुनी हैसियतमा बसेकाहरुले उम सलाल, सनैया, मिसैमिर, अल वर्का र अल रैयानस्थित सेवा केन्द्रमार्फत आवेदन दिन सक्ने व्यवस्था मिलाएको छ । ती श्रमिकहरु सिधै सनैयास्थित खोज तथा अनुगमन विभाग (सीआईडी भनेर चिनिने कार्यालय)मा समेत जान पाउनेछन् ।
कम्पनीले भिसा नवीकरण नगरिदिएको वा कम्पनी छाडेर अन्यन्त्र काम गरिरहेका श्रमिकहरुले आफूलाई कानुनी हैसियत प्रदान गर्न सक्नेछ । कतारले कम्पनी परिवर्तन गर्न पाउने नियम ल्याएपछि मात्रै कम्पनी छाडेर भाग्ने प्रवृत्तिमा कमी आएको छ । त्यसअघि तलब नपाएका र बन्द भएका कम्पनीका कामदारहरु भाग्ने गरेका थिए ।
कतारमा गैरकानुनी हैसियतमा बसेका नेपाली श्रमिकको संख्या एकिन नभएको नेपाली दूतावासले जनाएको छ ।