November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

प्रधानमन्त्रीसमक्ष नेपाल प्रज्ञा–प्रतिष्ठानको वार्षिक प्रतिवेदन प्रस्तुत

2.8K

काठमाडौ । सम्माननीय प्रधानमन्त्री एवम् नेपाल प्रज्ञा–प्रतिष्ठानका प्रमुख संरक्षक शेरबहादुर देउवासमक्ष नेपाल प्रज्ञा–प्रतिष्ठानको आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन प्रस्तुत गरिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार आयोजित समारोहमा नेपाल प्रज्ञा–प्रतिष्ठानको आ.व. २०७६/७७ को प्रतिवेदन बुझ्दै प्रधामन्त्री देउवाले भाषा, साहित्य तथा संस्कृति राष्ट्रका लागि चाहिने कुरा भएको उल्लेख गर्दै त्यसको उन्नयनका लागि नेपाल प्रज्ञा–प्रतिष्ठानले उल्लेखनीय कार्य गरिरहेकामा धन्यवाद व्यक्त गरेका थिए ।

समारोहमा प्रधानमन्त्रीसमक्ष नेपाल प्रज्ञा–प्रतिष्ठानका माननीय कुलपति गङ्गाप्रसाद उप्रेतीले प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रतिवेदन प्रस्तुत गर्दै कुलपति उप्रेतीले नेपाल प्रज्ञा–प्रतिष्ठानले आ.व. २०७६/७७ मा ८३ ओटा अध्ययन–अनुसन्धान, अनुवाद र ग्रन्थ लेखनको काम सम्पन्न गरेको र ५० ओटा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गोष्ठी, सम्मेलन, कार्यशाला र प्रवचनका काम भएका बताए । यसैगरी उहाँले ८१ ओटा ग्रन्थ, विज्ञसमीक्षित शोधपत्रिका प्रज्ञा, पिअर रिभ्यु जर्नल अफ नेप्लिज स्टडिज, समकालीन साहित्य, बालप्रज्ञालगायत र १२ ओटा नियमित पत्रिकाका २१ अङ्क प्रकाशन गरेको बताए ।

Advertisement

सदस्य सचिव प्रा. जगत्प्रसाद उपाध्यायले नेपाली बृहत् शब्दकोशको मोबाइल एप निर्माण र गरिएको र सो शब्दकोशलगायत मातृभाषाहरूका शब्दकोशको एकीकृत डाटाबेस पनि निर्माण भएको जानकारी गराए । उहाँले कोभिड–१९ महामारीका कारण सिर्जित बन्दाबन्दीजस्ता प्रतिकूल अवस्थामा पनि नेपाल प्रज्ञा–प्रतिष्ठानले शतप्रतिशत उपलब्धि हासिल गरेको बताए ।

सो समारोहमा नेपाल प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्यहरू प्रा. दिनेशराज पन्त, प्रा.डा. योगेन्द्रप्रसाद यादव, प्रा.डा. हेमनाथ पौडेल, माया ठकुरी, प्रा.डा. गोपीन्द्र पौडेल, लक्ष्मी माली र प्रज्ञा–प्रतिष्ठानका प्रशासन प्रमुख सुमन अधिकारी सहभागीता थियोे ।