लन्डन । तमु साहित्यिक मञ्च नेपालको आयोजनामा सर्जक एकेन्द्र गुरुङद्वारा सम्पादित ‘बेलायतमा नेपाली गीत’ सङ्ग्रह शनिवार भर्चुअल कार्यक्रममार्फत् विमोचन भएको छ । सङ्ग्रह समारोहका प्रमुख अतिथि सरुभक्त, गीतकार दिनेश अधिकारी, प्रकाशक तमु साहित्यिक मञ्चकी अध्यक्ष गौरी गुरुङ र सम्पादक एकेन्द्र गुरुङबाट संयुक्त रुपमा विमोचन भएको हो ।
बेलायत बस्दै आइरहेका सम्पादक गुरुङले सङ्ग्रह प्रकाशनदेखि विमोचन समारोहसम्म आइपुग्दा प्रोत्साहन र सहयोग गर्ने सम्पूर्णमा आभार प्रकट गर्दै बेलायतमा रहेका गीतकारहरुको सिर्जनालाई एउटै मालामा उन्ने प्रयत्न रहेको बताए ।
तमु साहित्यिक मञ्च नेपालकी अध्यक्ष गौरी गुरुङको अध्यक्षतामा सम्पन्न सङ्ग्रहको विमोचन समारोहमा विमोचित सङ्ग्रहको समिक्षा गर्दै वरिष्ठ गीतकार दिनेश अधिकारीले उक्त सङ्ग्रहमा बेलायतवासी नेपालीहरुको भावनाको प्रतिविम्ब पाएको बताए । साथै प्रवासमा बस्नेहरुको नेपालप्रेम, गाउँले जीवन र नेपाली परम्परा एवम् संस्कृतिप्रतिको लगाव र लाहुरे गाथादेखि प्रेम र जीवनका रंगहरु सङ्ग्रहमा समेटिएको पनि बताए ।
त्यसैगरी समारोहका प्रमुख अतिथि वरिष्ठ साहित्यकार सरुभक्तले ‘बेलायतमा नेपाली गीत’ सङ्ग्रहमा बेलायत मात्र नभइ सिङ्गो डायस्पोरामा रहेका नेपालीहरुको प्रतिनिधित्व भएको बताए ।
सम्पादक गुरुङका अनुसार सङ्ग्रहमा बेलायतवासी ८० स्रष्टाका दुई–दुई वटा गीतहरु संग्रहित छन् । त्यसैगरी स्रष्टाहरुमध्ये २१ जना नारी छन् । सङ्ग्रहमा प्रत्येक स्रष्टाको फोटोसहित संक्षिप्त परिचय समावेश छ ।
बेलायत तथा नेपालस्थित विभिन्न साहित्यिक संघसंस्थाका प्रतिनिधि, सर्जक र अन्य सामाजिक संघसस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको उक्त कार्यमक्रमलाई मञ्चकै महासचिव रोशनी गुरुङको सञ्चालन गरेकी थिइन् भने उपाध्यक्ष रोशन गुरुङले सम्पूर्ण अतिथिहरुलाई स्वागत गरेका थिए । ।